पूर्वी नाकामा भारतीयलाई कडाइ यथावत्

  आवाज संवाददाता

काँकडभिट्टा । पूर्वी नाकामा भारतीय यात्रीको प्रवेशमा गरिएको कडाइ जारी छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको कोरोना विपद् व्यवस्थापन केन्द्रको वैशाख ८ को निर्णयले भारतीय नागरिक प्रवेशमा कडाइ गरेको थियो ।

निर्णयको करिब अढाई महिना बित्दासमेत कडाइ यथावत् छ । कडाइका कारण भारतीयको आवागमन लगभग ठप्प छ । त्यसअघि भने ७२ घण्टाभित्र गरिएको पीसीआर रिपोर्टका आधारमा भारतीयलाई प्रवेश दिइएको थियो । कोरोनाको दोस्रो लहर बढेपछि मन्त्रिपरिषद्को निर्णयबाटै भारतीयलाई प्रवेशमा रोकिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । ‘संक्रमणको जोखिम अझै कम भएको छैन, त्यही कारण भारतीयको प्रवेशमा कडाइ जारी छ,’ उनले भने ।

प्रशासनले नेपालीलाई समेत पारि ९भारत० जान रोक लगाएको छ । इलाका प्रहरी काँकडभिट्टाका डीएसपी सुनील दाहालका अनुसार स्वास्थ्य उपचारका लागि, भारतीय सेनामा कार्यरत र भारतका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकहरूलाई मात्रै भारत जान दिइएको छ ।

उनीहरूले पीसीआर रिपोर्ट भने अनिवार्य रूपमा देखाउनुपर्ने डीएसपी दाहालले बताए । भारतीय नागरिकलाई भने पीसीआर रिपोर्टसँगै मतदाता परिचयपत्रका आधारमा जान दिइएको छ । प्रहरीका अनुसार असार १ गतेदेखि २३ गतेसम्म १ हजार १ सय ५० जना भारतीय र १ हजार ८० नेपाली सीमा तरेर भारत गएका छन् । यो अवधिमा २ सय २० जना भारतीय नेपाल आएका छन् ।

३ हजार २ सय ३९ नेपाली घर फर्किएका छन् । प्रहरीका अनुसार नेपाल आउने अधिकांश भारतीय जलविद्युत् आयोजनाका कर्मचारी र श्रमिकहरू छन् । केही गैरसरकारी संस्थाका अभियन्ता, भारतीय सेना आदि छन् । उनीहरूलाई गृह मन्त्रालय, प्रशासन कार्यालय र नगरपालिकाको सिफारिसपत्रका आधारमा प्रवेश दिइएको नाकामा खटिएका सुरक्षाकर्मीले जनाए । ‘सिफारिसपत्र नभएका भारतीय नागरिकलाई प्रवेश गर्न पूर्णरूपमा बन्देज गरिएको छ,’ सशस्त्र प्रहरी बलका नायब निरीक्षक नारायण गौतमले भने । कान्तिपुरबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार