चीन पठाउन नसक्दा चियामा घाटा

  सधैं चीनबाट उच्च मूल्य पाउने नेपाली चिया निर्यात हुन नसक्दा त्यसबाट करोडौंको घाटा चिया किसान र चिया उद्योगीहरुलाई हुने गरेको छ । गतवर्षदेखि कोभिडका कारण चीनसँगको आउजाउ बन्द भएपछि त्यसको असर चाइना पठाउन तयार गरिएको उच्च गुणस्तरको चियामा परिरहेको छ । जस्को कारण चीन र नेपाल बीचको व्यापार सम्झौंतानै मुख्य हो ।
अहिले सम्म नेपाल र चीन बीच चिया निर्यातको दोहोरो सम्झौता भइसकेको छैन । तर, नेपाल आउने चीनियाँहरुले मनपराएर लाने नेपाली चियाको मूल्य भने उच्च रहेको उद्योगीहरुको भनाइ छ । कोभिडका कारण चियाको सिजनमा गतवर्ष र यो वर्ष पनि चीनियाँहरु आउन जान ठप्प भएपछि करोडौं मूल्य बराबरको चिया गोदाममै छ ।

   ‘उच्च गुणस्तरको चिया जाने चाइनानै हो, गतवर्षकै माग अनुसार पठाउन तयार गरिएको एक करोड ३५ लाख रुपियाँ भन्दा बढीको चिया त्यसै छ ।’ जसवीरे चिया उद्योगका सञ्चालक शरद सुब्बाले भने ‘यो वर्ष पनि माग आएको केही चिया तयारी पनि गरियो तर, उताका व्यापारी नेपाल आउन नसक्दा यहाँको चिया जान सक्दैन ।’ सुब्बाका अनुसार नेपाली चिया चीन जाँदा त्यहाँ लाग्ने उच्च करका कारण सहज रुपमा नेपाली चिया पठाउन सकिंदैन ।
‘गोल्डेन, ह्वाइट, ग्रीन टी, ओलङ टी, पर्ल टी, कर्ली’ जस्ता उच्च गुणस्तर कायम गरेर बनाइएका चिया चाइना जाने गरेको छ । ‘चाइनिजहरुले फरक किसिमको वास्नादार चिया मन पराउँछन्, उनीहरुको माग अनुसार बनाइएका चिया राम्रो मूल्यमा बिक्री हुने गरेको छ ।’ सुब्बाले भने ‘ अझ वैधानिक ढंगले चिया जाने बाटो खुल्ला हुनु हो भने हाम्रो चियाको राम्रो बजार चाइनानै हो ।’
फाकफोकथुम स्थित चीन पठाउन तयारी गरिएको तीन जुरे सहकारी संस्थाको चिया पनि गतवर्षकै बाँकी छ । ‘यो वर्ष पनि माग आयो तर पठाउने उपाया छैन ।’ संस्थाका शरद शर्माले भने ‘गतवर्षको पाँच सय किलो ह्वाइट र गोल्डेन तयारी चिया बाँकी छ ।’ तयारी गरिएको चिया पठाउन नसक्दा आर्थिक रुपमा पनि समस्या भएको शर्माको भनाइ छ ।
यता चीन सँग चियाको व्यापार सम्झौताको प्रयास भइरहेको नेपाल चिया तथा कफी विकास वोर्डले जनाएको छ । ‘हामीले यही सिजनलाई हुने गरि चाइना सँग एमओयु गर्ने प्रयास गरिरहेका छौं, कोभिडकै कारण चाइना जान नसक्दा सम्भव भइरहेको छैन ।’ वोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले भने ‘ड्राफ्ट तयार भएको छ, त्यहाँ स्थित नेपाली दुताबास मार्फत हामीले प्रस्तुत ग¥योंै, उताबाट ओके पनि भएको छ, हवाइ उडान चल्नसाथ प्रक्रिया अघि बढाउँछौं ।’
नेपाली चियाको राम्रो बजार रहेको चाइनामै चिया पठाउन सक्दा नेपाली किसान र व्यवसायी र राष्ट्रलाईनै महत्वपूर्ण फाइदा पुग्ने चिया उद्योगी बताउँछन् । तर, चाइना चिया पठाउन नसकेपछि भारत पठाउने चियाका लागि गुणस्तर घटाएर तयारी गरिरहेको जस्वीरेका शरद सुब्बाको भनाइ छ ।
विदेशी मुद्रा आर्जनका लागि महत्वपूर्ण बन्न थालेको नेपाली चियाको विदेशी बजार सुनिश्चित नहुँदा चियाबाट करोडौं रुपियाँ नोक्सान भइरहेको छ । कतिपय विदेशी मुलुकमा व्यापार सम्झौता विना नेपाली चिया पठाउनै समस्या भइरहेको छ ।
नेपाली चियाको राम्रो माग रहेको छिमेकी मुलुक चीनमा अझै सम्म व्यापार सम्झौता नहुँदा यो सिजनको चिया पठाउन पनि नसकिने अवस्था रहेको चिया व्यवसायी बताउँछन् । विगतमा पनि चिनियाँहरु नेपाल आउँदा नेपाली चिया लिएर जाने गरेका थिए । गतवर्ष देखि कोरोनाका कारण आउनजान बन्दाबन्दी भएपछि माग अनुसार चीन पठाउन तयार गरिएको करोडांै मूल्य बराबरको चिया गोदाममै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार