पत्रकारले कोरोना महामारीका कारण सञ्चार क्षेत्र तहसनहस हुने अवस्थामा पुगेको बताएका छन् । कोरोनाकै कारण सञ्चार संस्थाहरू आर्थिक रूपले जर्जर भएको र पत्रकारको पेसागत सुरक्षा जोखिममा रहेको पत्रकारले बताएका हुन् ।
१ नम्बर प्रदेशस्थित प्रादेशिक सञ्चार प्रतिष्ठानले आइतबार सदरमुकाममा आयोजना गरेको ‘सञ्चार क्षेत्रको समस्या’ विषयक अन्तक्र्रियाका सहभागी पत्रकारले कोरोनालाई कारण देखाएर कतिपय सञ्चार संस्थाले पत्रकारलाई रोजगारीबाटै हटाउनेसम्म गरिरहेको बताए । पत्रकारलाई नियुक्तिपत्र, न्यूनतम् पारिश्रमिक नदिने, कामबाट हटाउने, तलब कटौती गर्ने र रोजगारीभिमुख बनाउनेखालका समस्या आएको पत्रकारको गुनासो छ । कार्यक्रममा महासंघ अध्यक्ष विप्लव भट्टराईले जिल्लाका पत्रकारले कोरोनाबाट प्रत्यक्ष प्रभावित हुनुपरेको भन्दै कतिपय मिडिया बन्दसमेत भएको बताए । ‘जिल्लामा कोरोनाकै कारण कतिपय सञ्चारमाध्यम बन्द भएका छन्, पत्रकारहरूको रोजगारी गुम्दैछ,’ उनले भने, ‘पत्रकारलाई कोरोना खोपको व्यवस्था गर्नुपर्छ र सञ्चामाध्यमलाई सहुलियत प्रदान गर्नुपर्छ ।’ उनले कोरोनाका कारण जिल्लामा १८ पत्रकार संक्रमित भइरहेको र महासंघले पत्रकारका लागि सहयोगको कार्यक्रम सञ्चालन गरिरहेको पनि जनाए ।
महासंघ सचिव भीम चापागाईंले कोरोनाका कारण पत्रकारको रोजगारी नै संकटमा पर्दैगएको बताए । उनले कोरोनाकालमा पत्रकारहरू नियुक्तिपत्र, न्यूनतम् पारिश्रमिकलगायत आधारभूत सुविधाबाटै वञ्चित हुनुपरेको बताए । ‘सहज समयमा पनि मिडियाले पत्रकारलाई नियुक्तिपत्र, न्यूनतम् पारिश्रमिक नदिने, कामबाट बिनाकारण हटाउनेजस्ता काम गरेका छन्,’ उनले भने, ‘कोरोना महामारीमा पत्रकारले सञ्चारमाध्यमका लागि जोखिम मोलेर समाचार र सामग्री उत्पादन गरिरहेका छन् तर यहीबेला उनीहरूको भएको सुविधासमेत कटौती भइरहेको छ ।’ सचिव चापागाईंले सूचना विभागले दिने पत्रकार परिचयपत्र तथा सञ्चारमाध्यम दर्ता÷नवीकरणको सुविधा जिल्लाबाटै पाउने व्यवस्था मिलाउन, पत्रकारको रोजगारी सुनिश्चित गर्न र संकटमा परेका स्थानीय सञ्चार संस्थालाई राहत प्रदान गर्न माग गरे ।
पत्रकारहरू विजयशेखर भट्टराई, सविता पाण्डे, टीका खतिवडालगायतले पत्रकारका समस्याबारे धारणा राखेका थिए । त्यस अवसरमा सहभागी १ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले मन्त्रालयले सञ्चार क्षेत्रको समस्या समाधानमा सघाउने बताए । प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले प्रदेशका पत्रकार र मिडियाको अवस्था, समस्या, कोरोनाको जोखिमलगायत विषयमा छलफल भइरहेको र समाधानका लागि पहल गरिने जनाए । प्रतिष्ठान सदस्य गोपाल काफ्लेले प्रदेशका पत्रकारको समस्या बताउँदै प्रतिष्ठानले गर्नसक्ने सहयोगबारे धारणा राखेका थिए ।
पत्रकार राईलाई सहयोग हस्तान्तरण
त्यस अवसरमा प्रतिष्ठानले इलामका पत्रकार बुद्धवीर राईलाई उपचारमा सहयोग गरेको छ ।
प्रतिष्ठानले कोभिड संक्रमित पत्रकारलाई उपचारमा सहयोग गर्ने कार्यक्रमअन्तर्गत पत्रकार राईलाई महासंघमार्फत् २५ हजार रुपैयाँ प्रदान गरेको हो । कार्यक्रममा मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले महासंघ अध्यक्ष विप्लव भट्टराईलाई चेक हस्तान्तरण गरे । शाखाले पत्रकार राईलाई रकम हस्तान्तरण गर्ने जनाएको छ ।
इलामका १८ पत्रकार संक्रमित
दोस्रो लहरको कोरोनाबाट इलाम शाखाका १८ पत्रकार संक्रमित भएका छन् । ४ पत्रकार सक्रिय संक्रमित रहेको महासंघले जनाएको छ । शाखाले संक्रमित पत्रकारको घर–घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको तथा स्वास्थ्य सामग्री वितरण गरिरहेको शाखा सचिव भीम चापागाईंले बताए । ‘शाखाले जिल्लामा क्रियाशील पत्रकारलाई कोरोनाबाट बचाउन तथा संक्रमित भइहाले उनीहरूको सहयोगका लागि स्रोत जुटाउन राहत कोषमा रकम जुटाइरहेको छ,’ सचिव चापागाईंले भने, ‘संक्रमित पत्रकार रहेकै ठाउँमा पुगेर ढाडस दिने, रोगविरुद्ध लड्न प्रोत्साहित गर्ने, आयुर्वेदिक औषधि तथा अन्य स्वास्थ्य सामग्रीसमेत पु¥याएर मनोबल बढाउने प्रयास गरिरहेका छौं ।’ कोरोनाको जोखिममा रहेका पत्रकारलाई पनि स्वास्थ्य सामग्री वितरण गरिरहेको उनले जनाए ।
महासंघको राहत कोषमा समाजसेवी तारा र रोजु सापकोटाले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । सूर्याेदय नगरपालिका घर भएपनि काठमाडौंमा बसोबास गर्ने सापकोटा दम्पतीले महासंघलाई सहयोग गरेका हुन् । यसअघि पनि शाखालाई सापकोटा दम्पतीले स्वास्थ्य सामग्री सहयोग गरेका थिए । कोषमा शाखाका सदस्य र अन्य दाताबाट रकम संकलन भइरहेको छ । विभिन्न संघ–संस्थाबाट प्राप्त कोरोनाविरुद्धको स्वास्थ्य सामग्री जिल्लामा क्रियाशील डेढ सय हाराहारी पत्रकारलाई वितरण गरिसकेको सचिव चापागाईंले बताए । महासंघ इलाम शाखामा १ सय ७५ सदस्य छन् ।