स्वास्थ्य सामग्रीले भरिपूर्ण इलाम अस्पताल

इलाम, कोरोनाको दोस्रो चरण शुरु हुँदा इलाम अस्पतालको सेवा त्यस्तो चुस्त थिएन । न चिकित्सक थिए, न स्वास्थ्य सामग्री । न आइसोलेसन बनेको थियो, न अक्सिजन सिलिण्डर ।
यति मात्र होइन, भएका स्वास्थ्यकर्मी पनि कोरोनाको त्रासमै थिए । नयाँ किसिमको भेरियन्स भएकाले चाडो सर्ने र छिट्टै मृत्यु हुने हल्ला थियो । यसैकारण अस्पतालले सुरुवाती चरणमा सेवा दिन सकेन । जिल्लामा संक्रमण दर बढ्दै गयो । संक्रमित विस्तारै अस्पताल पुग्न थाले ।
यति बेला पनि अस्पतालमा समस्यै थियो । समस्या स्वास्थ्य सामग्री अभावले थियो । लामो समयदेखि दक्ष चिकित्सक नहुँदा अस्पतालले ‘रेफर सेन्टर’मात्र भएको भन्दै आलोचना खेप्नु परेको थियो । तर, जब जिल्लामा संक्रमण बढेर उच्च दरमा पुग्यो जब अस्पतालले सेवा बढाउँदै लग्यो । यसको कारण हो, संघीय सरकार र प्रदेश सरकारको पहल र स्थानीयबासीको चासो ।
मुलुकभर अक्सिजन सिलिण्डर अभाव भएका बेला यो समस्याबाट अस्पताल पनि अछुतो रहेन ।अस्पतालमै सिलिण्डर नभएको भन्दै स्थानीयले आलोचना गरे । आलोचनासँगै केही स्थानीय सामूहिक रुपमा स्वास्थ्य सामग्री र कोष खडा गर्न लागि परे । यसैको कारण अस्पतालमा सुविधा बढ्दै गयो ।
कोरोनाकै समयमा अस्पतालमा सुविधा सम्पन्न आइसोलेसन समेत खडा गरियो । अब जटिलबाहेकका संक्रमित जिल्ला बाहिर जानु परेन । लामो समय होमआइसोलेसन बसेका पनि चिकित्सको सम्पर्कमा रहेर आइसोलेसन बस्नु परे अस्पताल पुगे भयो । पछिल्लो समय भने अस्पताल निकै सुविधासम्पन्न रहयो ।“ सुरुमा हामीसँग सरसामान र चिकित्सक नभएकै हो । तर, अहिले त्यति साह्रो छैन ।” अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले भने,“नयाँ संक्रमण हो । एकैचोटी सबै थोक हुन सक्दैन । त्यही कारण केही ढिला भयो ।तर भयो ।” बरालका अनुसार, संक्रमण दर उच्च भएका बेला जिल्लाकै केन्द्रीयस्तरका जनप्रतिनिधिको सहयोगबाट अस्पताल चुस्त बनेको हो ।
अस्पतालमै बन्दैछ अक्सिजन प्लान्ट
संघीय सरकारले भर्खरै इलामसहित पूर्वका ताप्लेजुङ, धनकुटा, तेह्रथुम, खोटाङ, खोलुखुम्बुका अस्पताललाई अक्सिजन प्लान्ट राख्नका लागि ७५ लाखको दरले बजेट विनियोजन गर्यो । यो कुराले कुराले जिल्लाबासीलाई निकै उत्साहित बनायो ।
आर्थिक वर्षको अन्त्यमा विनियोजन भएको यो रकम फ्रिज भएर जाने संभावना बढी देखिन्छ । तर, बन्न सके जिल्लामा राम्रै सुविधा लिन सकिने देखिएको छ । खरिद प्रक्रिया लामो हुने भएपनि अहिलेसम्म खरिद प्रक्रिया शुरु नभएकाले प्लान्ट बन्ने निश्चित छैन ।
बजेट विनियोजन भए पनि स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ ले टेण्डर खोल्नका लागि आवश्यक पर्ने दर रेट दिन नसक्दा टेण्डरको प्रक्रिया अघि बढाउन नसकिएको अस्पतालले जनाएको छ ।
निर्देशनालय र मन्त्रालयलाई दर रेट माग गर्दा पनि हालसम्म प्राप्त नभएकाले टेण्डर प्रक्रिया अघि बढाउन नसकिएको अस्पतालले जनाएको छ । चार वटा फर्मसँग अस्पतालले सम्पर्क गरेर दररेट माग्दा उनीहरुले पनि दररेट उपलब्ध गराउन नसकेको अस्पतालका ब्यवस्थापक खतिवडाले बताए । ७५ लाख रुपैयाँले प्लान्ट राख्न नसकिने भएकाले दर रेट फर्मले समेत दिन नसकेको हुन सक्ने व्यवस्थापक खतिवडाले बताए ।
प्रदेशका मन्त्रीले अस्पताल आएरै सामग्री हस्तान्तरण गरे
केही समयअघि प्रदेश नं. १ काभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर कोरोना संक्रमण उपचार तथा नियन्त्रणका लागि अतिआवश्यक सामग्री लिएर अस्पताल नै आए । इलामबाटै निर्वाचित मगर संक्रमण दर उच्च रहेका बेला स्वास्थ्य सामग्रीसहित अस्पताल पुगेका हुन् ।
प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयबाट ल्याइएको सो सामग्री इलाममा शुरु भएको दुई बेडको एचडियूसहितको कोभिड–१९ अस्पतालका लागि प्रयोग गरियो । मन्त्री रानामार्फत हस्तान्तरण गरिएको सामग्रीहरुमा १० थान अक्सिजन सिलिण्डर, पीपीई गाउन २०० थान, सर्जिकल मास्क एक हजार थान, हेन्डसेनिटाइजर २० बोत्तल, डेटबडी ब्याग १० थान, अक्सिजन पोन्ज २० थान र भेन्ट्री मास्क १० थान रहेको छ । यस्तै, गत बिहीबार समेत मगरले अस्पतालमै आएर थप सामग्री हस्तान्तरण गरे ।
महामारीकै बीचमा अस्पतालमा एचडीयु जडान
प्रदेश नं. १ सरकारकै सहयोगमा इलाम अस्पतालमा एचडीयु (हाइ डिपेन्डेन्सी युनिट) जडान गरियो । दुई वेडको एचडीयु जडानपछि अस्पतालमा जटिल कोभिड रोगीको पनि उपचार भइरहेको छ । सुरुआतमै सुत्केरीको समेत एचडीयुमा राखेर उपचार गरियो । अहिले पनि एचडीयुबाट उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार