संक्रमण बढेपछि झापामा साउनदेखि निषेडधाज्ञा कडाई गरिने

  आवाज संवाददाता

इलाम । निषेधाज्ञा खुकुलो बनाएसँगै झापामा कोरोना संक्रमण र मृत्यु दर बढ्न थालेपछि चिन्ता थपिएको छ ।

निषेधाज्ञा खुकुलो बनाएकै कारण संक्रमण दर बढेको पाइएकोले अब निषेधाज्ञाका बिषयमा पुनर्विचार गर्नुपर्ने माग उठ्न थालेको छ ।निषेधाज्ञा खुकुलो बनाएयता संक्रमण बढेपछि प्रहरी प्रशासनलाई मुख्य चिन्ता थपिएको हो । निषेधाज्ञामा ढिलाई गरेकै कारण संक्रमण बढ्दा त्यसको जिम्मेवारी लिनुपर्ने भएपछि प्रहरी प्रशासनलाई तनाव भएको हो । निषेधाज्ञामा कडाई नगरिँदा कोरोना संक्रमण र मृत्यु दर बढेपछि चिन्ताको बिषय बनेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।‘संक्रमण बढ्दै जाँदा तनाव थपिएको छ’, उनले भने, ‘अब के गर्ने भनेर सोच्ने बेला भएको छ ।’

जिल्ला प्रशासन कार्यालयले असार ३१ मसान्तसम्म निषेधाज्ञालाई खुकुलो बनाएको छ ।त्यसपछि निषेधाज्ञालाई कसरी लागू गर्ने भन्ने विषयमा सोच्ने बेला आएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।‘अब कस्तो नतिजा आउँछ’, उनले भने, ‘त्यो हेरेर हामी निर्णय गर्छौं ।’ यही दरमा संक्रमण दर बढ्दै गएमा आगामी साउन महिनादेखि निषेधाज्ञामा फेरि कडाई गरिने उनले संकेत गरे । काठमाडौं उपत्यका र छिमेकी जिल्ला मोरङ, सुनसरीलाई हेरेर आफूहरुले पनि निषेधाज्ञालाई खुकुलो बनाएको उनले जानकारी दिए ।खुकुलो निषेधाज्ञाका कारण संक्रमण बढेपछि प्रहरी इकाइहरुसँग समन्वय गरेर अनुगमनलाई तिब्रता दिइएको प्रजिअ तिमिल्सिनाको भनाइ छ । ‘हामीले अनुगमनलाई तिब्रता दिएका छौं’, उनले भने, ‘यसबाट पार लागेन भने निषेधाज्ञामा कडाइ हुन्छ ।’झापामा जति निषेधाज्ञा खुकुलो बनाइँदैछ, त्यति धेरै नै कोरोना संक्रमित थपिदै गएका छन् । निषेधाज्ञा खुकुलो बनाएयताको तथ्यांकले कोरोना संक्रमण र मृत्यु दर बढेको देखाएको हो ।

असार १४ गतेयता जिल्ला प्रशासन कार्यालयले पसल, बजार र यातायात संचालनमा अनुमति दिएसँगै मानिसको भीडभाड बढ्न गई संक्रमण र मृत्यु दर फेरि अनियन्त्रित बन्न थालेको छ ।असार १४ देखि २६ गतेसम्मको तथ्याँकलाई जोड्ने हो भने झापामा कोरोना संक्रमणबाट १३ दिनमा ३० जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ हजार ९५९ जना संक्रमित थपिएका छन् । प्रत्येक दिनको आँकडालाई हेर्ने हो भने संक्रमितको प्रत्येक दिन मृत्यु हुने गरेको छ भने संक्रमित दर तेहोरो सँख्यामा रहेको छ ।असार १४ गते २ मृत्यु १८६ संक्रमित, १५ गते ३ मृत्यु १४९ संक्रमित, १६ गते ५ मृत्यु १७७ संक्रमित, १७ गते १७८ संक्रमित, १८ गते १ मृत्यु ११८ संक्रमित, १९ गते १ मृत्यु ५१ संक्रमित, २० गते २ मृत्यु १३२ संक्रमित, २१ गते २ मृत्यु २२९ संक्रमित, २२ गते ३ मृत्यु ११७ संक्रमित, २३ गते ४ मृत्यु २५५ संक्रमित र असार २४ गते ३ मृत्यु १३२ जना संक्रमित भएका छन् । त्यस्तै असार २५ गते ३ मृत्यु १७८ संक्रमित र असार २६ गते एक मृत्यु ५७ संक्रमित थपिएका छन् ।यसरी हेर्दा निषेधाज्ञा खुकुलो पारेसँगै संक्रमण र मृत्यु दर बढ्न थालेको हो ।

कोरोना संक्रमणबाट झापामा ३७५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १७ हजार ५७७ जना संक्रमित भएका छन् । त्यसमध्ये हाल २ हजार २३८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।संक्रमितमध्ये १३ हजार ४५ जना निको भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । देशको बढी कोरोना संक्रमित नौ जिल्लामा झापा पनि परेको छ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई सरकारले संवेदनशील मानेको छ ।जब कि झापामा सक्रिय संक्रमितको सँख्या हाल २ हजार २३८ रहेको छ । त्यस्तै उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका साथै चितवन, रसुवा, कास्की, सुनसरी, मोरङ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार