बढ्यो कांग्रेसको चुनाबी सरगर्मी : नेताहरु कोही कार्यकर्ता रिझाउँदै, कोही परामर्शमा

  आवाज संवाददाता

आसन्न जिल्ला अधिवेशनका लागि काङ्ग्रेस नेताले चुनाबी गतिविधि बढाउँदै लगेका छन् । जिल्ला सभापतिका लागि केही नेताहरुले बाहिरी प्रचारप्रसार नगरेपनि भित्री रणनीति बनाउन थालेका छन् ।
कांग्रेसमा जिल्ला तहमा कार्यकारी अधिकारसहितको सबैभन्दा बलियो पद जिल्ला सभापति हो । यसै कारण पनि अधिकांश नेताले सभापतिको आकांक्षा देखाउने गरेका छन् । यस पटक जिल्ला सभापतिको दौडमा जिल्ला पुरानै अनुहार देखा पर्ने अपेक्षा गरिएको छ ।

का‌गेंसमा को आका‌ङ्क्षी, कसको सम्भावना कति ?

    अहिले कांग्रेसको सभापतिमा कति जना आकांक्षी छन् एकिन छैन । यस पटक कांग्रेस पूर्वसभापति केशव थापा, वर्तमान सभापति हिमालय कर्मचार्य, भेषराज आचार्य र पूर्व कोषाध्यक्ष डम्बर खड्का सभापतिको उम्मेदवार बन्ने सम्भावना प्रवल छ ।
कांग्रेस स्रोतका अनुसार यी मध्ये केही आकांक्षीले आफूले सभापतिमा दाबी राख्ने भन्दै वडा तहसम्म कुराकानी गर्न थालेका छन् । ‘केही नेताले त मत सर्वे समेत गर्न थालेका छन् ।’ अधिवेशनबारे पूर्वसभापति थापाले भने आफू आकांक्षी रहेको बताउँदै आएका छन् । समयक्रमले आफूलाई पुन ः सभापतिमा दोहोरिनु परेको भन्दै थापाले आफू चुनाबी मैदानमा रहेको स्वीकार गरेका छन् । यस्तै, पूर्वकोषाध्यक्ष खड्काले समेत आफू सभापतिको आकांक्षी रहेको बताएका छन् ।
युवा पुस्ताले आफूलाई नेतृत्व गर्न अनुरोध गरेकाले सभापतिको प्रत्यासी बनेको बताएका छन् । यस्तै, कर्मचार्यले भने सभापतिमा लड्ने नलड्ने तीन वा चार दिनपछि मात्रै टुंगो लाग्ने बताएका छन् । उनले आफू जिल्लातहका नेतासँग परामर्शमा हेको बताएका छन् । यस्तै, अर्का नेता आचार्य समेत हालसम्म खुलेका छैनन् । विगतमा उनी सभापतिमा लडेका कारण अहिले पनि सभापतिकै प्रत्यासी रहेको जिल्ला तहका कांग्रेस नेता बताउँछन् ।

   कांग्रेस स्रोतले भन्यो,‘नेताहरु आ–आफ्नै तरिकाले लविङमा लागेका छन् । चुनाबी दौड कडा हुने देखिएको छ ।’ यी आकांक्षीमध्ये थापा र खड्का संस्थापननिकट मानिन्छन् भने कर्मचार्य र आचार्य संस्थापनइतर नजिक मानिन्छन् ।
अहिले सम्मको परिस्थितिमा चार जना आकांक्षी देखिएपनि अन्य नेता समेत थपिने सम्भावना देखिएको छ । कांग्रेस स्रोतका अनुसार अहिले चार नेता व्याक भएको अवस्थामा अन्य नेता आउने सम्भावना पनि छ । तर, अहिलेकै अवस्थामा ती दोस्रो तहका नेताले दबाबमूलक कार्यक्रम ल्याउन सकेका छैनन् । गत अधिवेशनमा समेत जिल्लामा कर्मचार्य, आचार्य,खड्का नै प्रतिष्पर्धामा उत्रिएका थिए । चुनाबपछि कर्मचार्यले सभापतिमा बाजी मारे ।
केन्द्रीय नेताका कारण खुल्न गाह्रो मान्छन् जिल्ला नेता
गत अधिवेशनसम्म कांग्रेसमा गुट चिन्न सहज थियो । देउवा गुट, पौडेल गुट मात्र रहँदा जिल्ला नेता समेत तिनै कित्तामा पर्थे । तर, यसपटक केही असहज देखिएको छ । केन्द्रीय स्तरमा वदलिदो समिकरणले जिल्ला नेतालाई सकस देखिएको छ । ‘गत अधिवेशनमा देउवा र पौडेल भन्दा सकिन्थ्यो तर अहिले फरक तवरको राजनीति चलिरहेको छ ।’ कांग्रेस एक नेताले भने ।

    पछिल्लो समय केन्द्रीय स्तरमा सभापति देउवा खेवाबाट शेरवहादुर देउवा र विमेलेन्द्र निधि र देउवाइतरबाट रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला लगायतले आकांक्षा देखाएका छन् । विगतमा गुटगत उम्मेदवार देखिने भएपनि पछिल्लो समय निधि, सिंह र शशांक कोइरालाको भेटघाट कार्यक्रमले जिल्ला नेता समस्यामा परेका हुन् । आउँदो महाधिवेशनमा कुन नेता सभापतिमा उम्मेदवार बन्ने हेक्का नभएकाले जिल्लामा पनि आकांक्षा देखाउन असहज छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार