इलाम। सरकारले संवैधानिक निकायमा नियुक्तको सिफारिसमा परेका व्यक्तिहरूले ९ बजे शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको सदस्यमा सिफारिस भएका डा सूर्य ढुंगेलले आफूलाई शपथ ग्रहणका लागि ९ बजे नै बोलाइएको जानकारी दिए ।
संवैधानिक निकायमा नियुक्तको सिफारिस गरिएका पदाधिकारीलाई शपथ कहाँ खुवाउने भन्ने विषयमा राष्ट्रपति कार्यालयमा मंगलबार दिउँसो विवाद उत्पन्न भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट शपथ दिलाउने भएपछि सर्वोच्च अदालतमै शपथ खुवाउनुपर्ने तर्क राष्ट्रपतिका सल्लाहकारले राखेका थिए ।
राति अबेरसम्म कहाँ सपथ खुवाउने भन्ने निर्णय भएको थिएन । ‘हामीले तिनलाई सर्वोच्च अदालतकै हलमा शपथ खुवाउनु उपयुक्त हुन्छ भन्ने सुझाएका थियौं’ राष्ट्रपतिका एक सल्लाहकारले भने,‘संवैधानिक अंगका पदाधिकारीहरुलाई राष्ट्रपतिले शपथ खुवाउने होइन, प्रधानन्यायाधीशले शपथ खुवाउने भएपछि किन राष्ट्रपति कार्यालयमा गर्ने भन्ने हाम्रो धारणा थियो ।’
ती सल्लाहकारले बुधबार बिहान राष्ट्रपति कार्यालयमै शपथ खाने विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । ती सल्लाहकारले भने,‘हामीलाई जानकारी दिइनुपर्थ्यो, कुनै जानकारी आएको छैन ।’ यसअघि न्यायपरिषद्का सदस्यहरुलाई प्रधानन्यायाधीशले सर्वोच्च अदालतमै शपथ खुवाएका थिए ।
प्रतिनिधि सभा विघटन भएपछि अख्तियारदेखि मानवअधिकार आयोगसम्म नियुक्त भएका पदाधिकारीको सुनुवाइ भने हुन सकेको छैन । सुनुवाइ नभएपछि सरकारले निर्णय गरेको ४५ दिनपछि स्वतः नियुक्त हुने व्यवस्था छ ।सोही व्यवस्था अनुसार सरकारले संवैधानिक निकायमा नियुक्त भएकाहरुलाई शपथ खुवाएर खटाउने तयारी गरेको हो । ईकागजाबाट