लेप्चा भाषा पढाइ शुरु गर्ने तयारीमा रोङ

विद्यालयहरुमा लाप्चा भाषाको पाठ्यक्रमको तयारीको गरिरहेको रोङ गाउँपालिकाले पनि यही वर्षदेखि लाप्चा भाषाको पढाइ सञ्चालन गर्ने तयारी गरेको छ ।
कक्षा १ देखि कक्षा ७ सम्मका सबै विद्यालयमा सबै विद्यार्थीलाई लाप्चा भाषा पढाउने तयारी गरिएको जनाइएको छ । रोङले लाप्चा भाषा शिक्षकको छनौट तयारी थालेको गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईले बताइन् । ‘रोङ लाप्चा भाषाबाटै राखिएको नाम हो, लोपोन्मूख सूचीमा रहेका लाप्चाहरुको बसोबास पनि रहेकाले हामीले लाप्चा भाषा जगेर्नाका लागि स्थानीय पाठ्यक्रममा लाप्चा भाषालाई राखेका हौं ।’ उपाध्यक्ष राईले भनिन् ‘कक्षा – ७ सम्म सबै जातीका विद्यार्थीलाई पढाउने लक्ष्य छ ।’
यता गतवर्ष देखिनै स्थानीय विषयहरु समावेश गरेर कक्षा – ८ सम्मको नयाँ पाठ्यक्रम तयार गरेको सूर्योदय नगरपालिकाले अहिले कक्षा १–५ को पाठ्य पुस्तक लेखन कार्य सकेर सम्पादनको काम गरिरहेको छ ।

   यसै वर्षदेखि परिक्षणका रुपमा स्थानीय पाठ्यक्रम शुरु गर्ने लक्ष्य रहेको नगरपालिका स्थित शिक्षा शाखाका नविन पौड्यालले बताए । पाठ्यक्रममा विभिन्न आठ इकाइ रहेका छन् ।
पाठ्यक्रममा नगरपालिका र स्थानीय सरकार, समाज धर्म र जातजाती, वातावरण र सरसफाई, हाम्रो स्वास्थ्य योगआसन र ध्यान, सुरक्षा र विपद् व्यवस्थापन, नैतिक मुल्य मान्यता र नियम, प्राकृतिक सम्पदा र स्रोत, शान्ति सुरक्षा हाम्रो समुदाय र प्रहरी, तथा हाम्रो पर्यटन विषयमा इकाइ छुट्याइएको छ । पाठ्यक्रम भित्र चिया र अलैंची खेतीको व्यवसायिक विकास, आकाशे पानी संकलन र प्रयोग, होमस्टेलाई आदर्श बसोबासको केन्द्रका रुपमा परिचित गराउने गरि विषयहरु समेटिएको छ । यस्तै नगरसभाको गठन, न्यायिक समितिको भूमिका, दुव्र्यसन नियन्त्रणलगायतका विषय पनि समेटिएको छ ।
नगरपालिका भित्र रहेका ६६ सामुदायिक, ३३ संस्थागत र एक गुठी गरि एक सय विद्यालयमा स्थानीय विषयको पाठ्क्रम र पाठ्यपुस्तक लागू हुनेछ । लोपोन्मूख लाप्चा जाति, लोपोन्मूख जडीबुटी, चिया क्षेत्र, अलैंची, होमस्टे तथा पर्यटन व्यवसाय र अन्य संरक्षणजन्य विषय वस्तुहरुका बारेमा बालबालिकालाई सानै कक्षा देखि जानकारी गराउन आवश्यक रहेकाले पाठ्यक्रम तयार गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।

    स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार गर्न सक्ने व्यवस्था भएसँगै एक सय पूर्णांङ्कको पाठ्यक्रम तयार गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार