वृक्षा रोपण अभियानमा जुट्दै सूर्योदय नगरपालिका

  आवाज संवाददाता

इलाम ।आफ्नो नगरक्षेत्रलाई हरियाली बनाउन अहिले इलामको सूर्योदय नगरपालिका वृक्षा रोपण अभियानमा जुटेको छ ।

प्राङ्गागिक कृषि उत्पादनको अभियानमा रहेको नगरपालिकालाई वृक्षा रोपणले लक्ष्यमा पुग्न थप सहयोग पुग्ने भएकाले नगरक्षेत्र भरि वृक्षा रोपणलाई अभियानकै रुपमा शुरु गरेको हो । असार १ गते तीन स्थानबाट शुरु भएको अभियान अहिले नगरपालिकाका १४ वटै वडामा सञ्चालन भइरहेको छ ।

‘भावी सन्ततिको अधिकार दिगो विकासको आधार’ नारा तय गरेर शुरु गरिएको अभियानमा तीन लाख विरुवा रोपण गरिने नगरपालिका उप–प्रमुख दुर्गादेवी भट्टराईले बताइन् । वृक्षा रोपणका लागि सन्दकपुर गाउँपालिकाले विभिन्न रैथाने प्रजातिका एक लाख विरुवा नगरपालिकालाई उपलब्ध गराएको छ । बाँकी नगरपालिकामै रहेका नर्सरीहरुबाट विरुवा उपलब्ध हुने बताइएको छ ।

वृक्षारोपण अभियानमा नगरपालिका प्रमुख–उपप्रमुख सहित नगरपालिका भित्र रहेका सबै विद्यालका शिक्षक, सामुदायिक र निजी वन उपभोक्ता समिति, टोल विकास संस्था, इलाका वन कार्यालयका कर्मचारी, नगरक्षेत्र भित्र रहेका संघसंस्था, विद्यार्थी, क्लब र युवाहरु परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको वडा–१ मा रेडपाण्डा संरक्षित क्षेत्र भएकाले रेडपाण्डाले खाने मालिङ, वान्टेलगायतका रैथाने विरुवा रोपिएको छ । यस्तै अन्य क्षेत्रमा उत्तिस, मलातो तथा अन्य विभिन्न प्रजातिका विरुवा लगाइएको उप–प्रमुख भट्टराईले जानकारी दिएकी छन् । भट्टराई अनुसार सार्वजनिक जग्गा, नीजि तथा सामुदायिक वनहरु, विद्यालयका खाली जग्गा र संघसंस्थाका खाली जग्गामा समेत वृक्षा रोपण अभियान चलाइएको छ ।

नगरपालिकाले कन्यामसहित पर्यटकीय क्षेत्रमा भने चाप र गुराँसका विरुवा लगाउने तयारी गरेको छ । गतवर्ष तेह्थुमबाट ल्याइएका ३५ प्रजातिका गुराँसका विरुवा यो वर्ष रोपण गरिने छ । ‘पर्यटकीय स्थलहरु र राजमार्ग आसपासका क्षेत्रमा विभिन्न प्रजातिका विभिन्न रंङ्गका गुराँस लगाउँछौं ।’ सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले भने ‘बढी भन्दा बढी पर्यटकहरुलाई भित्र्याउन पर्यटकीय स्थलहरुको सौन्दर्यीकरणका लागि पनि वोटविरुवा आवश्यक रहेछ ।’

नगरपालिकाले पशुपालक किसानहरुका लागि डाले घाँसको विरुवा पनि वितरण गरिरहेको छ । गाई र बाख्रा पालक किसानहरुलाई डाले घाँसका विरुवा उपलब्ध गराइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार