उच्च अदालतकी कर्मचारीको हत्या प्रहरी असईले गरेको खुलासा

  आवाज सम्वाददाता


इलाम। उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कर्मचारीको हत्या भएको खुलेको छ । उच्च अदालतका मूख्य न्याधिशका गार्ड रहेका प्रहरीका असई युवराज बानियाँले अदालतकी कार्यालय सहयोगी बिमला पराजुलीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले बानियाँलाई सोमबारनै नियन्त्रणमा लिएको छ ।

मूख्य न्यायधिशकै क्वाटरमा बानियाँले हत्या गरेको स्वीकारेको इलामका प्र्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए । आइतबार साँझ क्वाटरमा हत्या गरेर हिँडेका बानियाँले राती आएर क्वाटर बाहिर शव फ्याकेको प्रहरीले जनाएको छ । धनकुटा होली खर्क– ५ घर भई दुई वर्षदेखि मूख्य न्यायधिशको गार्डमा कार्यरत ३५ वर्षीय प्रहरी असई बानियाँ र मृतक पराजुली बीच लामो समयदेखि सम्बन्ध रहेको र आर्थिक लेनदेनको विषयमा झगडा हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी श्रेष्ठले बताए । तर, शव अर्धनग्न अवस्थामा घोप्टो भेटिएकाले बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय इलाममा घटना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एसपी श्रेष्ठले भने, ‘उनले बलात्कार स्वीकारेका छैनन् तर त्यस विषयमा पनि अनुसन्धान गर्छौं ।’

उच्च अदालतकी कार्यालय सहयोगी ४८ वर्षीया विमलादेवी पराजुलीको सोमबार अदालत परिसरमै अर्धनग्न अवस्थामा शव भेटिएको थियो ।

मृतक पराजुलीको मोबाइल र ब्याग कार्यालय भित्रै भटिएको थियो । प्रहरीका अनुसार फोन र ब्याग कार्यालयमै राखेर अदालत परिसरमै रहेको करेसाबारीमा सब्जी टिप्न गएकी पराजुलीलेनै फोन गरेर बानियाँलाई अदालत बोलाएकी थिइन् । अदालतभन्दा बाहिरै परिवारसँग डेरा गरेर बस्ने बानियाँ पराजुलीको फोनपछि अदालतको पछिल्लो भागबाट पर्खाल हुँदै भित्र(अदालत) आएका थिए । मूख्य न्यायधिश बिदामा रहेको र क्वाटरको तालाचाबी बानियाँसँगै रहेकाले त्यसपछि दुवै जना क्वाटरभित्र गएपछि घटना भएको देखिन्छ । क्वाटरभित्र मृतक पराजुलीले बलात्कारको मुद्धा लगाउँछु भनेर निस्कन लागेपछि बानियाँले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीको नियन्त्रणमा रहेका बानियाँले घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

मृतक पराजुलीको कानको टप क्वाटरकाे ढोकामा राखिएको म्याटमा भेटिएको र उनले लगाएको दुई तोलाको सिक्रीसमेत बानियाँको निवासबाट प्रहरीले बरामद गरेको प्रहरीले जनाएकाे छ ।

सुरक्षा घेराभित्र कार्यालय पोशाकमै अदालतकी कर्मचारीको शव अर्धनग्न अवस्थामा भेटिएपछि प्रहरीले तत्काल गम्भीरताका साथ अनुसन्धानलाई अघि बढाएको थियो । प्रदेश कार्यालयबाट डग स्याकिङ्ग टोलीले डग ट्रयाकिङ्ग समेत गरेर सोमबारनै बानियाँलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार