भौगालिक हिसाबले मैदान र चुरे पहाड क्षेत्र रहेको इलामको चूलाचुली गाउँपालिकामा विकास निर्माण काम गर्न पनि निकै कठिन छ । सदरमुकामबाट झापा भएर मात्र पुग्न सकिने चूलाचुली गाउँपालिकामा त्यहाँको स्थानीय तहले कसरी काम गर्दैछ । गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईसँग गरिएको कुराकानीको अंश:
स्थानीय तहमा तपाईं आएपछि गाउँपालिकामा के परिवर्तन गर्नुभयो ?
हामीले स्थानीय तहको निर्वाचनका लागि भोट माग्दै हिंड्ने क्रममा धेरै गाउँ–टोलमा पुग्न बाटो खोज्दै हिंड्ने अवस्था थियो । अहिले गाउँपालिकाका सबै वडामा ग्राभेल बाटो निर्माण भएको छ । वडा कार्यालय भवन, स्वास्थ्य चौकी भवन सबै वडामा निर्माण भएको छ । गाउँपालिकाको नयाँ भवन निर्माण भएको छ । त्यसरी हेर्दा पूर्वाधार निर्माणमा हामीले धेरै समय खर्च गरेका छौं ।
चुलाचुली गाउँपालिका त भौगोलिक हिसाबले अन्य स्थानीय तह भन्दा फरक छ, कसरी काम गर्दैहुनुहुन्छ ?
चुलाचुली इलाम जिल्ला भित्र भएपनि यहाँ आइपुग्नेले यो त झापा हो कि भन्ने महशुस गर्ने गरेका छन् । यहाँको धेरै भूमि मैदान र चुरे पहाड पनि छ । मैदान क्षेत्रमा त काम गर्न सहज छ, तर चुरे पहाडमा बाटो खन्न पनि मुस्किल छ । विशेष गरि वडा नम्बर – ६ मा पर्ने साविकको साकफारा गाविस क्षेत्रलाई विकास सँग जोड्न निकै कठिन भएको छ । यहाँ अझै सबै घरमा विजुली वत्ती पु¥याउन सकिएको छैन, अहिले पनि पोल गाड्ने, तार तान्ने काम हुँदैछ । तैपनि समग्रमा हाम्रो गाउँपालिकामा स्थानीय तह हुन अघि ३३ प्रतिशतमात्र विजुली बलेको थियो, अहिले सम्ममा हामीले ९० प्रतिशत घरधुरीमा बिजुली वत्ती पु¥याउने काम गरेका छौं ।
यसपटकको बजेटमा प्राथमिकतामा के छ ?
हामीले कृषि क्षेत्रलाई प्राथमिकता दिएका छौं । त्यसपछि अन्य क्षेत्रलाई क्रमशः राखेका छौं । कोभिडका कारण पनि गाउँमै रोजगारीको व्यवस्था गर्न पनि कृषिलाई प्राथमिकता दिनुपर्ने अवस्था छ । अझ चुलाचुली खाद्यान्न उत्पादन, तरकारी उत्पादन र पशुपालनमा निकै माथि पुगेको छ । खाद्यान्नलाई जोनका रुपमा अगाडि लाने उद्देश्य छ । यहाँ धान, मकै, गहुँ राम्रो उत्पादन हुन्छ । हाम्रो अर्को अर्गानिक अभियान पनि छ । त्यसलाई अगाडि बढाउन सक्दा राम्रो अवसर छ । अन्य पशुपालन र तरकारी उत्पादनका लागि पनि झापाका बजार नजिक भएका कारण किसानलाई आयआर्जनमा सहज हुन्छ भन्ने हाम्रो ठम्याई छ ।
चुलाचुली त दुर्गम भएकै कारण पनि स्वास्थ्य र शिक्षा क्षेत्रमा पछाडि छ भनिन्छ नि ?
पहिला त यहाँका सर्वसाधारणले स्वास्थ्य संस्था जान कि त झापा नै जानु पथ्र्यो, कि त दानाबारी । अहिले सबै वडामा स्वास्थ्य चौकी निर्माण भएका छन् । वडा नम्बर २ र ३ मा महिलाहरुका लागि वर्थिङ सेन्टर निर्माण भएको छ । यो वर्ष अन्य वडामा पनि वर्थिङ सेन्टर स्थापना गर्ने लक्ष्य छ । शिक्षाका लागि यहाँका कुनै पनि विद्यालयलाई भवन अभाव छैन । अहिले धेरै सुधार भएको अवस्था छ ।
चुलाचुलीमा भूमिहीनहरुको बसोबास पनि थियो अहिले भूमिहीनको अस्था कस्तो छ ?
पहिला यो क्षेत्रमा सबै भूमिहीन थिए । ०६४ सालमा सरकारले प्रायः सबैलाई लाजपुर्जा थमायो । त्यसबेला छुटेका केही परिवार छन् । अहिलेको मुख्य समस्या अव्यवस्थित बसोबास छ । साकफारा क्षेत्रमा करिब पाँच सय परिवार अव्यवस्थित ढंगले बसोबास गरिरहेका छन् भने भूमिहीन दलितहरु पनि छन् । अब यीहरुलाई व्यवस्थित गर्न हामी लागेका छौं । भूमि सम्बन्धी आयोगले पनि काम गर्दैछ ।
प्रदेश सरकार र संघीय सरकार सँगको सम्बन्ध कस्तो छ ?
हाम्रो त धेरै राम्रो छ । प्रदेश र संघबाट आएको योजनाको काम राम्ररी भएको छ । माथिकै कार्यक्रम अन्तर्गत पर्यटन सम्बन्धी काम भएको छ । पुलपुलेसा, सिंचाई आयोजना, खानेपानीलगायतका धेरै आयोजनाको काम भएको छ । अलिकति समस्या राजश्व बाँडफाटको भयो । त्यस वापत आउने रकम चाँहि आएन ।
गाउँपालिकामा भइरहेका विभिन्न योजनाका काम मध्ये तपाईं केमा समस्या देख्नु हुन्छ ?
समस्या चाँहि यो सुरक्षित आवासको कार्यक्रममा छ । फुसको छानो हटाउने भन्दै टीन लगाउन गरिबलाई ५० हजार दिइएको छ । तर, सरकारको दररेट र बजार मुल्य विलकुल मिल्दैन । गरिबले ५० हजार रुपियाँमा घर बनाउन सकेको अवस्था छैन ।
तपाईंले आफ्नो पालामा आफूलाई लागेको सबैभन्दा उदारणीय काम के ठान्नु हुन्छ ?
हामीले हाम्रौ गाउँपालिकालाई बालमैत्री, शुसासन युक्त गाउँपालिका निर्माण गर्न लागेका छौं । यो अस्ति चैतमै बालमैत्री घोषणाको कार्यक्रम थियो । कोभिडका कारण हुन सकेन । बालमैत्री शुसासन युक्त बनाउन सबै मापदण्ड पुरा गरेको र गर्ने प्रयासमा छौं । यदि यो घोषणा गर्न सकियो भने ठूलो उपलब्धी हुन्छ जस्तो लागेको छ ।