डी मारियाको गोलमा अर्जेन्टिनालाई अग्रता

  आवाज संवाददाता

एजेन्सी । कोपा अमेरिका २०२१ अन्तर्गत फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिलविरुद्ध अग्रता लिएको छ । विंगर एन्जल डी मारियाको गोलमा अर्जेन्टिनाले पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले केहि आक्रमण बुनेपनि गोल गर्न सकेको थिएन । १३ औं मिनेटमा ब्राजिलका रिचार्लीसनको प्रहारलाई डिफेन्डर निकोलस ओटामेन्डीले विफल पारेका थिए । २० औं मिनेटमा नेयमारको प्रहारलाई अर्का डिफेन्डर क्रिस्टियन रोमेरोले रोक्दै ब्राजिलबाट गोलको खतरा टारेका थिए ।

खेलको २२ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । रोड्रीगो डे पलले दिएको लामो पासमा ब्राजिलका रेनान लोडीले राम्रो क्लिअरेन्स गर्न नसक्दा डी मारियाले बलमा नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै गोल गरेका थिए ।

२९ औं मिनेटमा डी मारियानै ब्राजिलका लागि खतरा बने । यसपटक उनको प्रहारलाई थियागो सिल्भाले गोलरक्षकसम्म पुग्न दिएनन् । उक्त रिबाउन्डमा लाउटारोको प्रहारलाई अर्का डिफेन्डर मार्किन्हसले विफल पारेका थिए ।

अर्जेन्टिनाले टोलीमा ५ परिवर्तन गर्दा ब्राजिलले भने कुनै परिवर्तन गरेको छैन । अर्जेन्टिनाले आक्रमणमा एन्जल डी मारियालाई अवसर दिएको छ । उनले लाउटारो मार्टिनेज र कप्तान लिओनेल मेस्सीलाई साथ दिनेछन् । अघिल्लो खेलमा निको गोन्जालेजले सुरुवाती रोजाइमा खेलेका थिए ।

त्यस्तै मिडफिल्डमा लिएन्द्रो पारेडेसले गिदो रोड्रीग्वेजको स्थान लिएका छन् । उनीसँग जिओभानी लो सेल्सो र रोड्रीगो डे पलले खेल्नेछन् । डिफेन्समा मार्कोस अकुना, गोन्जालो मोन्तिएल र क्रिस्टियन रोमेरो टोलीमा आएका छन् । निकोलस ओटामेन्डी नियमित छन् भने गोलरक्षक एमिलियानो मार्टिनेज पनि सुरुवात गर्दैछन् ।

यता ब्राजिलले सेमिफाइनलमा खेलेको टोलीलाई नै फाइनलमा उतारेको छ । गोलरक्षकमा एडरसनले नै निरन्तरता पाउँदा डिफेन्समा रेनान लोडी, थियागो सिल्भा, मर्किन्हस र ड्यानीलो रहेका छन् । रक्षात्मक मिडफिल्डमा क्यासेमिरो र फ्रेड छन् ।

ब्राजिलको आक्रमणको आकर्षणमा स्टार फरवार्ड नेयमार नै रहेका छन् । उनलाई रिचार्लीसन, लुकास पाक्वेटा र एभर्टनले साथ दिनेछन् । फरवार्ड ग्याब्रिएल जेसस प्रतिबन्धका कारण उपलब्ध नहुँदा एभर्टनले अवसर पाएका हुन् । हाम्राे खेलकुदबाट ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार