कांग्रेस महाधिवेशनमा सभापतिकाे आकांक्षी धेरै

  आवाज संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको आसन्न केन्द्रीय महाधिवेशनमा सभापतिका आकाङ्क्षी बढेपछि त्यसलाई व्यवस्थापन गर्न पार्टीभित्रका समूहलाई सकस पर्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई १४औँ महाधिवेशनमा आफ्ना समूहबाट सर्वसम्मत सभापतिमा एक जना उम्मेदवार बनाउन चुनौती चुलिँदै गएको छ ।

विगतमा आफ्नो समूहभित्र एकल नेतृत्व गर्दै आउनुभएका सभापति देउवालाई यसपटक उपसभापति विमलेन्द्र निधिले संस्थापन समूहभित्रै चुनौती दिंदै देउवालाई नछाड्ने घोषणा गरिसकेका छन् ।

अघिल्लो महाधिवेशनमा देउवा आफ्नो समूहका सर्वसम्मत उम्मेदवार हुँदा पहिलो चरणमा विजय हासिल गर्न नसकी निकटतम प्रतिद्वन्द्वी पौडेललाई दोस्रो चरणमा पराजित गरेका थिए । पहिलो चरणमा बहुमत ल्याउन नसके पहिलो र दोस्रो स्पर्धीबीच अर्को चरणको निर्वाचन हुने विधान काँग्रेसमा रहेको छ । पहिलो स्पर्धामा तेस्रो हुनुभएका कृष्णप्रसाद सिटौलाले दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए ।

अघिल्लो महाधिवेशनमा तत्कालीन संस्थापन पक्षको नेतृत्व गर्नुभएका वरिष्ठ नेता पौडेललाई यसपटक सबैभन्दा चुनौती हुने देखिएको छ । यसअघि पौडेललाई नेता मानेका नेता डा। शशाङ्क कोइराला, प्रकाशमान सिंहले यसपटक पौडेल नभई आफूहरू नै उम्मेदवार बन्न लगातार बैठक गर्न थालेका छन् ।

त्यसबाहेक शेखर कोइराला, सुजाता कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायतका नेताले पनि सभापति बन्न आफ्नो समूहभित्र ‘लबिङ’ सुरु गरेपछि समूहभित्रकै व्यवस्थापन फलामको चिउरा भएको छ । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार