काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली फिफा विश्व वरीयतामा एक स्थानमाथि उक्लेको छ । यसअघि अप्रिलको वरीयतामा १ सय एक स्थानमा रहेको नेपाल विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको वरीयताको शीर्ष एक सयमा प्रवेश गरेको हो ।
डेढ वर्षयता नेपाली महिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता र मैत्रीपूर्ण खेल खेलेको छैन । २०७६ मंसिर मा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा महिला टोलीले रजत पदक जितेको थियो । फाइनलमा नेपाली टोली भारतसँग पराजित भएको थियो ।
दक्षिण एसियाली राष्ट्रमध्ये भारत सबैभन्दा माथि ५७ औं स्थानमा रहेको छ । दक्षिण एसियाका अन्य देशमध्ये बंगलादेश १ सय ३७ औं, श्रीलंका १ सय ४३ औं, माल्दिभ्स १ सय ४४ र भुटान १ सय ६१ औं स्थानमा रहेको छ ।
अमेरिका फिफा महिला वरियताको शीर्षस्थानमा छ भने दोस्रो स्थानमा जर्मनी, तेस्रोमा फ्रान्स, चौथोमा नेदरल्यान्ड्स र पाँचौं स्थानमा स्विडेन रहेको छ । मे २७ मा जारी पुरुषतर्फको फिफा वरियतामा भने नेपाल १ सय ७१ औं स्थानमा छ ।
महिला टोलीले भदौमा हुने एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत समूह एफ अन्तर्गत खेलहरु नेपालमै आयोजना गर्दैछ । एएफसीले विहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपालसँगै हङकङ र फिलिपिन्स एकै समूहमा रहेका छन् ।
छनोट अन्तर्गत समूह चरणका खेलहरु सेप्टेम्बर दोस्रो साता सुरु हुनेछ । एएफसीले हाललाई छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर ९२८ भाद्रदेखि ९ असोज० तोकेको छ । छनोटमा सहभागी हुने टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने प्रतियोगितामा स्थान पक्का गर्नेछ ।
एएफसी एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ २०२२ मा भारतमा हुनेछ । प्रतियोगिताका लागि साविक विजेता जापान, उपविजेता अष्ट्रेलिया र तेस्रो स्थानको चीनसँगै आयोजक भारतले स्थान पक्का गरिसकेका छन् । यसपटक देखि प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालको समूहमा रहेको फिलिपिन्स विश्व वरीयतामा ६८ औं स्थान र हङकङ ७६ औं स्थानमा छ । नेपालले सबै खेल घरेलु मैदानमा नै खेल्नेछ । एन्फाले दशरथ रंगशालामा नै प्रतियोगिता गराउने प्रबल सम्भावना छ ।
नेपालले सन् १९९९ मा फिलिपिन्ससँग एएफसी महिला च्याम्पियनसिपमा खेल्दा ५(० को हार बेहोरेको थियो । यस्तै हङकङसँग सन् १९८६ मा १-० र १९८९ मा ३-० को हार बेहोरेको थियो । नेपालको एपीएफ महिला टोलीले भने हङकङको राष्ट्रिय टोलीलाई सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा ३-१ ले पराजित गरेको थियो ।
यसपटक नेपाली टोलीमा चोटले निकै समस्या दिने देखिएको छ । छनोट सुरु हुन झन्डै साढे २ महिना बाँकी रहँदा एन्फाले तयारी सुरु गरेको छैन । त्यसमाथि पहिलो रोजाइमा खेल्दै आएकी फरवार्ड सावित्रा भण्डारी घुन्दको शल्यक्रिया गर्न कतार जाँदैछिन् । डिफेन्डर हिरा भुजेल र मिडफिल्डर दिपा राई शल्यक्रियापछि रिह्याबमा छन् । कप्तान रेनुका नगरकोटे पनि चोटबाट फिट हुने क्रममा छिन् । (हाम्रो खेलकुद)