नक्सापास बिना घर बनाए इलाम नगरपालिकाले सेवा सुविधा नदिने

  आवाज संवाददाता


इलाम । नक्सा पास बिना घर बनाए इलाम नगरपालिकाले उनीहरुलाई दिने सेवा सुविधा रोक्ने भएको छ ।

नगरपालिकाको सभाबाट पारित नीति तथा कार्यक्रममा ‘नक्सापास प्रक्रिया नगरी जवरजस्ती घर निर्माण गर्ने व्यक्ति संघ संस्थालाई सवै प्रकारको सेवा सुविधा रोक्का गरी कानुन बमोजिम कार्वाही गर्ने नीति लिइने छ’, भन्ने उल्लेख छ । नियम कानुन नमान्नेलाई नगरपालिकाले सेवा दिन रोक्ने इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताए । ‘नियम कानुन सवैले मान्नुपर्छ, नियम कानुन नमानि जथाभावि गर्नेलाई सरकारले सेवा सुविधा दिइराख्नुपर्छ भन्ने हुँदैन’, नगर प्रमुख बस्नेतले भने । नक्सापासको प्रक्रिया पुरा नगरी घर बनाउनेलाई नगरपालिकाले विभिन्न किसिमको सिफारीस नदिने गरपालिकाका सूचना अधिकारी राम शाह बताउँछन् । ‘नक्सापास नगरी बनाएका घरहरु बेच्नुप¥यो भने पनि समस्या हुन्छ’, उनले भने,‘नक्सा पास नगरी बनाए नगरपालिकाले सिफारीसनै नदिनसक्छ ।’ नक्सापास नगरी घर बनाए, घरको मुल्याङकन, वैकमा कर्जा लिन र बिमामा समेत समस्या हुने शाहले बताए । ‘नक्सापास बिना घर बनाउने चलन अहिलेपनि छदैछ’, उनले भने,‘त्यसलाई निरुत्साहित गर्नको लागि नगरपालिकाले यस्तो नीति लिएको हो ।’

नगरपालिकाले नक्सा पेश भएका घरहरुको नक्सा पास र नक्सा पेश नहुने ग्रामीण क्षेत्रका सामान्य घरहको अभिलेखीकरण गर्दै आएको छ । नगरपालिकाको तथ्याङ्क अनुसार २०७५÷०७६मा एक सय २४ वटा घरहरुको नक्सापास गरिएका छन् । त्यस्तै २०७६÷०७७ मा ९९ घर मा ९९ घरको नक्सा पास र २९ घरको अभिलेखिकरण गरिएको नगरपालिकाका सव इञ्जिनियर मेघनाथ ढुङ्गनाले जानकारी दिए । २०७७÷०७८ मा एक सय ४८ वटा घरले नक्सा पेश गरेकोमा ८२ वटाले नक्सा पास लिएका छन् । त्यस्तै अभिलेखीकरणको लागि ५३ वटाको आवेदन परेकोमा ४९ घरको अभिलेखिकरण भइसकेको छ ।

नगरपालिकाले घरको वर्गिकरणको आधारमा अभिलेखीकरण गर्ने या नक्सा पास गरिदिने गरेको छ । नगरपालिकाले क, ख, ग र घ गरेर चार वर्गमा घरको वर्गिकरण गरेको छ । बास फुसबाट बेनेको घरको अभिलेखिकरणको लागि ५० रुपैयाँ राजश्व लाग्ने गरेको छ । ‘क’ वर्गको आरसिसि घरको नक्सा पासको लागि एक हजार स्वायर मिटर कम क्षेत्रफलको घरको लागि प्रति स्वायर मिटरको लागि एक सय २० रुपैयाँ राजश्व लिने गरेको छ । एक हजार स्वायर मिटर भन्दा बढि क्षेत्रफलको घरले एक सय ३० रुपैयाँ बुझाउन पर्छ । लिफ्ट सहितको घरको लागि भने प्रति स्वायर मिटर एक सय ५० रुपैयाँको दरले रकम बुझाउनुपर्छ ।

नगरपालिकाको पुनरसंरचनाको क्रममा पछि गाभिएका क्षेत्रमा भने अधिकाशं घरले नक्सापास गरेर संरचना बनिएका छैनन् । वैकबाट कर्जा लिएर बनिएका घरहरुले मात्रै नक्सापास लिने गरेका छन् । नगरपालिका क्षेत्रमा पछि गाभिएको क्षेत्रमा समेत नक्सापासलाई कडाइ गरिएको सव इञ्जिनियर मेघराज ढुङ्गना बताउँछन् । ‘राजमार्गले छोएको र बजार क्षेत्रमा नक्सापासलाई यस अघिदेखिनै कडाइ गरिएको छ’, उनले भने,‘अन्य क्षेत्रमा बनिरहेका आरसीसी घरहरुको नक्सापास गराउनेक्रम बढ्दै गएको छ ।’ पहिलेको नगरपालिकाको क्षेत्रमा बरबोटे, सुम्बेक, साखेजुङ, पुवामझुवा, साङरुम्बा, सोयाक र गोदक गाविसको सवै क्षेत्र र सिद्धिथुम्काको ७ नम्बर इलाम नगरपालिका क्षेत्रमा गाभिएको थियो । ति क्षेत्रमा नक्सापास लिएर घर बनाउने चलन शुरु भइसकेको छैन । गाउँ विकास समितिहरु हुँदा धेरै ठाउँमा नक्सा पासको सुविधानै थिएन ।
नगरपालिकाले यस अघिनै नक्सापास बिना बनेका घरहरुलाई नक्सा पासको लागि चार महिनाको अवधि दिएको छ । नीति तथा कार्यक्रममानै त्यस्ता घरहरुलाई नक्सा पासको लागि कात्तिक मसान्तसम्मको म्याद दिइने उल्लेख छ । नगरपालिकाले दिएको म्यादभित्र नक्सापास गराइ जरिवाना नलाग्ने ब्यवस्था गरिएको छ । तर, शुल्क भने लाग्ने छ । त्यस्तै नक्सापास बिना बनेका सरकारी भवनलाई भने नगरपालिकाले कात्तिक मसान्तसम्ममा नक्सा पास गराए सेवा शुल्क समेत छुट दिने व्यवस्था गरेको छ । कात्तिक मसान्तपछि भने सरकारी भवनहरुले समेत नगरपालिकामा शुल्क तिरेर मात्रै नक्सा पास गराउन सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार