एमाले केन्द्रीय कमिटी बैठक आज, खनाल–नेपाल समूहबाट बहिष्कार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको ९एमाले० का वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आज बस्ने केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने भएको छ ।

बिहीबार नेपाल समूहको बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेको हो । एमाले स्थायी कमिटीका सदस्य रघुजी पन्तले अवैधानिक महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने बताए ।

बुधबार बसेको एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन गरी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

‘१०औं महाधिवेशन आयोजक कमिटी नै अवैधानिक रहेकाले अवैधानिक कमिटीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन सक्दैनौं भन्ने हाम्रो निष्कर्ष हो,’ पन्तले भने ।

पार्टी अध्यक्ष ओलीले एमालेलाई माओवादी केन्द्र–एमाले एकता अघिकै अवस्थामा फर्काउन भन्दै केन्द्रीय कमिटीको बैठक बोलाइएको भए पनि पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएका छन् । २ सय ६४ जनाको महाधिवेशन कमिटीलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गरिएको छ । अध्यक्ष ओली २ जेठ २०७५ मा नफर्किएर आफ्नो पुरानो निर्णय २८ फागुन २०७७ मा फर्किएको आरोप नेपाल समूहको रहेको छ ।

एमाले नेता युवराज ज्ञवालीले महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटीको बैठक अवैधानिक रहेकाले आफूहरू सहभागी नहुने बताए । अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक सर्वसम्मत रूपमा बहिष्कार गर्ने निर्णय भएको बताउँदै उनले यसबीचमा वार्ताको प्रयास जारी नै राख्ने बताए । सहमतिका लागि औपचारिक रूपमा वार्ता समिति गठन गरेर पार्टीभित्रको समस्या समाधानका लागि प्याकेजमै सहमति गर्नुपर्ने निष्कर्ष बैठकको रहेको उनले बताए ।

ओली समूहले केन्द्रीय कमिटीको बैठक बोलाउने र खनाल–नेपाल समूहले बैठक बहिष्कार गर्नेगरी अगाडि बढे पनि दुवै समूहका दोस्रो तहका नेता विवाद मिलाउन आन्तरिक गृहकार्यमा जुटेका छन् । सहमति साथ अगाडि बढ्ने विषयमा छलफल गर्दै उनीहरूले विवाद समाधान गर्न केन्द्रित भएको एमाले स्रोतको दाबी रहेको छ ।

२ जेठ २०७५ मा नफर्की महाधिवेशन आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीका रूपमा रूपान्तरण गरिएकाले केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमसमेत सहभागी नहुने उनी निकट एक नेताले बताए । समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार