फाकफोकथुममा ४३ करोड आम्दानी हुने अनुमान, योजना छनोट अधुरै


इलाम । इलामको फाकफोकथुम गाउँपालिकाले ४३ करोड ५७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । तर, वडागत सिलिङ्गको योजना छनोट पुरा नभएपछि विनियोजनको काम भने पुरा भएको छैन ।

गाउँपालिकाले हिजो मात्रै वडाको सिलिङ्ग वितरण गरेको हो । गाउँपालिकाले प्रत्येक वडाको लागि ८० लाख रुपैयाँको सिलिङ्ग तोकेको छ । लिलिङ्ग अनुसारको योजना संकलन भएपछि योजना बाडफाँडको काम पुरा हुने गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । ‘वडागत सिलिङ्गको योजना छनोट हुँन बाँकी छ, पालिका स्तरका योजनामा रकम बाँडफाँड भइसकेको छ’, गाउँपालिका अध्यक्ष श्रेष्ठले भने,‘हामी नियमित रुपमा छलफलमा छौं वडाबाट योजना छनोट भएपछि २४ गतेसम्ममा बजेट पास हुन्छ ।’ पालिका अध्यक्ष श्रेष्ठले स्वास्थ्य कृषि र पूर्वधारलाई प्राथामिकता दिएर बजेट पेश भएको बताए । गाउँपालिकाले वडागत सिलिङ्गबाट बढिमा २० वटा योजना छनोट हुनुपर्ने र कुनै पनि योजनामा एक लाख रुपैयाँ भन्दा कम रकम विनियोजन गर्न नपाइनेगरी सिलिङ्ग वितरण गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरेले मोटामोटी बजेट प्रस्तुत भएपनि छलफलकै क्रममा रहेको बताए । ‘योजना फाइनल भएका छैनन्, त्यसैले छलफलकै क्रममा छौ’, उनले भने,‘२५ गतेसम्म फाइनल हुनुपर्ने व्यवस्था छ, त्यत्तिञ्जेल पुरा गर्छौ ।’
गाउँपालिकाले संघीय सशर्त अनुदानमा २४ करोड पाँच लाख रुपैयाँ आम्दानी हुनु अनुमान गरेको छ । त्यस्तै संघीय समानिकरण अनुदानमा दश करोड १२ लाख रुपैयाँ, संघीय राजश्व बाडफाँडबाट ६ करोड ७४ लाख ५३ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।

त्यस्तै प्रदेशको सशर्त अनुदानमा ५८ लाख १६ हजार रुपैयाँ, प्रदेशको राजश्व बाँडफाँडमा ४७ दाख ५५ हजार नौ सय ३० रुपैयाँ र प्रदेश समानिकरण अनुदानमा एक करोड रुपैयाँ र ६० लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार