कोरोना संक्रमणमा स्थानीय तह ःऔषधि वितरण गर्न घरघर पुग्नेदेखि शव व्यवस्थापन गर्ने सम्म

  कोरोना संक्रमणका ग्राफ माथिल्लो स्तरमा पुगेका बेला इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठ भने खासै घरमा बस्न भ्याएनन् । संक्रमण अत्यास लाग्दो भइरहँदा श्रेष्ठ भने संक्रमितकै घरघर पुग्ने अभियानमा थिए ।
संक्रमितको घरघर पुग्ने, परामर्शदेखि र आयुर्वेदिक औषधि समेत वितरण गर्ने काम श्रेष्ठ र श्रेष्ठको टिमले गर्यो । श्रेष्ठसहित आयुर्वेदिक औषधालयका कर्मचारी र मनोपरामर्श दाता समेतले संक्रमितकहाँ पुगेका थिए । “संक्रमणका बेला संक्रमित एक्लिए जस्तो हुन्छ । कोहीसँग भेट नहुँदा तनाब बढ्न सक्छ ।”श्रेष्ठले भने,“हामी त्यही कारण उहाँहरुको (संक्रमित)को घर पुगेका हौं ।”
पहिलो चरणको संक्रमणमा श्रेष्ठ आफैपनि संक्रमित हुन पुगे । तर, त्यति साह्रो पारेन । घरमै आइसोलेसनमा बस्दा कोरोना पराजित गरे । त्यो पीडा र भोगाइ श्रेष्ठसँग थियो । दोस्रो चरणको संक्रमणमा यही कारण घरमा बस्न सकेनन् । “संक्रमित हुँदा कति पीडा हुन्छ मलाइ थाहा छ । मनोवैज्ञानिकदेखि सामाजिक असर पनि पर्छ ।”श्रेष्ठले थपे,“यो बारेमा परामर्श दिँदा वा कुराकानी गर्दा रोग निको भएझँ लाग्छ । उत्प्रेरणा बढ्छ ।”
इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष समेत रहेका श्रेष्ठ वडाका १० घरपरिवारसँग परामर्शमा खटिए । यति मात्र नभई फोनमार्फत पनि मनोवल उच्च राख्ने शुत्र बताए । यो काम प्रति संक्रमितले सकारात्मक प्रतिक्रिया दिएको श्रेष्ठको भनाइ छ । साँँच्चीकै भन्ने हो भने, दोस्रो चरणको पनि शुरुमा कोरोना त्रासादीयुक्त हुन्छ भन्ने धेरैलाई लागेको थियो ।
सर्वसाधारणमा त्रास बढ्पछि कोरोनासँग लड्ने शक्ति ह्रास हुने देखिएको थियो । यस बारेमा जानकारी गराउन र भ्रम चिर्न स्थानीय तह (इलाम नगरपालिका)ले विविध काम गर्यो । “हामीले कोरोना संक्रमणको बारेमा वास्तविकता बताउन सक्नु नै त्यसबेला उल्लेखिय देखिएको थियो । किनकि जनतालाई कोरोनाको अनावश्यक डर बढी थियो ।”यसैले पनि इलाम नगरपालिकाले औषधिउपचारदेखि एम्बुलेन्स सेवासम्मको व्यवस्था मिलाइदियो । संक्रमितको प्रत्येक घरमा पुगेर निःशुल्क आयुर्वेदिक औषधि वितरण गरियो भने संक्रमितको उपचारका लागि एम्बुलेन्स खडा राखियो । “हामीले कोरोनाको परीक्षण गर्न एन्टिजेन कीट आफै किन्यौ । अन्य क्षेत्रमा भर पर्दा ढिलो हुने वा लामो समय लाग्ने भएकाले नगरले नै कीट किन्यो ।”
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले भने,“नगरमा एक हजार एन्टिजेन परीक्षण गरिएको छ जसमध्ये नौ सय बढी कीट नगरले नै गरेको हो ।” नगर प्रमुख बस्नेतका अनुसार संक्रमण भएको वा नभएको थाहा पाउन परीक्षण उपयुक्त हो भनेर परीक्षण तीब्र बनाएको हो ।
यस पटक कोरोना संक्रमण इलाम नगरपालिकामा तीब्र रुपमा फैलियो । सर्वसाधारणमा सचेतना अपनाउन नसक्दा नगरमा संक्रमित हुने र मृत्यु हुनेको दर उच्च रह्यो । बैशाखको दोस्रो साताबाट नगरभित्र संक्रमण उच्च रुपमा फैलिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिले निषेधाज्ञा लगाउनुभन्दा पूर्व नै नगरपालिकाले निषेधाज्ञा लगायो ।
यति मात्र होइन, नगरपालिकाको बैशाख ११ गतेको कार्यपालिका बैठकबाट नगरभित्र विवाह, ब्रतन्वन्ध, नारा जुलुस लगाउन प्रतिवन्ध लगाइयो । तर, पनि नगरमा संक्रमण दर उच्च नै रह्यो । संक्रमणका कारण ११ जनाको मृत्यु भइसकेको छ भने चार सय ८७ जना निको भइसकेका छन् । अनि तीन सय ९४ जना संक्रमित बनिसकेका छन् ।
शववाहनको तयारी गर्दा अलोचना
गएको बर्षको संक्रमणमा कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्न नसक्दा नगरपालिकाले धेरै समस्या भोग्नु पर्यो । संक्रमितको मृत्यु पश्चातपनि लामो समयसम्म शव दाह गर्न सकिएन ।
संक्रमण सर्ने भन्दै सर्वसाधारणले व्यवस्थापनका लागि जग्गा उपलब्ध नगराएपछि नगरले समस्या भोग्नु परेको हो । तर, यसपटक नगरले सावधानी अपनायो । शव व्यवस्थापनका लागि जग्गा खरीद गर्यो भने व्यवस्थापनका लागि शवदाह गृहसम्म पुर्याउन शववाहनको तयारी गर्यो ।
नगरले शववाहन तयारी गर्दा नगरले आलोचित हुनु पर्यो । किनकि, मृत्युका घटना नघटीकिन नै नगरले शव व्यवस्थापन घोषणा गर्नु ‘मृत्यु पर्खिरहेको’ भान भएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन पुग्यो । तर, यता नगरपालिका प्रमुख बस्नेत भने यसको कडा विरोध गर्छन् । “महामारीका बेला मृत्यु हुन्छ भन्ने वास्तविकता हो । त्यसैले नगरले पूर्व तयारीका लागि शववाहन र शवदाह गृह व्यवस्थापन गरेको हो । ” बस्नेत भन्छन्,“मृत्यु निश्चित देखेर नै यो काम गरेका हौ । सबैले बुझ्नु भयो । तर, केहीले अनावश्यक आलोचना मात्र गरेको देखियो । त्यो गलत हो ।” नगरमा बैशाखको दोस्रो साता संक्रमण देखिन शुरु गरेको हो । योस्थिति जेठ १५ सम्म आउँदा भयावहस्थिति आइलाग्यो । अहिले कोरोना नियन्त्रणन्मुख भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार