इलामका तीन स्थानीय तहमा सुरक्षित आप्रवासन आपत्कालीन कोष

सामी प्रभावकारी भएपछि परियोजनाको कामलाई निरन्तरता दिन स्थानीय तहको आफ्नै कोष

  आवाज संवाददाता

इलाम । वैदेशीक रोजगारीको क्रममा आइपर्ने समस्या समाधानको लागि सहयोग गर्ने उद्देश्यले इलामका स्थानीय तहहरुले सुरक्षित आप्रवासन कोष स्थापना गर्न थालेका छन् ।

इलाम नगरपालिकाको नीति कार्यक्रममा नै कोष स्थापना गर्ने उल्लेख छ । ‘सुरक्षित आप्रवासनको लागि नगर प्रमुख सुरक्षित आप्रवासन आपतकालीन कोष निर्माण गरी सञ्चालन व्यवस्थापन गरिने छ’, नगरपालिकाको नीति कार्यक्रममा उल्लेखछ । नीति कार्यक्रममा उल्लेख भएको व्यवस्था कार्यान्वयनको लागि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ मा कार्यान्वयन हुने बजेटमा पाँच लाख रुपैयाँ विनियोजन गरेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । ‘हामीले शुरुमा पाँच लाख रुपैयाँ विनियोजन गरेका छौ’, प्रमुख बस्नेतले भने,‘आवश्यकता अनुसार बर्षेनी कोषको रकम बढ्दै जानेछ ।’ नगरपालिकाले कार्यविधि निर्माण गरेर समस्यामा परेकाहरुलाई सहयोग गर्ने, सुरक्षित आप्रवासन सम्बन्धि सचेतना विकास गर्ने, वित्तिय साक्षरताको विकास लगायतमा खर्च गर्ने जनाएको । ‘वैदेशीक रोजगारीमा समस्यामा परेकाहरुलाई हामीले राहातनै दिनसक्ने अवस्था हुँदैन’, प्रमुख बस्नेतले भने,‘क्षतिपुर्ती दिलाउँन पहल प्रयत्न गर्न सकियोस भनेर कोष बनाएका हौ ।’

इलामको देउमाई नगरपालिकाले पनि नगरप्रमुख सुरक्षित आप्रवासन आपतकालीन कोष स्थापना गरेको छ । देउमाई नगरपालिकाले चालु वर्षको बजेटमानै १० लाख रुपैयाँको कोष स्थापना गरेको थियो । आउँदो बर्ष कार्यान्वयन हुने बजेटमा समेत कोषलाई निरन्तरता दिइएको नगरपालिका प्रमुख सूर्य पोख्रेलले बताए । ‘हामीले आगामी वर्षको बजेटमा समेत १० लाख रुपैयाँको कोष बनाएका छौ’, प्रमुख पोख्रेलले भने,‘यो वर्ष कोषका लागि विनियोजन भएको बजेट कोरोनाको कारण खर्च हुन सकेन, परिस्थिति सहज भयो भने अर्को वर्ष पुरै बजेट कार्यान्वयन हुन्छ ।’

इलाम नगरपालिकाले कोषमा विनियोजन भएको रकम सञ्चित कोषमा फिर्ता नहुने र बर्षेनी कोषको रकम बढाउँदै लैजानेगरी आप्रवासन कोष बनाएको छ । देउमाई नगरपालिकाले भने वर्षेनी कोषमा रकम विनियोजन गर्ने तर रकम खर्च नभए आर्थिक वर्षको अन्त्यम खर्च भइनसकेको रकम सञ्चित कोषमानै फिर्ता हुनेगरी कोष बनाएको छ ।

वैदेशीक रोजगारीमा गएर अलपत्र परेकाहरुलाई सहयोग गर्न, वैदेशीक रोजगारीमा रहेका परिवारमा देखिएको समस्या समाधानको लागि कोषको आवश्यकता महशुस गरेको प्रमुख पोख्रेल बताँछन् ।

इलामको सूर्योदय नगरपालिकाले पनि नीति कार्यक्रममा सुरक्षित आप्रवासन कोष बनाउने प्रस्ताव गरेको छ । नगरपालिका प्रमुख रणबहादुर राईले कोषको बजेट भने यकिन भइनसकेको बताए । ‘अहिले कोषमा थोरैनै प्रस्ताव गरिएको छ, बजेट पारित हुँदासम्म संशोधन हुनसक्छ’, उनले भने,‘अहिले हामी यसैको छलफलमा छौ ।’ प्रमुख राईले छुट्टै कार्यविधि बनाएर कोषको परिचालन हुने बताए । चालु आर्थिक वर्षबाटै कोषको परिचालन थालेको देउमाई नगरपालिकाले आप्रवासन कोष सञ्चालनको कार्यविधि बनाइसकेको छ भने सूर्योदय र इलाम नगरपालिकाले कोष सञ्चालन कार्यविधि बनाउने बताएका छन् ।

इलामको चारवटा स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजन (सामी) कार्यान्वयन भइरहेको छ । परियोजना प्रभावकारी भएपछि परियोजना मार्फत भइरहेको कामलाई निरन्तरता दिन पालिकाहरुले कोष बनाउन थालेका हुन् । स्वीस सरकार र नेपाल सरकारको लगानी र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा चलिरहेको चार वर्षे परियोजना २०७९ असार मसान्तमा सकिदैछ ।

परियोजना मार्फत भइरहेको कामलाई निरन्तरता दिनुपर्ने भएकालेनै कोष निर्माण गरिएको इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताए । ‘वैदेशीक रोजगारीमा जाने रोकिन्छ भन्ने छैन, दुई वर्षपछि सामी परियोजना फेजआउट हुँदैछ’, प्रमुख बस्नेतले भने,‘सामी कार्यक्रम प्रभावकारी भयो, यसको कामलाई निरन्तरता दिनुपर्ने भएको छ, त्यसकै लागि कोष बनाइएको हो ।’ परियोजनाले वैदेशीक रोजगारीमा गएर अभर परेका, तलव या क्षतिपुर्ती नपाएकाहरुलाई रकम दिलाएको, परिवारसंग सम्बन्ध विग्रिएकाहरुको सम्बन्ध सुधार गरेकाले कार्यक्रम प्रभावकारी भएको बस्नेतले बताए । ‘भोली ति काम गर्नको लागि जनशक्ति चाहिएला, प्रशासनिक खर्च व्यवस्था गर्नुपर्ला, कसैलाई सहयोग नै गर्नुपर्ने पनि हुनसक्छ’, प्रमुख बस्नेतले थपे,‘परियोजना फेजआउँट भएपनि यस्ता कामलाई निरन्तरता दिनुपर्छ ।’

सुरक्षित आप्रवासन परियोजना कार्यान्वयन भएपछि वैदेशीक रोजगारीमा मृत्यु भएका परिवारको शव ल्याउन, क्षतिपुर्ती या तलवको लागि पहल भएको, क्षतिपुर्ति आएको परिवारको पहिचान गरेर त्यस्तो रकम प्राप्त गर्न सहयोग गरिएको परियोजनाका कार्यक्रम संयोजक इश्वरी तामाङ्गले बताए । ‘पछिल्लो पटक मात्रै सात जनाको क्षतिपुर्ती दिलाउन सफल भयौ’,तामाङ्गले भने,‘कतिको म्यानपावर या एजेन्टलाई दिएर डुवेको रकम समेत फिर्ता गराएका छौ ।’

परियोजनाले इलाम नगरपालिकाको आप्रवासी प्रोफाइल तयार गर्न तथ्याङ्क संकलन थालेको छ । प्रोफाइलमा वैदेशीक रोजगारीमा गएकाहरुको विवरण, कुन कुन देश गएका छन् भन्ने तथ्याङ्क हुनेछ । त्यस्तै वैदेशीक रोजागरीबाट हुने आम्दानी, गएको दश वर्षमा फर्किएकाहरुको विवरण, वैदेशीक रोजगारीबाट फर्किएपछि कुन कुन पेशामा आवद्ध छन र कति बेरोजगार रहेका छन् भन्ने तथ्याङ्क आउने छ । प्रोफाइल निर्माण भएपछि नगरपालिकालाई आवश्यक योजना बनाउन सहज हुनेछ । इलाम जिल्लाबाट बर्षेनी पाँच हजार जनशक्ति वैदेशीक रोजगारीको लागि विदेशीने गरेका छन भने हाल ८७ हजार हाराहारी रोजगारीको लागि विदेशमा कार्यरत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार