कृषि उपजको निर्यातमा उत्साहजनक प्रगति

अलैचीको ९३ % र चियाको ७१ % निर्यात बढ्यो

  आवाज संवाददाता

अलैंची टिपेर सुकाउने तयारीमा इलाम नगरपालिका – ५ का किसान । फाइल फाेटाे ।

इलाम । कोरोना माहामारी फैलिएपछि मुलुकको अर्थतन्त्र नराम्रोसँग थलिएको छ । आयात निर्यातमा समेत समस्या भइरहेको बेला कृषिजन्य उत्पादनको निर्यात र यसबाट प्राप्त हुने रकममा भने उत्साहजनक प्रगति भएको छ ।

गएको आर्थिक वर्ष २०७६।०७७ को ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७७।०७८ को सोही अवधिमा कृषि उपजको निर्यातमा उल्लेख्य बृद्धि भएको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याङ्क अनुसार नदगेबाली अलैंचीको निकासीमा ९३.९ प्रतिशत, चियाको निकासीमा ७१.२ प्रतिशत र अदुवाको निकासीमा १६ प्रतिशतले बृद्धि भएको छ ।

गएको आर्थिक वर्षकाे शुरु २०७७ को साउन देखि जेठसम्ममा ४३ लाख नौ हजार पाँचसय तीन किलो अलैंची निकासी भएको थियो । यति परिमाणमा अलैंची निकासी हुँदा तीन अर्ब ४६ करोड १० लाख ४२ हजार रुपैयाँ रकम नेपाल भित्रिएको थियो ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा ८४ लाख ४८ हजार नौ सय ३७ किलो अलैंची निकासी भएको छ । यति अलैंची निकासी हुँदा ६ अर्ब ७० करोड ३७ लाख ८० हजार रुपैयाँ रकम प्राप्त भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

मुलुकमा उत्पादन भएको अलैंचीको सवैभन्दा ठूलो हिस्सा भारतमा निकासी भएको देखिन्छ। कुल निकासी मध्ये भारतमा करिव ९९ प्रतिशत र पाकिस्तानमा एक प्रतिशत अलैंची निकासी भएको छ । निकासीको ५.५ प्रतिशत हिस्सा अलैंचीको छ ।

चियाकाे निकासी पनि बढ्याे

अलैंचीपछि निकासीमा उल्लेखनीय सुधार भएको नगदेबाली मध्ये चिया परेको छ । चियाको निकासीमा ७१.२ प्रतिशत बृद्धि भएको छ ।

आव २०७६।०७७ मा ८३ लाख २५ हजार सात सय ८७ किलो तयारी चिया निकासी भएको थियो । चियाको निकासीबाट अघिल्लो वर्ष दुई अर्ब ६ करोड ५३ लाख ६८ हजार रुपैयाँ रकम नेपाल भित्रिएको थियो । यो वर्ष तयारी चियाको निकासी र यसबाट भित्रिने रकममा बृद्धि भएको छ । चालु आर्थिक वर्षको जेठमसान्त सम्ममा एक करोड १० लाख ३६ हजार चार सय ८६ किलो तयारी चिया विदेश निर्यात भएको छ । त्यसबाट तीन अर्ब ५३ करोड ६८ लाख ५७ हजार रुपैयाँ रकम नेपाल भित्रिएको छ । निर्यातमा करिव तीन प्रतिशत हिस्सा रहेको चियाको समेत सवैभन्दा बढि भारतमानै निकासी हुने गरेको छ । भारतमा ८८.९ प्रतिशत र जर्मनीमा ३.६ प्रतिशत रहेको छ । त्यसबाहेक रुस, जापान, चेक रिपब्लिक, अमेरिका, क्यानेडा, फ्रान्स अस्टे्लिट्रेलिया लगायतका देशहरुमा समेत चियाको निकासी हुने गरेको छ ।

अदुवामा पनि सुधार

त्यस्तै अदुवाको निकासीमा समेत आशा लाग्दो सुधार भएको छ । अदुवाको निकासी १६ प्रतिशत बृद्धि भएको छ । आव २०७६।०७७ को ११ महिनाको अवधिमा ७६ लाख ८४ हजार सात सय १६ किलो अदुवा निकासी भएको थियो । त्यसबाट ३६ करोड ५० लाख ८७ हजार रुपैयाँ रकम नेपाल मुलुक भित्रिएको थियो । तर, अहिले अदुवाको निकासी घटेपनि यसबाट प्राप्त हुने रकममा भने बृद्धि भएको छ । चालु आवको जेठसम्म ५५ लाख ७५ हजार तीन सय बाह्र किलो अदुवा निकासी भएको छ । यसबाट ४२ करोड ३४ लाख ३० हजार रुपैयाँ रकम आम्दानी भएको तथ्याङ्कमा उल्लेख छ । अदुवाको निकासी भारतमा करिव ८३ प्रतिशत, जर्मनीमा १३ प्रतिशत, वंगलादेशमा तीन प्रतिशत र अमेरिकामा एक प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार