चीनबाट शुक्रबार १० लाख डाेज खाेप आउँदै

  आवाज संवाददाता

काठमाडौं । नेपाल सरकारले चीनसँग कोरोनाविरुद्ध खोप खरिदका लागि गरेको सम्झौता  अन्तर्गत पहिलो चरणमा १० लाख मात्रा भेरोसेल खोप शुक्रबार नेपाल आउँदै छ ।

नेपाल बायुसेवा निगमको फ्लाइट सेड्युल अनुसार आज खोप लिन निगमको जहाज चीन प्रस्थान गर्नेछ । सरकारले चीनबाट भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म चीनबाट मात्रै १८ लाख डोज खोप प्राप्त भैसकेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा। तारानाथ पोखरेलका अनुसार भेरोसेल खोप उमेर समूहको प्राथमिकताका आधारमा लगाइनेछ ।

अबको प्राथमिकतामा ६० वर्षमुनिका नागरिक पर्ने डा। पोखरेलले बताए । कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पर्छन् ।

त्यस्तै, वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीमध्ये दीर्घ रोगी भएका व्यक्ति पनि दोस्रो प्राथमिकताको सूचीमा पर्छन् । ६० वर्षमाथिका केहीले अझै खोपको पहिलो मात्रा नलगाएको भन्दै उनीहरू पनि प्राथमिकतामा पर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार निकट भविष्यमै कोभ्याक्स सुविधाअन्तर्गत जोन्सन एन्ड जोन्सनबाट उत्पादित १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आउनेछ । तर खोप आउने तिथी मिति यकिन भैसकेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले २४ असारबाट खोप आपूर्ति सुरु हुने बताए । त्यसलगत्तै साप्ताहिक रूपमा विभिन्न चरणमार्फत् खोप आपूर्ति हुने उनको भनाइ छ । सरकारले आगामी पुसभित्र सम्पूर्ण नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार