संसद विघटन मुद्दामा बहस सकियो, फैसला एक सातापछि

  आवाज संवाददाता

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्दामा जारी बहस सकिएको छ । एक सातापछि अदलतले फैसला सुनाउने भएकाे छ ।

रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस आज सोमबार सकिएको हो । सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका थिए ।

अब संवैधानिक इजलासले एमिकस क्युरीको राय लिन बाँकी छ । सोमबार दिउँसो साढे २ बजेपछि एमिकस क्युरीको बहस शुरु हुने छ । प्रतिनिधिसभा विघटन मुद्दामा नेपाल बार एशोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एशोसिएसनका तर्फबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन भएका छन् ।

एमिकस क्युरीको रायका लागि २ घण्टा समय तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालगायत न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले असार ९ गतेदेखि पक्ष र विपक्षका वकिलहरूको बहस सुन्न सुरु गरेको थियो ।

जेठको पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्रीका लागि प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुगेको बताएकी थिइन् ।

त्यसपछि मन्त्री परिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन दोस्रो पटकका लागि विघटन भएपछि त्यससँग सम्बन्धित विभिन्न ३० वटा रिट निवेदनहरू सर्वोच्च अदालतमा परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार