इलाम । असारमा धान खेतमा धान राेप्नेकाे चटाराे छ । वर्षा बेलैदेिख शुरु भएकाले खेतमा धान राेप्ने चटाराे हुनु स्वभाविकै हाे । असार १५ गते अर्थात धान दिवसमा त कहिल्यै धान नराेप्नेले पनि धान राेप्छन् । धान दिवसको अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरेर धान राेप्दै हिलाेसँग रमाउने गरिन्छ । असार १५ अर्थात धान दिवसमा इलामको रोङ गाउँपालिकाको जिर्मलेका किसानलाई पनि धान राेप्ने चटाराे छ तर उनीहरुकाे चटाराे खेतमा धान रोप्ने होइन, धान बाटोमा रोप्ने चटाराे छ । बाटो खेतभन्दा हिलाम्मे भएपछि उनीहरुले बाटोमै धान रोपेर विरोध जनाएका हुन् । स्थानीयले हर्कटे–धजे–निन्दा–काँकरभिट्टा सडकको विभिन्न ठाउँमा रोपाई गरेका हुन् । सडकको सूर्योदय नगरपालिका क्षेत्र र रोङ गाउँपालिका क्षेत्रमा स्थानीयले विरोध स्वरुप धान रोपेका हुन् ।
हिलोका कारण स्थानीले धान रोपेको सडक एक नम्बर प्रदेशको मुख्यमन्त्री ग्रामीण सडक अन्तरर्गतको आयोजना हो । सडकमा बर्षेनी लाखौं रुपैयाँ लगानी भइरहेपनि सडकको स्तरउन्नती हुन सकेको छैन । सडकको स्तरउन्नतीको लागि भन्दै सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाले बजेट खर्च गर्ने गरेका छन् । तर, सडकको अवस्था झन विग्रिदै गएको छ ।
रोङ गाउँपालिकाको धजेबाट हर्कटेसम्म नौ किलोमिटर दुरी छ । हिलोका कारण बेहाल भएको सडकको नौ किलोमिटर दुरी मोटरसाइकलमा पार गर्न दुई घण्टा लाग्छ । दुई घण्टामा हिँडेरै धजेबाट हर्कटे आउन सकिन्छ । तर, अहिले हिलोका कारण मोटरसाइकलमा यात्रा गर्नै नसकिने स्थानीय लोकनाथ भण्डारी बताउँछन् । ‘कसै कसैले मुस्किले बोकेर मोटरसाइकल निकाल्न सक्छन्, जस्तो तस्तोले आँट नगरे हुन्छ’,भण्डारी भन्छन्,‘पीक अप ट्याक्टर पनि फसेर निस्किन मुस्किल पर्छ ।’ सडक हिलाम्मे भएपछि दैनिक रुपमा गाडी ठेल्नुपर्ने अवस्था रहेको उनले बताए । ‘आजपनि दुई तीनवटा पिकअप ट्याक्टरले तानेर निकालियो, एउटा पिकअप कति ठेल्दा पनि निकाल्न सकिएन’, भण्डारीले सुनाए, ‘यो त बाटोको दैनिकी जस्तै भएको छ ।’
बाटो हिलाम्मे भएपछि रोङको जिर्मले, रम्भ्याङ सूर्योदय नगरपालिकाको तारगाउँका बासिन्दाले बर्षेनी सास्ती खेप्दै आएका छन् । ती गाउँमा उत्पादित दूध, हरियो पत्ति, तरकारी बजारसम्म पु¥याउँन समस्या छ । सूर्योदय वडा नम्बर ६ मा रहेको तारागाउँ चिया उद्योगमा अन्यत्रको चिया लैजान समेत समस्या हुने गरेको स्थानीय बताउँछन् ।
सूर्योदय नगरपालिका ६ तारगाउँको कोइरीबाट ग्राभेल र ढुङ्ग बोक्नको लागि ट्याक्टर र टिपर दैनिक गुड्ने गरेका छन् । बर्षायामको बेला समेत ढुङ्गा र ग्राभेल बोक्ने क्रम नरोकिएपछि सडकको अवस्था वर्षेनी विग्रिदै गएको हो । यसकाे नियन्त्रणको लागि हालसम्म सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । ‘सरोकारवाला निकायको ध्यानाकर्षण गराउनकै लागि असार १५ मा धान रोपेका हौ’, स्थानीय लोकनाथ भण्डारी भन्छन्,‘सडकको अवस्थाका बारेमा सवैको ध्यान पुगोस् ।’
अहिले स्थानीय तहहरुमा बाह्रैमास सवारी चल्ने सडक योजनाको नाममा बर्षेनी करोडौ लगानी हुने गरेको छ । तर, यस्ता आयोजना नाम मात्रैमा सीमित भएका छन् । बर्षायाम शुरु भएपछि सडक निर्माण थालिने, निर्माणको काम अधुरै छाड्ने प्रबृतिले सडकमा जतिनै लगानी भएपनि सडकको स्तरउन्नती भएको छैन । स्थानीय भने हिउँदमा धुलो र वर्षामा हिलोको समस्याबाट मुक्त हुन सकिरहेका छैनन् ।