संक्रमण सार्वजनिक यातायातले मात्र बढाएको हो कि जस्तो देखिएको छ

  आवाज संवाददाता

कोभिड – १९ को दोस्रो चरणको संक्रमणले बन्दाबन्दी भएको तीन महिना पुग्न लागेको छ । यो समयमा बन्दको असर यातयात क्षेत्रका श्रमिकलाई परेको छ । दैनिक रोजगारी गरेर खर्च चलाउने श्रमिकहरु यातायात बन्द भएपछि हातमुख जोर्ने समस्यामा छन् । सार्वजनिक सवारी साधन बन्द भएपछि यातायात व्यवसायी पनि समस्यामा छन् । कोभिडका कारण यातायात क्षेत्रमा कस्तो असर रहेको छ भन्ने विषयमा पूर्वेली जीप तथा ट्याक्सी प्रालिका अध्यक्ष गृष्म सुब्बासँग गरिएको कुराकानीको अंश:

आवाज : कोभिडले बन्दाबन्दी भएको तीन महिना हुन लाग्यो ? यातायात क्षेत्रको अवस्था कस्तो छ ?

सुब्बा :अवस्था एकदमै नाजुक भएको छ । सार्वजनिक यातायात व्यवसायी र श्रमिकहरु अहिले धेरै अप्ठ्यारो अवस्थामा छौं । अहिलेको अवस्थामा बन्द भनेको कालो नम्बर प्लेट भएका सवारीलाई मात्र लागू भएको छ । अन्य कुनैपनि क्षेत्रलाई बन्दको प्रभाव छैन । अन्य सवारी र बजार, वित्तिय तथा कार्यालयहरु समेत खुल्ला रहेको अवस्था छ । कोभिडको संक्रमण सार्वजनिक यातायातले मात्र बढाएको होकि जस्तो देखिएको छ ।

आवाज : सार्वजनिक सवारी संञ्चालन हुँदा त यात्रुहरु पनि त जोखिममा पर्छन् भन्ने बुझाइ छ, त्यो ठीक होइन र ?

सुब्बा: होइन, अहिले पनि त मालवहाक सवारीमै पनि यात्रुहरुको आवागमन बढेको छ । गाउँ–गाउँबाट मान्छे बजार आउने जाने गरिरहेका छन् । अहिले जिल्लाका हरेक बजारमा मानिसको आवागमन बाक्लिएको छ, त्यो सार्वजनिक यातायातको कारण त होइन । कम्तिमा सर्वसाधारण देखि व्यवसायीहरु समेत सचेत हुनुप¥यो नि । अहिले स्वास्थ्य मापदण्ड पालना समेत नगरेको अवस्था छ । संक्रमण घटेको छैन ।

आवाज : उसो भए सार्वजनिक यातायात संञ्चालन गर्नुपर्छ भन्ने तपाईंको भनाइ हो ?

सुब्बा : अन्य क्षेत्र व्यवसाय खुल्छ भने सार्वजनिक यातायात पनि संञ्चालन गर्नुपर्छ । हामी यातायात व्यवसायी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्छौं । नत्र संक्रमण नियन्त्रणनै गर्ने हो भने यति लामो समय लकडाउन भइ नै सक्यो अब साता पन्ध्र दिन पूर्ण लक डाउन गरौं । हामी जति समस्यामा छौं बरु अझै खप्छौं । कोभिड संक्रमण नियन्त्रणमा एकजुट हुन हामी तयार छौं । नत्र यातायातलाई मात्र बन्देज गर्नुको अर्थ छैन ।

आवाज: यातायात क्षेत्रका व्यवसायीको समस्या एउटा होला, त्यसमा काम गर्ने श्रमिकहरुको अवस्था कस्तो छ ?

सुब्बा: त्यसभन्दा दयनीय हुने अवस्था अरु हुँदैन । इलाममा धेरै व्यक्ति यातायातमा स्वरोजगार छन् । आफ्नै सवारी आफैं चलाउनेको पनि समस्या कम छैन । अझ कर्मचारीका रुपमा रहेका चालक, सह–चालकलाई थोरै पैसा दिएर उनीहरुलाई भात सम्म खाने अवस्था सृजना गरिएको छ । उनीहरुलाई पुग–अपुगको के छ ? व्यवसायीले पनि सोध्ने अवस्था छैन । उनीहरुको घर परिवार, बालबच्चा, विद्यालय खर्च कसरी धान्छन् सोच्न सक्ने अवस्थै छैन । कतिजना त अन्यत्रै लेभर काम पनि गरिरहेका छन् । सरकारलाई तिर्नुपर्ने सवारी साधनको कर तिर्न सक्ने अवस्था छैन । सरकारले बन्दका बेलाको सवारी कर छुट समेत दिएको छैन ।

आवाज:  सवारी साधनको जरिमाना त छुट दिएको छैन र ?

सुब्बा : जरिमाना छुट गर्नुको कुनै अर्थ छैन । यातायात कार्यालयनै बन्द भएको अवस्थामा त्यसबेलाको जरिमाना छुट दिनुले व्यवसायीलाई सहुलियत हुँदैन । यातायात बन्द भएको समयको कर छुट गरिदिएको भए केही राहत मिल्ने थियो । सरकारले पनि नबुझेको अवस्था छ ।

आवाज: व्यवसायीले खासमा कति कर तिर्नुपर्छ ?

सुब्बा :  सवारी साधन हेरेर वार्षिक १२ देखि १४ हजार रुपियाँ तिर्नुपर्छ । सीट संख्याको आधारमा बीमाको १२ देखि १४ हजार, रुट पर्मिटको ६–६ महिनामा गरेर दुई हजार चार सय, हरेक ६ महिनामा जाँच पासको कर र यदि जाँच पास फेल भयो भयो छुट्टै पाँच हजार तिर्नुपर्छ । फेरि अनलाईन मार्फत तिर्ने व्यवस्था पनि छैन । अनि कार्यालय बन्द भएको समयको जरिमाना छुट दिनुले के अर्थ लाग्छ र ? व्यवसायी बन्दमा यातायात नचल्दा त्यसै पनि मार खेपिरहेका छन् । केबाट खर्च उठाएर कर तिर्ने विकल्प छैन । सरकारी करमात्र होइन बैंकको किस्ताले उस्तै समस्या छ ।

आवाज: अब यातायात सञ्चालनमा आउँदा सबै समस्या समाधान हो त ?

सुब्बा:  यातायात व्यवसायीको समस्या तत्काल समाधान हुने होइन । कम्तिमा पनि यातायात चालक र सहचालकलाई सरकारले खोपको व्यवस्था गरोस भन्न हाम्रो मुख्य माग हो । सवारीका कर्मचारी सुरक्षित भएभने यात्रु सुरक्षित हुन्छन् । संक्रमण कम हुन्छ । त्यसकारण बरु कोटा तोकेर भएपनि यातायात क्षेत्रका लागि खोप दिनुपर्छ ।

आवाज: इलाममा कति जति सवारी र त्यसमा काम गर्ने श्रमिक होलान् ?

सुब्बा: गाउँ–गाउँ सम्म चल्ने सवारी समेत गर्दा करिब एक हजार सार्वजनिक सवारीमा ३५ सय चार हजार श्रमिक आश्रित छन् । अहिले यी सबैको रोजीरोटी खोसिएको अवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार