इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको दुई करोड बढी डोज खोपको खरिद प्रकृया टुंगो लागेको बताएका छन्।
मंगलबार राष्ट्रको नाममा विदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई करोड बढी डोज खोपको खरिद प्रकृया टुंगो लागेको भन्दै केही महिनामै सबै नेपालीले खोप पाउने आधार तयार भएको बताए।
‘हामी खोपको उत्पादन होइनौं तर छोटो समयमै नागरिकलाई खोपको व्यवस्था गरेका छौं। २०२१ भित्र ठूलो जनसंख्यालाई खोप लगाइसक्ने छौं। केही बाँकी रहला र त्यसलाई पनि लगाउँदै जाने छौं,’ ओलीले भने।
उनले जोनसन एण्ड जोनसनको ५० लाख, मोर्डेनाको ४० लाख, फाइजरको ४० लाख र कोभिसिल्ड ऐस्ट्रेजेनेकाको २० लाख गरी १ करोड ५० लाख डोज खोप सुविधा मूल्यमा प्राप्त भएको जनाए। त्यस्तै बालबालिकालाई लगाउन मिल्ने फाइजरको थप ६० लाख खोप खरिद प्रकृया अगाडि बढेको ओलीले बताए।
स्वास्थ्य मन्त्रालयले पनि डेढ करोड खोप आउन लागेको जानकारी दिएको छ। मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले भनेको अनुसार नै एक करोड ५० लाख खोप आउने मार्ग तयार भएको छ ।
‘एक करोड ५० लाख डोज खोपको खरिद प्रक्रिया सम्झौता भएको छ। बाँकी बच्चाहरूलाई लगाउन ६० लाख डोज खोप खरिदका लागि प्रस्ताव गरिएको छ,’ ती अधिकारीले भने।
आजै मात्र जापानले एस्ट्रेजेनेकाको १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ। सो खोप यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी रहेकाहरूले लगाउन मिल्ने भनिएको छ। झन्डै १३ लाख मानिसले कोभिसिल्डको दोस्रो डोज लगाउन बाँकी छ।
प्रधानमन्त्री ओलीले चीनले हालसम्म १८ लाख खोप अनुदानमा दिएको भन्दै थप चीनले १६ लाख डोज अनुदानमा दिन लागेको जनाए।