अर्जेन्टिनासँग फाइनल खेल्ने नेयमारको इच्छा

  आवाज संवाददाता

ब्राजिलियन फरवार्ड नेयमारले कोपा अमेरिकाको फाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनाको सामना गर्न चाहेको बताएका छन् ।

ब्राजिलले सोमबार भएको सेमिफाइनलमा पेरुलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । उक्त खेलमा लुकास पाक्वेटाको एकमात्र गोलमा ब्राजिलले १(० को जित दर्ता गरेको थियो । खेलको ३५ औं मिनेटमा नेयमारकै पासमा पाक्वेटाले गोल गरेका थिए । दोस्रो सेमिफाइनलमा मंगलबार अर्जेन्टिना र कोलोम्बियाले प्रतिस्पर्धा गर्दैछन् ।

खेलपछि बोल्दै नेयमारले फाइनलमा अर्जेन्टिनाको सामना गर्न चाहेको बताएका छन् । ‘म अर्जेन्टिनासँग फाइनल खेल्न चाहन्छु । म सेमिफाइनलमा उनीहरुको लागि नै समर्थन गर्नेछु,’ उनले भने, ‘ अर्जेन्टिनामा मेरो साथीहरु छन् । तर फाइनल भने ब्राजिलले नै जित्नेछ ।’

पछिल्लोपटक ब्राजिल र अर्जेन्टिनाले कोपा अमेरिकामा सन् २००७ मा खेलेका थिए । भेनेजुएलामा भएको उक्त प्रतियोगितामा ब्राजिलले ३(० को जित हासिल गरेको थियो ।

यसपटक ब्राजिल र अर्जेन्टिना कोपा अमेरिकामा दुई अपराजित टोली हुन् । यी दुई टोली फाइनल पुगेको अवस्थामा विश्व फुटबलका दुई उत्कृष्ट खेलाडी, नेयमार र लिओनेल मेस्सी आमनेसामने हुनेछन् । दुवैले व्यक्तिगत रुपमा पनि प्रतियोगितामा उच्च प्रदर्शन गरेका छन् । मेस्सीले ४ गोल र ४ असिस्टको योगदान दिँदा नेयमारले २ गोल गर्दै ३ असिस्ट दिएका छन् । हाम्राे खेलकुदबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार