इलाम । ट्रकको ठक्करबाट इलाममा एकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । इलामदेखि झापातर्फ जाँदै गरेको मोटरसाइकललाई इलाम नगरपालिका ९ मेचीराजमार्गमा ट्रकले ठक्कर दिदा २८ वर्षकी अञ्जु आचार्यको बुधबार घटनास्थलमै मृत्यु भएको हो ।
४२ वर्षका मोटरसाइकल चालक उमेश साह र मृतक आचार्यकी दुई वर्षको छोरो सरोज आचार्य भने घाइते भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । घाइते साह सूर्योदय नगरपालिका १० का हुन् भने मृतक आचार्य र घाइते बालक माइजोगमाई गाउँपालिका ३ का रहेको बताइएको छ ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी लालध्वज सुबेदीका अनुसार, को १८ प ६९७ नम्बरको मोटरसाइकललाई सोहि दिशाबाट गइरहेको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । ठक्कर दिने ना ३ ख २७३२ नम्बरको ट्रक र चालक ३६ वर्षका भवानी प्रसाद तिम्सिनालाई जिल्ला प्रहरी कार्यलय इलामले नियन्त्रणमा लिएको छ ।
तिम्सिना हिलिहाङ्ग गाउँपालिका ७ पाँचथरका हुन् । मृतकलाई पोष्टमार्टमका लागि इलाम अस्पताल ल्याइएको छ भने गम्भीर घाइते भएका आचार्य र साहलाई उपचारका लागि झापा पठाइएको अधिकारी सुबेदीले जानकारी दिए ।