इलाम । इलामको सूर्योदय नगरपालिका–४ श्री अन्तुका रुद्र घिमिरेको २ वटा चियाको बगान छ । अन्तुमा पर्यटन व्यवसाय फस्टाएपछि उनी चिया खेती अर्कोलाई लिजमा दिएर पर्यटन व्यवसायमा लागे । कोरोनाको माहामारी शुरु भएपछि पर्यटन व्यवसाय प्राय ठप्प छ । अहिले चिया बगानमा काम हुने मुख्य समय हो । तर रुद्रसंग भने आफ्नै बगान भएपनि चियाको काम भने छैन । उनले भएको तीनवटा बगान तीन वर्षका लागि अरुलाईनै लिजमा दिएकाले काम विहीन भएका हुन् । ‘पर्यटन व्यवसायमा लागेपछि चियाबारी स्याहार्न सम्भव भएन, त्यसैले चिया बगान लिजमा दिएका थियौ’, घिमिरे भन्छन्,‘अब अहिले होमस्टे र होटल बन्द छ, लिजमा दिएपछि चियाको कामपनि छैन ।’
अहिले हरियो पत्ति उत्पादनको मुख्य सिजन हो । चैत अन्तिम सातादेखि हरियो पत्ति उत्पादन शुरु हुन्छ । बर्षायाम शुरु भएपछि हरियो पत्तिको उत्पादन बढ्छ । पत्ति टिप्ने बेलामा पनि छिटो छिटो हुन्छ । त्यसैले चियाबारीमा बढि खटिनुपर्छ ।
अन्तुमा बाह्रमास पर्यटक ओइरो लाग्न थालेपछि धेरैले आफ्नो बारी अरुलाई लिजमा दिएर पर्यटन व्यवसायमा लागेका थिए । अन्तुसम्म सडकको विस्तार भएपछि अन्तुमा बाह्रै महिना पर्यटक पुग्न थालेका थिए । पर्यटकको चाप बढेसंगै मौषमी ब्यवसाय चलाएर बसेका स्थानीयपनि पर्यटन व्यवसायमानै केन्द्रित भएका थिए । तर, १६ महिना यता चलिरहेको कोरोना माहामारीले अन्तुमा पर्यटन व्यवसाय ठप्प छ । सामुदायिक होमस्टेमा देशकै अब्बल मानिएको अन्तुमा ४५ हाराहारी होमस्टे थिए । अन्तुका होमस्टे मात्रै बर्षको तीन करोड ५० लाख रुपैयाँ बढि आम्दानी गर्ने गरेका थिए । अन्तरमा होटल लजको संख्या समेत बढ्दै थियो । होमस्टे र होटल बन्द हुँदा व्यवसायी धारासायी हुँदै गएका छन् ।
अन्तुकै राम घिमिरेको चारवटा चिया बगान छन् । उनले समेत तीनवटै वगान लिजमा दिएका छन् । पर्यटन व्यवसायकै लागि समय नपुगेपछि बगान लिजमा दिएर उनी होमस्टे सञ्चालनमा केन्द्रीत भएका थिए । तर, अहिले हामेस्टे बन्द भएपछि घिमिरे काम विहीन जस्तै बनेका छन् । अन्तु होमस्टे चलाउन थालेपछि दश बाह्र परिवारले चिया बगान लिजमा दिएको स्थानीय रुद्र घिमिरेले बताए । ‘अहिले दश बाह्र परिवारले अरुलाई चियाबारी लिजमा दिने गरेका छन्’, उनले भने,‘सामान्यतया तीन वर्षको लागि चिया लिजमा दिने चलन छ ।’ चिया बगान लिजमा लिनेहरुले बर्षको निश्चित रकम तिरेर, चिया बगानको स्याहार सुसार गर्ने र हरियो पत्ति उत्पादन गरेर विक्री गर्ने गरेका छन् ।
अन्तुका मिलन घिमिरेले पर्यटकलाई घोडामा घुमाउन भनेर महङ्गो दाम हालेर घोडा ल्याएका थिए । ७० हजार भारतीय रुपैयाँमा भारतको बैंग्लोरबाट ल्याएको घोडा काम विहीन भएको छ । ‘ठूलो भएकाले भारी बोकाउन सम्भव हुँदैन, अहिले थलामा त्यसैं घाँस दाना गरेर राखेको छु’, उनले भने । मिलनले पहिलो लहरको कोरोना केही मत्थर भएपछि पर्यटक बोक्ने प्रयोजनको लागि घोडा ल्याएका थिए । घोडा ल्याएको २२ दिन जति उनले काममा लगाए । माहामारीको दोस्रो लहर फैलिएपछि घोडालाई त्यत्तिकै राख्नु परेको उनले सुनाए । ‘दिनमा चार केजी मकै र एक केजी चना खुवाउनुपर्छ, त्यति नदिए घोडा खस्किएला भन्ने पीर हुन्छ’, उनले भने, ‘अब अहिले खर्चको भार मात्रै थपिएको छ ।’