यादव–ठाकुर मिलेर नबस्ने, महतोका कारण ठाकुरलाई तनाब

  आवाज संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर मिल्नै नसक्ने अवस्थामा पुगेका छन् ।

जसपा अब औपचारिक रुपमा विभाजन भएको घोषणा हुन मात्रै बाँकी छ । निर्वाचन आयोगमा समेत यादव र ठाकुर मिल्ने गरेर प्रस्तुत हुन सकेनन् । उनीहरूको हठ बढेर नाकको टुप्पासम्म पुगेको छ ।

यादव र ठाकुरले अब अलग–अलग बाटो पकड्ने पक्का सरह भएको छ । सरकारमा सहभागी हुने वा नहुने विषयमा विवाद हुँदा जसपा फुट्ने अवस्थामा पुगेको हो ।

ठाकुर समूह अटेर गरेर सरकारमा सहभागी भएको यादव समूहको आरोप छ । ठाकुर समूहले यादव समूहलाई पार्टीको निर्णय नमानेको आरोप लगाउँदै आएको छ ।

जसपामा अध्यक्ष यादव बलियो अवस्थामा छ । यादव निकटका नेताहरूले पार्टीमा आफूहरूको बहुमत रहेको बताउने गरेका छन् ।

ठाकुर समूहले पनि बहुमतमा आफू रहेको दाबी गर्ने गरेका छन् । ठाकुर समूह जसपामा कमजोर नै छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा ठाकुर समूहसँग करीव २० जना जति सदस्य मात्रै छन् ।

ठाकुर समूहमा लागेका निवर्तमान सांसद पनि यादव समूहतिर लाग्न थालेका छन् । हालै मात्रै लुम्बिनी प्रदेशमा राज्य मन्त्री बनेकी एकजना सांसद पनि राजीनामा दिएर यादव समूहतिर लागेकी छिन् ।

ठाकुरलाई राजेन्द्र महतोले उचालेका कारण चारैतिरबाट संकटमा पर्दै गएका छन् । महतोका उक्साहटमा लागेका ठाकुरले आफ्नो छविलाई बिगारेका छन् । महतो व्यक्तिगत स्वाथका लागि जे पनि गर्ने नेतामा पर्छन् ।

उपेन्द्र यादवले संविधानको रक्षा र प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध आफूलाई उभ्याएपछि तराई मधेसमा उनको छवि सुधार हुँदै गएको छ । तर, महतोका पुच्छर बनेका कारण ठाकुरको हबिगति दुरावस्थामा पुगेको चर्चा जसपाभित्र छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार