जापानले १६ लाख डाेज खाेप नेपाललाई दिने

  आवाज संवाददाता

काठमाडौँ । जापान सरकारले कोभ्याक्स मार्फत नेपाललाई १६ लाख डोज एस्ट्रेजेनेका खोप उपलब्ध गराउने भएको छ । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै जापानी परराष्ट्रमन्त्री मोतेगी तोसिमित्सुले औपचारिक रुपमा सो घोषणा गरेका हुन् । नेपालले उक्त खोप कहिले प्राप्त गर्छ भन्ने विषयमा भने अहिले टुंगो लागिसकेको छैन ।

काठमाडौंस्थित जापानी दूतावासले टोकियोबाट गरिएको घोषणाको स्वागत गर्दै नेपाली जनताको जीवन जोगाउन खोप महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरिएको छ । राजदूत किकुता यूताकाले दूतावासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरेर यहाँ जारी खोप कार्यक्रमलाई निरन्तरता दिन सहयोग हुने हिसाबमा खोप प्राप्त गर्न सहयोग गर्ने बताएका छन् । नेपालमा एस्ट्रेजेनेका खोपको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकाहरुलाई खोप दिने यो उपयुक्त हुने उनको भनाइ छ ।

जापानले मंगलबार नेपालसहित बंगलादेश, कम्बोडिया, इरान, लाओस र श्रीलंका लगायतका १४ एसियाली देशलाई करिब एक करोड दशलाख डोज खोप सहयोग गर्ने घोषणा गरेको हो । जापानले दुई पक्षीय सम्झौता अनुसार इन्डोनेसिया, ताइवान र भियतनामलाई बिहीबार नै १०(१० लाख डोज खोप निर्यात गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार