काेभिडबाट बच्न पैसा लेनदेन गर्दा सचेत बन्नु पर्ने

  आवाज संवाददाता

इलाम । सरकारले कोभिड–१९ को जोखिम कायमै रहेकाले सुरक्षित भएर व्यापार–व्यवसाय गर्न आग्रह गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै व्यापार–व्यवसाय संचालनमा लागेको प्रतिबन्ध हटे पनि कोरोना जोखिम कायम रहेकाले सावधानी अपनाउन छाड्न नहुने सरकारले बताएको छ ।

कोभिड–१९ भाइरसको संक्रमणबाट आफू जोगिन र अरुलाई जोगाउन आफ्नो व्यवसाय चलाउँदा विशेष ध्यान दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । अन्यथा आफूसँगै अरु पनि कोरोना संक्रमित हुने जोखिम उच्च हुनेछ ।

“व्यापार–व्यवसाय गर्दा दुई मिटरको दूरी कायम गर्नुपर्ने र मास्क लगाइरहनु पर्छ । ग्राहकसँग भौतिक दूरी कायम गर्नुपर्छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “टेवुल वा कुनै सतह छोएपछि स्यानिटाइजर प्रयोग गर्नुपर्छ । पैसाको लेनदेन गरेपछि स्यानिटाइजर प्रयोग गर्ने अथवा सावुनपानीले हात धुनुपर्छ ।”

भिडभाड हुन नदिन भुइँमा रंगीन टेप, रङ् वा चकले गोलो घेरा लगाएर सोही घेराभित्र ग्राहकलाई राखेर पालैपालो पसलमा प्रवेश गराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

हातले धेरै छोइने टेबुल वा सतह दैनिक निसंक्रमण गर्न आग्रह गरेको स्वास्थ्य मन्त्रालयले हावा ओहोरदोहोर हुन दिन आफू कार्यरत कार्यालय, पसल, होटेल, रेष्टुराँको ढोका, झ्याल तथा भेन्टिलेटर खुला राख्नुपर्ने जनाएको छ ।

सम्भव भएसम्म मानिस–मासिनबीचको सम्पर्क कम गर्न अनलाइन भुक्तानी तथा होम डेलिभरीको व्यवस्था गर्न पनि मन्त्रालयको आग्रह छ ।

नेपालमा हालसम्म ६ लाख ६० हजार ७८८ जनामा कोरोना संक्रमण भइसकेको छ भने ९ हजार ४३० संक्रमितको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार