संसद पुनर्थापनासंगै निर्वाचन कार्यतालिका रद्द

  आवाज संवाददाता

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ भएको आदेशानुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ । अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाका लागि आयोगबाट असार २१ गते स्वीकृत निर्वाचन कार्यतालिका रद्द भएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका बनाएको हो। निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न असार ३१ गतेदेखि साउन १५ गतेसम्मको समय दिने तयारी थियो। पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा २० र २१ गते उम्मेदवारी मनोनयन गर्ने तालिका छ भने दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते र कार्तिक १ गते उम्मेदवारी मनोनयनको तालिका बनाइएको थियो।

पहिलो चरणका उम्मेदवारहरुको अन्तिम नामावली र चुनाव चिन्ह असोज २५ गते र दोस्रो चरणका लागि कात्तिक ७ गते उम्मेदवारहरुको अन्तिम नामावली र चुनाव चिन्ह दिने तयारी आयोगले गरेको थियो। सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको थियो।

केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेकामा सर्वोच्च अदालतले त्यसलाई बदर गरी आगामी साउन ३ गतेभित्र प्रतिनिधिसभा बोलाउन आदेश जारी गरेको छ । समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार