चुलाचुली गाउँपालिकाकी सुत्केरी महिलाकाे काेराेनाबाट निधन

  आवाज संवाददाता

झापाको दमकस्थित लाइफलाइन अस्पतालमा एक सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चुलाचुली ५ इलामकी ३१ वर्षीया महिलाले दमककै ओम मेची अस्पतालमा २५ दिन अघि बच्चा जन्माएकी थिइन् ।
स्वास्थ्यमा समस्या आएपछि कोरोना जाँच गर्दा पोजेटिभ देखिएपछि गएर असार ३ गतेदेखि लाइफलाइन अस्पतालमा उपचाररत रहेको अवस्थामा मंगलबार महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । उपचारको क्रममा स्वास्थ्यमा सुधार आइरहेको थियो तर अचानक बिहानै उनको स्वास्थ्य अवस्था कमजोर बन्यो, उपचारमा संलग्न स्वास्थ्यकर्मीको भनाइ छ ।

    ‘सुत्केरी भएको एकसातापछि जाँचका लागि जाँदा कोरोना संक्रमण भएको पुष्टि भएको रहेछ’, उपचारमा संलग्न एक स्वास्थ्यकर्मीले भने । बच्चाको भने अहिलेसम्म कोरोना जाँच नभएको बताइएको छ । पछिल्लो समयमा एन्टिजेनमार्फत जाँच गराएर मात्र गर्भवती महिलाहरुको अस्पतालले सुत्केरी गराउने गरेको बताइन्छ ।

   झापाको दमकमा नीजि स्तरमा लाइफलाइन अस्पतालले ३० बेड क्षमताको कोभिड उपचार केन्द्र सञ्चालन गरेको छ । यहाँ झापाको दमकसहित बाहिरी जिल्लाका बिरामीहरु पनि उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल डाइरेक्टर सूर्यनारायण शाहले बताए । अस्पतालको क्षमता र यहाँका स्वास्थ्यकर्मींहरुको अथक प्रयासबाट बचाउन खोजिएको हो तर सम्भव भएन, डा. शाहले भने ।

-साभार : इजलास अनलाइनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार