बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा

  आवाज संवाददाता

काठमाडौं । बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने विज्ञको सुझाव छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै कारण भइसकेको छ । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ । २० देखि २९ वर्ष उमेर समूहका २७६ जनाको मृत्यु कोरोनाबाट भएको छ ।

प्राप्त तथ्याङ्कले किशोर तथा युवासँगै बालबालिका कोरोनाको उच्च जोखिममा रहेका छन् भन्ने प्रस्ट देखाउँछ । शनिबारको मात्र तथ्याङ्क हेर्ने हो भने १० वर्षसम्मका ५२ जना बालबालिका कोरोना सङ्क्रमित भएका छन् भने ११ वर्षदेखि २० वर्षसम्मका १३० जना कोरोना सङ्क्रमित भएका छन् ।

नेपालमा कोरोनाको पहिलो चरणको सङ्क्रमणमा बालबालिका जोगिएका थिए । दोस्रो भेरियन्टमा बालबालिका सङ्क्रमित र मृत्यु हुने सङ्ख्या बढेपछि चिन्ता बढेको छ । बालबालिकालाई कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक अस्पताललाई कुल शय्याको २० प्रतिशत बालबालिकाका लागि छुट्याउन निर्देशन दिइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी पछिल्ला भेरियन्टमा बालबालिका बढी जोखिममा रहेको बताउँछन् । उनले बालबालिका कोरोनाको उच्च जोखिममा रहेकाले अस्पताललाई २० प्रतिशत शय्या बालबालिकाको उपचारका लागि छुट्याउन यसअघि नै निर्देशन दिइसकेको स्पष्ट पार्छन्।

वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी चौधरीले नेपालमा बालबालिकालाई कोरोनाको जोखिम उच्च रहेको जानकारी दिँदै अहिले पनि देशभर दैनिक सयभन्दा बढी बालबालिका सङ्क्रमणमा परेको बताए । उनले बालबालिकालाई कोरोना सङ्क्रमणबाट जोगाउन अविभावकको महत्वपूर्ण भूमिका रहने भन्दै बाबुआमाले बालबालिकाको स्वास्थ्यबारे ध्यान दिनुपर्ने सुझाव दिए ।

डा. चौधरीले पछिल्लो समय बालबालिकामा कोरोना सङ्क्रमणको महामारी बढिरहेको बताए । यसभन्दा अघि कोरोनाको पहिलो लहरमा नेपालमा खासै बालबालिकामा कोरोनाको सङ्क्रमण बढी थिएन भन्दै डा। चौधरीले भने, “कोरोनाको दोस्रो लहरमा भने बालबालिका तथा युवा बढी सङ्क्रमणमा पर्ने र जटिलता पनि बढी देखिएको छ ।”

कोरोनाको तेस्रो लहरमा बालबालिकामा सङ्क्रमण भयावह हुने भएकाले सावधानी अपनाउनुपर्नेमा उनले जोड दिए । साना–साना बालबालिका आफूले बोलेर के भएको छ भन्नेसमेत बताउन नसक्दा उनीहरूको उपचारमा ढिलाइ हुँदा समस्या हुने उनको भनाइ छ । साना बालबालिकाले मास्क प्रयोग गर्न नमान्ने भएकाले उनीहरूलाई अरूबाट हुने सङ्क्रमणबाट जोगाउन कठिन हुने भन्दै अभिभावकले बालबालिका बचाउन ध्यान दिनुपर्ने बताए ।

डा. चौधरीले कोरोनाको लक्षण देखिनासाथ बालबालिकालाई अस्पताल पुर्याउन सुझाव दिए । अभिभावक चनाखो हुनुपर्ने भन्दै उनले बच्चा अलि ठूलो र बुझ्ने छ भने अभिभावकले कोरोना बारेमा जानकारी दिनुपर्ने बताए । उनले कोरोनाबाट बच्न ठूलो मान्छेमा जस्तै बालबालिकामा पनि मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, समय–समयमा साबुनपानीले हात धुन सिकाउने र धुन लगाउनेजस्ता क्रियाकलाप गर्नुपर्ने बताए ।

बालरोग विशेषज्ञ डा। दिनेश कोइरालाले बालबालिकामा सङ्क्रमण बढिरहेको भन्दै तेस्रो चरणको कोरोनामा झनै डरलाग्दो हुने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । बालबालिकाको उपचार र वयस्कको उपचार फरक हुने भन्दै डा. कोइरालाले सरकारले बालबालिकाको कोरोना उपचारका लागि छुट्टै अस्पताल तोकेर उपचारमा सहजता ल्याउनुपर्ने बताए ।

कोइरालाले सरकारले सातवटै प्रदेशमा बाल अस्पताल बनाउनुपर्ने बताए । उनले सबै प्रदेशमा बाल अस्पताल हुँदा बालबालिकाको उपचारका लागि सहज हुने बताए । सरकारले सातै प्रदेशमा बाल अस्पताल बनाउन पहल गर्नुपर्ने उनको भनाइ छ । समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार