एजेन्सी । कोपा अमेरिका कपको उपाधिका लागि आइतबार बिहान साविकको विजेता ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुदैछ । यि दुई टोलीबीचको खेल माराकाना स्टेडियममा नेपाली समयअनुसार आइतबार बिहान ५ः४५ बजे हुनेछ ।
ब्राजिल १०औं तथा अर्जेन्टिना १५औं पटक कोपाको च्याम्पियन बन्ने दाउमा हुनेछ । अर्जेन्टिना च्याम्पियन बन्न सके उरुग्वेको सर्वाधिक कीर्तिमानलाई बराबरी गर्नेछ ।
घरेलु मैदानमा हुने खेलमा ब्राजिल लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई हराउँदै लगातार उपाधि जित्ने लक्ष्यमा हुनेछ । तर अर्जेन्टिनाविरुद्धको खेलमा ब्राजिललाई जित हात पार्न सहज भने हुनेछैन । टोलीसँग स्टार फरवार्ड नेयमारसँगै रोबर्टो फिर्मिनो, क्यासमिरो, रिचार्लीसन, थियागो सिल्भा, मार्किन्हस, एलेक्स सान्द्रो, डानिलो, लुकास पाक्वेटा, एभर्टन, इडर मिलिसाओ, एभर्टन रिवेइरो र गोलरक्षक इडर्सन मोराएस रहेका छन् ।
यता, अर्जेन्टिना पनि घरेलु टोलीलाई हराउँदै सन् १९९३ पछि पहिलोपटक ठुलो प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा मैदानमा उत्रनेछ । तर बलियो ब्राजिलविरुद्ध जित निकाल्न अर्जेन्टिनालाई सहज हुनेछैन ।
ब्राजिललाई हराउँदै च्याम्पियन बन्न सके कप्तान लियोनेल मेस्सीले राष्ट्रिय टोलीबाट पहिलो उपाधिको स्वाद चाख्नेछ । क्लब फुटबलमा सबैखाले उपाधि जितेको मेस्सीले यसअघि चार फाइनल (तीन कोपा र एक विश्वकप) खेलेपनि उपाधि जित्न सकेको छैन । यसपटक फेरि त्यस्तै सुवर्ण अवसर मेस्सीसामु आएको छ ।
टोलीसँग मेस्सीसँगै लोउटारो मार्टिनेज, एन्जल डि मारिया, सर्जियो अगुएरो, लियान्द्रो ड्यानियल पारेडेस, रोड्रिगो डि पल, गुइडो रोड्रिग्वेज, एलेजान्द्रो गोमेज, जियोभानी लो सेल्सो, निकोलस ओटामेन्डी, निकोलस टाग्लियफिको, मार्कोस एकुना, क्रिस्टियन रोमेरो र सेमिफाइनलमा कोलम्वियाविरुद्ध नायक बनेका गोलरक्षक इमिलियानो मार्टिनेज रहेका छन् ।
ब्राजिल १५ नोभेम्वर २०१९ मा अर्जेन्टिनासँग १–० ले पराजित भएयता पछिल्लो १३ खेलमा अपराजित छ । जसमा १२ जित र १ बराबरीको नतिजा छ । यता अर्जेन्टिना पनि २०१९ को कोपामा ब्राजिलसँग २–० ले पराजित भएयता पछिल्लो १९ खेलमा अपराजित छ । यसक्रममा ११ जित र ८ बराबरीको नतिजा छ । हाम्राे खेलकुदबाट ।