८० प्रतिशत  किसानलाई नि:शुल्क मल, दुर्गम वडाको सानो तर उत्कृष्ठ बजेट

  आवाज संवाददाता

ताप्लेजुङ्ग । संघीयता कार्यान्वयनमा आएयता स्थानीय तहहरुले करोडौँ बजेट पाइरहेका छन् । विकासका लहरहरु प्रशस्त देखिन थालेका छन् । स्थानीय तहहरु अझ शक्तिशाली बन्दै गइरहेका छन् ।यसैबीच ताप्लेजुङको दुर्गम पश्चिमी भागमा रहेको मैवाखोला गाउँपालिकाले पनि भर्खरै आव २०७८।०७९ को बजेट गाउँसभाबाट बहुमतले पारित गरेको छ ।

गाउँपालिकाले झण्डै ३५ करोडको बजेट ल्याउँदा वडातर्फ भने हरेक वडालाई रु ६५ लाखको दरले विनियोजन गरेको छ । गाउँपालिकामा जम्मा ६ वटा वडा रहेका छन् जसमध्ये साबिकको ढुङगेसाँघु गा।वि।स। आधा समेटिएको १ नं वडाले वडाभित्रका सम्पूर्ण समुदाय र क्षेत्र समेट्ने गरि उत्कृष्ठ बजेट ल्याएको छ । वडाले शिक्षा, कृषि, सिँचाई र खानेपानीलाई मुख्य प्राथमिकतामा राखेको र आगामी आवको बजेटले जनताको प्रत्यक्ष जीवनमा प्रभाव पार्ने वडा अध्यक्ष दुर्गा प्रसाद तामाङले बताए ।तामाङ गाउँपालिकामै कुरा भन्दा काम बढी गर्ने भनी चिनिएका जनप्रतिनिधि हुन् । ‘बजेटबाट गरिने हरेक काम जनताले मज्जाले महसुस गर्ने खालको हुनुपर्छ । जनताको जीवनस्तर उकासिने र दीर्घकालीन महत्वका योजनालाई आजसम्मको बजेटले समेटेका छौँ ।’ वडा अध्यक्ष तामाङले भने, ‘जनप्रतिनिधि र कर्मचारीमा सहकार्य राम्रो हुन सक्ने हो भने सबै पालिकाले राम्रोसँग काम गर्न सक्छन् ।’

वडाले गत आ।व। सम्ममा लाखौँ खर्च गरी बाह्रमासे सडक निर्माण गरिसकेको छ ।ठूला सिँचाई र खानेपानी आयोजना, विद्यालय भवन निर्माणजस्ता दूरगामी महत्वका योजनाहरु कुशलतापूर्वक सम्पन्न गरिसकेको छ । आगामी आ।व। ०७८।७९ को लागि भने १ नं वडाले वडाभित्र खेतीकिसानी गर्ने करिब ८० प्रतिशत  किसान समेटिने गरी निस्शुल्क मल वितरण गर्ने योजना बनाएको छ र सो को लागि बजेट पर्याप्त भएको समेत बताएको छ । वडाले खानेपानी र सिँचाईमा गरीकूल बजेटको ३२ प्रतिशत रकम बिनियोजन गरको छ । साथै आगामी आवमा वडाले उन्नत जातको बाख्रा खरिद गरी निःशुल्क वितरण, गोठ तथा भकारो सुधार अनुदान, भलिबलको कोर्ट निर्माण, खेलकुद सामाग्री वितरण, सिँचाई र खानेपानी पाईप निशुल्क वितरण जस्ता महत्वपूर्ण कार्यक्रमहरु समावेश गरेको छ ।

दुर्गम ठाउँ भएको र अति विपन्नको संख्या पनि केही मात्रामा रहेकोले उनीहरुमाझ सञ्चारको पहुँचको लागि संचार सामाग्री समेत खरिद गरिने वडाले बताएको छ । दलित र महिलाहरुको जीवनस्तर उकास्नको लागि सीपमूलक तालिमको व्यवस्था गरिने र बजेटले नसमेटेका क्षेत्रहरुलाई अर्को वर्षको बजेटले अनिवार्य समेटिने गाउँकार्यपालिका सदस्य समेत रहेकी वडासदस्य मनमाया कन्दङवाले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार