(अन्तर्वार्ता)पहिलो प्राथमिकता अशक्त र एकललाई : पोख्रेल

आगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि सबै जसो स्थानीय तहले आ–आफ्नो नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरिसकेका छन् । स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारजस्ता क्षेलाई प्राथमिकतामा राखेका छन् । यीनै प्राथमिकतालाई जोड्दै इलामको देउमाइ नगरपालिकाले भने जनप्रिय बजेट सार्वजनिक गरेको छ । देउमाइ नगरपालिकाका प्रमुख सूर्य पोख्रेलसँग इलाम आवाज डट कमका सम्पादक कोकिला ढकालले गरेको संक्षिप्त कुराकानी :
आवाज : आगामी आर्थिक वर्षको बजेट ल्याउने देशमै पहिलो नगरपालिका देउमाईलाई सर्वप्रथम बधाई छ । लागि कति बजेट ल्याउनु भयो ?
पोख्रेल:  धन्यवाद, करिब साढे ८५ करोड रुपैयाँको बजेट ल्याइयो ।
आवाज : आगामी वर्षका लागि देउमाईको फरक किसिमको बजेट छ भनिन्छ नि ।
पोख्रेल: धेरै त पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । एक दुई कार्यक्रम थपिएका छन् ।
आवाज : तपाईंलाई बजेट मध्ये खुशी लागेको कुरा के हुनसक्छ ?
पोख्रेल : हामीले एकल पुरुषलाई गतवर्ष देखिनै मासिक ३०० रुपैयाँ भत्ता दिने कार्यक्रम राखेका थियौैं । यो वर्ष त्यसलाई निरन्तरता दिंदै देउमाइलाई अपाङ्ग मैत्री घोषणा गरेर अपाङ्गता भएका व्यक्तिलाई पहेंलो कार्डको व्यवस्था गरेका छौं, उनीहरुलाई मासिक ५०० रुपैयाँ भत्ता उपलब्ध गराउने, विवाह नभएका ४५ वर्ष उमेर नाघेका महिलालाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने, तेस्रो लिङ्गीलाई पनि मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने र कोभिडका कारण मृत्यु भएका परिवारलाई क्षतिपूत्र्ति वापत ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ । बाँकी त सडक, विजुली,वत्ती, खानेपानी, कृषि लगायतका विषयहरु पुरानै छन् ।
आवाज : शिक्षा क्षेत्रमा नयाँ के गर्दै हुनुहुन्छ ?
पोख्रेलः यसपटक खान्दु्रङ माविको कक्षा ११–१२ मा विज्ञान विषयको पढाइ शुरु गर्ने तयारी गरेका छौं ।
आवाज : धेरै जस्तो स्थानीय तहमा स्थानीय तहले प्रयोग गर्ने एकल अनुसूची, साझा अनुसूचीका अधिकारहरु केन्द्रलेनै हस्तक्षेप गरेको पाइन्छ, तपाईंहरुकामा कस्तो छ ?
पोख्रेलः संघीयता भनेको छोराछोरीले आफैं कमाएर गरिखाने हो । तर, बाबुआमा सँग छोराछोरीले अंश मागे जस्तै भएको छ । छोराछोरीका लागि बाबुआमाले कति गरे र छोराछोरीले कति कमाए भन्ने हो । आमाबाबुले अंश दिएनन् भनेरमात्र हुँदैन, आफैं पनि गर्नु, अभ्यास गर्दै जाने हो ।

आवाज : शिक्षा स्वास्थ्यमा त संघ र प्रदेशले बजेट पठाउँछ होइन र ?
पोख्रेल: अहिले हाम्रोमा पनि संघमार्फत आएका कार्यक्रम संघ अन्तर्गतका कार्यालयले, प्रदेश अन्तर्गतका कार्यक्रम प्रदेश अन्तर्गतकै कार्यालयले र स्थानीय तहका हामी आफैंले गर्दैछौं, गुनासो गरेका छैनौं । यस्तै हो, सरकार पनि पाँच वर्षको स्थायी भनेको यस्तै हुँदैछ, नेपालको संविधान विश्वमै उत्कृष्ट भनेको त्यो पनि हेरिंदैछ । अभ्यास गर्दै जानु पर्छ ।
आवाज : नयाँ वर्षको बजेटकै कुरा गरौं, ज्येष्ठ नागरिक पनि देउमाई सँग खुशी छन् नि ?
पोख्रेल : ज्येष्ठको त सम्मान गर्नै पर्छ । हामीले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई २००० रुपैयाँ चाडपर्व खर्च प्रदान गरेका छौं । सबै ज्येष्ठ नागरिक परिवार सँग छैनन्, छोराछोरी सँग छैनन् । गरिब, दुखी र एक्लिएका ज्येष्ठ नागरिकलाई चाडपर्व खर्चले ठूलो राहत मिलेको महशुस भएको छ । त्यसबाहेक मृगौला प्रत्यारोपण गरेका पाँच जना व्यक्ति छन्, उनीहरुलाई मासिक ५००० रुपैयाँ निर्वाह भत्ता र मुटु रोगीलाई पनि सहयोग गरेका छौं ।
आवाज : साँच्चै देउमाइको फरक किसिमको बजेट देखिन्छ, तपाईं आफूलाई चाँहि फरक लागेको छैन ?
पोख्रेल: होइन, यहाँको आवश्यकता र यहाँका नागरिकको माग सुझाव अनुसार हामीले काम गरेका छौं । यहाँ मानव संसाधनमा वार्षिक ३ करोड रुपैयाँ खर्च हुन्छ । यो देउमाइकै लागि हो, यहाँका नागरिकका लागि हो । त्यसकारण फरक ठान्नु पर्दैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार