एजेन्सी । युवा फरवार्ड किलीयन एमबाप्पेले टाइब्रेकरमा गोल गर्न नसक्दा विश्वकप विजेता फ्रान्स स्विट्जरल्यान्डसँग टाइब्रेकरमा ५-४ ले पराजित हुँदै युरोपेली च्याम्पियनसिप २०२० बाट बाहिरिएको छ । बुकारेस्टमा सोमबार भएको राउन्ड अफ १६ को खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । स्विट्जरल्यान्ड भने जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफमा औसत प्रदर्शन गरेको फ्रान्स हरिस सेफेरोभिचको गोलमा पछि परेको थियो । उक्त गोलमा गल्ति गरेका डिफेन्डर क्लेमेन्ट लेंगलेटलाई दोस्रो हाफमा परीवर्तन गर्दै आक्रामक रणनीति अपनाएको थियो । स्विट्जरल्यान्डले पेनाल्टीमा अग्रता दोब्बर पार्ने सुवर्ण अवसर खेर फालेपछि फ्रान्सले लगातार गोल गर्दै खेलमा पकड जमायो ।
बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई सानदार फिनिस गरेपछि फ्रान्स खेलमा अघि बढेको थियो । पोग्बाले त्यसपछि विश्वस्तरीय गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए । तर सेफेरोभिचले व्यक्तिगत दोस्रो हेडर गोल गर्दै फ्रान्सलाई सहज रुपमा खेल्ने अवसर दिएन । ग्रभानोभिचले अन्तिम मिनेटमा गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए । अतिरिक्त समयमा गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।
टाइब्रेकरमा पहिलो प्रहार गरेको स्विट्जरल्यान्डका लागि मारिओ ग्राभानोभिच, फाबियन सेर, म्यानुएल अकान्जी, रुबेन भार्गास र आदमिर मेहमेदी सबैले गोल गर्न सफल भएका थिए । फ्रान्सका लागि पल पोग्बा, ओलिभिएर जिरुड, मार्कस थुराम र प्रेस्नेल किम्पेम्बे लगातार सफल हुँदा पाँचौ प्रहार गर्न आएका किलीयन एम्बाप्पेको प्रहारलाई गोलरक्षक यान सोमरले विफल पारेका थिए ।
स्विट्जरल्यान्डले युरो इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जितेको हो । यससँगै स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनको सामना गर्नेछ ।
यो पनि स्विट्जरल्यान्डको ऐतिहासिक जित
खेलको १५ औं मिनेटमा स्विट्जरल्यान्डले सेफेरोभिचको गोलमा अग्रता लिएको थियो । बायाँ विंगबाट स्टिभन जुबरले दिएको क्रसलाई उनले हेडरमार्फत बटम कर्नरमा गोल गरेका थिए । प्रतियोगितामा पहिलो खेल खेलिरहेका बार्सिलोनाका डिफेन्डर क्लेमेन्ट लेंगलेटले हेडरको प्रयास गर्न नसक्दा सेफेरोभिचको हेडरमा गोलरक्षक ह्युगो लोरिसको डाइभ व्यर्थ भएको थियो ।
२६ औं मिनेटमा किलीयन एम्बाप्पेको फ्रिकिक वालमा लगेर फर्केको थियो । उक्त रिबाउन्डमा एम्बाप्पेको शक्तिशाली प्रहार पनि पोस्टभन्दा थोरैले बाहिरिएको थियो । २९ औं मिनेटमा एड्रिएन राबिओटको प्रहार पनि बाहिरिंदा स्विट्जरल्यान्डको अग्रता जोगिएको थियो ।
३१ औं मिनेटमा ब्रील एम्बोलोको प्रहारले गोलरक्षक लोरिसलाई समस्या दिन सकेन । ४१ औं मिनेटमा कप्तान ग्रानिट झाकाको पासलाई एम्बोलोले पेनाल्टी क्षेत्रभित्र नियन्त्रण गर्न नसक्दा स्विट्जरल्यान्ड अग्रता दोब्बर पार्ने अवसरबाट चुक्यो । ४२ औं मिनेटमा एमबाप्पेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार आकासियो ।
दोस्रो हाफमा फ्रान्सले लेंगलेटको स्थानमा किंग्सले कोमानलाई मैदान पठाउँदै आक्रामक परिवर्तन गरेको थियो । तर ५५ औं मिनेटमा फ्रान्सका बेन्जामिन पाभार्डले जुबरलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै भीएआरले पेनाल्टी दियो । रिकार्डो रोड्रीग्वेजले प्रहार गरेको पेनाल्टीलाई कप्तान लोरिसले विफल पार्दै फ्रान्सलाई खेलमा कायम राखे । रोड्रीग्वेजले गरेको प्रहारलाई लोरिसले आफ्नो बायाँतर्फ डाइभ दिँदै बचाएका थिए ।
पेनाल्टीमा चुकेको २ मिनेट नबित्दै स्विट्जरल्यान्डले गोल खान पुग्यो । करीम बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट बल नियन्त्रण र फिनिसको नमुना प्रस्तुत गर्दै फ्रान्सलाई बराबरीमा ल्याएका थिए । उनले किलीयन एमबाप्पेले आफ्नो पछाडीबाट दिएको पासलाई उत्कृष्ट ढंगले पहिलो टचमा नियन्त्रण गर्दै दोस्रो टचमा गोलरक्षकलाई बिट गरेका थिए ।
बराबरी गरेको दुई मिनेटपछि बेन्जेमाले नै फ्रान्सलाई अग्रता दिलाए । एमबाप्पेको पासमा एन्टोइन ग्रिजमनले ६ यार्ड बक्स नजिकबाट गोलरक्षकलाई चिप गरेका थिए । उक्त चिपलाई बेन्जेमाले गोललाइन नजिकबाट हेडरमार्फत गोलमा परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाए । अघिल्लो गोलमा देखिएको एमबाप्पे, बेन्जेमा र ग्रिजमन बीचको साझेदारी यस गोलमा पनि निर्णायक बनेको थियो ।
६६ औं मिनेटमा सेफेरोभिचले बराबरी गर्ने सुवर्ण अवसरको सदुपयोग गर्न सकेनन् । फ्रिकिकमा उनले आफ्नो डिफेन्स मार्करलाई पछि पार्दै वन भर्सेस वनको स्थितिमा बललाई प्रहार गर्नबाट चुके । ७५ औं मिनेटमा पल पोग्बाले विश्वस्तरीय गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । पेनाल्टी क्षेत्रको बाहिरबाट पोग्बाले गरेको प्रहार टप कर्नरमा गोल भएको थियो । गोलरक्षक यान सोमरले डाइभ दिएपनि उक्त बलसम्म पुग्न सकेनन् ।
८१ औं मिनेटमा सेफेरोभिचले व्यक्तिगत दोस्रो गोल गर्दै स्विस टोली खेलमा फर्कने संकेत दिए । केभिन एम्बाबुको क्रसमा सेफेरोभिचले हेडरमार्फत गोल गर्दै खेल ३(२ को स्थितिमा ल्याएका थिए । त्यसको २ मिनेटमा नै मारियो गाभ्रनोभिचले गोल गरेपनि रेफ्रीले उनी अफसाइड पोजिसनमा रहेका कारण त्यसलाई मान्यता दिएनन् ।
तर निर्धारित समयको अन्तिम मिनेटमा स्विट्जरल्यान्डले गाभ्रनोभिचको गोलमा खेल बराबर गर्न सफल रहयो । ग्रानिट झाकाको पासमा उनले प्रेस्नेल किम्पेम्बेलाई छक्याउँदै गरेको प्रहारलाई लोरिसले डाइभ दिएपनि बचाउन सकेनन् । अर्को तर्फ इन्ज्युरी समयको चौथो मिनेटमा कोमानले गरेको प्रहार क्रसबारमा लागेर फर्कंदा फ्रान्स जितबाट बन्चित भएको थियो ।
९५ औं मिनेटमा पाभार्डको प्रहारलाई गोलरक्षक सोमरले विफल पार्दै खेल बराबरीमा कायम राखे । ९८ औं मिनेटमा कोमनको प्रहार पोस्टको बाहिरि भागमा लाग्दा फ्रान्स अघि बढ्न सकेन । १ सय ९ औं मिनेटमा एमबाप्पेले अवसर सदुपयोग गर्न सकेनन् । पोग्बाको पासबाट वन भर्सेस वनको स्थितिमा उनको खराब प्रहारले गोलरक्षकलाई कुनै समस्या दिन सकेन ।
१ सय १३ औं मिनेटमा पोग्बाको पासमा मार्कस थुरामले दिएको क्रसलाई जिरुडले पोस्टतर्फ प्रहार गरेपनि एमबाप्पेलाई लाग्दै बल बाहिरिएको थियो । १ सय १९ औं मिनेटमा जिरुडको हेडरलाई सोम्मरले बचाउँदै खेल बराबरीमा नै राखे । त्यसपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
दिनकै अर्को खेलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको थियो । कोपनहेगनस्थित पार्केन रंगशालामा स्पेनले ५- ३ को जित दर्ता गर्दै राउन्ड अफ १६ पार गरेको हो ।
पहिलो हाफमा क्रोएसियाले अग्रता लिनुअघि स्पेनले एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो । क्रोएसियाले बिरलै स्पेनको हाफमा बल लगेको खेलमा आत्मघाती गोलले नै खेलको रुप परिवर्तन भएको थियो । तर अन्त्यतिर गोल गर्दै स्पेन पहिलो हाफमा नै खेलमा फर्कन सफल भयो ।
दोस्रो हाफमा स्पेनले आफ्नो आक्रमणलाई जारी राख्दै अग्रता लिन सफल भयो । अग्रता लिएपछि क्रोएसियाले केहि अवसर सिर्जना गरेपनि स्पेनको डिफेन्सले बलियो प्रदर्शनका साथ खेलमा अग्रता कायम राख्यो । स्पेनले दोस्रो हाफमा २ गोल गर्दै सहज जिततर्फ उन्मुख देखिएपनि क्रोएसियाले अन्त्यतिर दुई गोल गर्दै खेल अतिरिक्त समयमा पुर्याएको थियो । अतिरिक्त समयको पहिलो हाफमा स्पेनले दुई गोल गर्दै जित पक्का गरेको थियो ।
स्पेन युरो २०१२ को उपाधि जितेपछि पहिलो पटक कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल रहयो । यसअघि विश्वकपको दुई संस्करण र युरो २०१६ मा स्पेनले अन्तिम ८ को यात्रा गर्न सकेको थिएन ।
नवौं मिनेटमा कोकेको फ्रिकिकमा सेजार एज्पिलीक्वेटाको हेडरलाई गोलरक्षक लिभाकोभिचले सहजै बचाए । १३ औं मिनेटमा अल्भारो मोराटाको पासमा पाब्लो सराबियाको प्रहार बाहिरिंदा स्पेन अग्रता लिनबाट चुकेको थियो ।
खेलको २० औं मिनेटमा क्रोएसियाले अप्रत्याशित रुपमा अग्रता लियो । स्पेनका मिडफिल्डर पेड्रीले मैदानको बीच भागबाट आफ्नो गोलरक्षक उनाइ सिमोनलाई दिएको पास गोल भएको थियो । बुस्केट्सको लामो पास गोलरक्षक सिमोनको ठिक अगाडी झर्दा उनको बल रोक्ने प्रयास खुट्टालाई छुँदै पोस्टमा छिरेको थियो । युरोको यस संस्करणमा यो नवौं आत्मघाती गोल थियो ।
आत्मघाती गोलभन्दा केहि मिनेट अघि मात्र स्पेनले गोल गर्ने सुवर्ण अवसरको सदुपयोग गर्न सकेको थिएन । मिडफिल्डर पेड्रीले दिएको पासमा कोकेको पेनाल्टी क्षेत्र भित्रको प्रहारलाई गोलरक्षक लिभाकोभिचले खुट्टाले सुन्दर बचाउ गरेका थिए ।
अग्रता लिएपछि उच्च मनोबलमा देखिएको क्रोएसियाले थप दुई अवसर सिर्जना गरेको थियो । २५ औं मिनेटमा निकोला भ्लासिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार बाहिरिएको थियो । त्यसको एक मिनेटपछि नै माटियो कोभाचिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई पोस्टको दिशा दिन सकेनन् ।
३८ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए । जोसे गायाको सुरुवाती प्रहारलाई गोलरक्षक लिभाकोभिचले विफल पारेपनि रिबाउन्डमा सराबीयाको प्रहार भने गोल भएको थियो । इन्ज्युरी समयमा अल्भारो मोराटाले पोस्टमा प्रहार गर्न सकेनन् ।
दोस्रो हाफमा स्पेनले आफ्नो स्वभाविक खेल पस्कदै क्रोएसियालाई दबाबमा राखेको थियो । ५७ औं मिनेटमा सेजार एज्पिलीक्वेटाले गोल गर्दै स्पेनलाई खेलमा पहिलो पटक अग्रता दिलाए । फेरान टोरेसको क्रसमा एज्पिलीक्वेटाले हेडरमार्फत गोल गर्दै आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।
६६ औं मिनेटमा आन्टे रेबिचको प्रहारलाई गोलरक्षक सिमोनले सानदार बचाउ गरे । पेनाल्टी क्षेत्रको ठिक भित्रबाट उनले गरेको शक्तिशाली प्रहारलाई सिमोनले आफ्नो बायाँतर्फ डाइभ गर्दै बचाएका थिए । ७२ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पारेपनि भीएआरले गोललाई मान्यता दिएन । मोराटाले सहज गोल गरेपनि उनी बल आउनुअघि नै गोललाइन नजिक रहेकाले भीएआरले अफसाइडको निर्णय दिएको थियो ।
७७ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पार्यो । फेरान टोरेसले गोल गर्दै स्पेनलाई क्वाटरफाइनल स्थाननजिक पुर्याएका थिए । उनले पाउ टोरेसको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ढंगले नियन्त्रणमा लिँदै गोलरक्षक लिभाकोभिचलाई बिट गरेका थिए । ८४ औं मिनेटमा वैकल्पिक खेलाडी ड्यानी ओल्मोको प्रहारलाई भने गोलरक्षकले बचाएका थिए ।
८५ औं मिनेटमा क्रोएसियाले गोल गर्दै खेलमा फर्कने संकेत दियो । ६ यार्ड बक्सभित्र लगातार एकपछि अर्को प्रहार गरेको क्रोएसियाको प्रहार स्पेनिस डिफेन्सले क्लिअर गर्न सफल रहेको थियो । तर भिडियो असिस्टेन्ट रेफ्रीले मिस्लाभ ओर्सिचको प्रहारलाई एज्पिलीक्वेटाले पोस्टभित्र छिरेर रोकेपछि गोलको मान्यता दिएका थिए ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा मारिओ पासलीचले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले मिस्लाभ ओर्सिचको क्रसलाई हेडरमार्फत गोल गर्दै स्पेनी समर्थकलाई निराश बनाएका थिए । पासलीचको हेडरलाई गोलरक्षक सिमोनले बचाउने कुनै अवसर नै पाएका थिएनन् । निर्धारित ९० मिनेटमा ३(३ को बराबरीसँगै खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
अतिरिक्त समयको दोस्रो मिनेटमा ओर्सिचले क्रोएसियालाई अघि बढाउने अवसर गुमाए । उनले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गरेको प्रहार पोस्टभन्दा थोरैले माथि गएको थियो । ९६ औं मिनेटमा सिमोनले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा कायम राखे । आन्द्रे क्रामारीचको प्रहारमा उनको डाइभिङ बचाउले क्रोएसिया अग्रता लिनबाट बन्चित भएको थियो ।
खेलको १ सयौं मिनेटमा मोराटाले सुन्दर गोल गर्दै स्पेनलाई पुनस् अग्रता दिलाए । ड्यानी ओल्मोले दायाँ विंगबाट दिएको क्रस डिफेन्डरले भेट्न नसक्दा मोराटाले पहिलो टचमा बललाई नियन्त्रणमा राख्दै हाफ भलीमा सुन्दर गोल गरे । उनको शक्तिशाली प्रहारलाई लिभाकोभिचले जोगाउने कुनै अवसर नै पाएनन् ।
अग्रता लिएको तीन मिनेटपछि नै स्पेनले अग्रता दोब्बर पार्यो । मिकेल ओयाराज्बालले पेनाल्टी क्षेत्रभित्र संयमित रहेर फिनिस गर्दै ५(३ ले अघि बढाएका थिए । अफसाइड ट्रयाप बिट गर्दै अघि बढेका ओल्मोले दिएको लो क्रसलाई ओयाराज्बालले राम्रो फिनिस गरेका थिए । त्यसको एक मिनेटपछि नै मोराटाले डिफेन्सबाट खोसेको बल अघि बढाएपनि प्रहार गर्न भने असफल रहे ।
१ सय १५ औं मिनेटमा मोराटाले अग्रता बढाउने अवसर पाएका थिए । उनले वन भर्सेस वनको स्थितिमा गरेको प्रहारलाई गोलरक्षक लिभाकोभिचले बचाएका थिए । अन्तिम मिनेटमा ओल्मोको प्रहार पोस्टमा लागेर फर्कंदा स्पेन अग्रता बढाउनबाट चुकेको थियो । हाम्राे खेलकुदबाट ।