जनकपुर-जयनगर रेल्वे सञ्चालनका लागि भाेलि अन्तिम परीक्षण

  आवाज संवाददाता

जनकपुर । जनकपुर-जयनगर ब्रोडगेज रेल्वे सञ्चालनका लागि आइतबार गरिने अन्तिम परीक्षणको तयारी पुरा भएको छ ।

जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म भारतीय रेल्वेका चालक दल र अन्य प्राविधिकहरूले प्रतिघण्टा १ सय २० को गतिले रेल्वे लिकको भौतिक अवस्थाको परीक्षण गर्ने कार्यका लागि तयारी पुरा भएको नेपाल रेल विभागका इन्जिनियर विनोद ओझाले जानकारी दिनुभयो ।भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको जनकपुरधामको कुर्था रेल्वे स्टेसनदेखि भारतको जयनगरसम्म रेल लिकको परीक्षण हुने भएकाले आइतबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म रेल्वे लिकमा आवतजावत नगर्न सर्वसाधारणमा रेल विभागले आग्रह गरेको छ ।

निर्माण भएको रेल्वे लिकको विगत दुईरतीन दिनदेखि नै क्याम्पिङ मेसिनद्वारा सरसफाइ गर्ने काम भएको र आइतबार बिहान १० बजे देखि ४ बजेसम्म ठाउँ ठाउँमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् रेल्वेका कर्मचारी परिचालन गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।भारतीय रेल विभागका कर्मचारीहरूले नव निर्मित संरचनाहरूमा १२० प्रतिघण्टाको दरले रेल गुडाएर परीक्षण गरेपछि नेपाल सरकारले खरिद गरेको दुई वटा रेल सञ्चालन गर्नका लागि अनुमति दिने भएको छ ।

परीक्षणका क्रममा रेल्वेको लिकमा कमी कमजोरी पाइएको खण्डमा परीक्षणपछि पुनः सच्याइने र कमी कमजोरी नभएको खण्डमा भारतीय रेल्वेले नेपालमा रेल सञ्चालनका लागि प्रमाणपत्र प्रदान गर्ने छ । प्रमाण पत्र पाएसँगै नेपालको रेल नियमित रुपमा सञ्चालन गर्न मिल्ने पनि रेल्वे विभागले जनाएको छ ।भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भारतको जयनगरदेखि जनकपुरधाम उपमहानगरपालिकाको कुर्थासम्म ३५ किलोमिटरमा रेल सञ्चालनका लागि सबै पूर्वाधारहरूको तयारी भएको छ ।

भारत सरकारको सहयोगमा करिब १० अर्बको लागतमा रेलको भौतिक संरचनाको निर्माण, विकास एवं विस्तार गर्ने काम भएको छ ।नेपाल सरकारले रेल सञ्चालन गर्नका लागि गत वर्ष नै नेपालको झन्डा तथा सोही रङ्गको दुई वटा इन्जिन सहितको यात्री डब्बा खरिद गरेर ल्याइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार