इलाम । इलामको विकास निर्माणको लागि विनियोजन भएको एक अर्ब ७१ रकोडभन्दा बढि रकम खर्च हुन नसकेर फिर्ता भएको छ ।
संघीय सरकार र एक नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७७।०७८ मा इलामका लागि दश अर्ब ५५ करोड ७४ लाख ३५ हजार चार सय ९१ रुपैयाँ रकम निकासा गरेको थियो । त्यसमध्ये आठ अर्ब ८४ करोड १८ हजार पाँच सय २५ रुपैयाँ मात्रै खर्च भएको छ । बाँकी रहेको एक अर्ब ७१ करोड ७४ लाख १६ हजार नौ सय ६६ रुपैयाँ रकम खर्च हुन नसकेर संघ र प्रदेशमानै फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय इलामले जानकारी दिएको छ । विनियोजित रकमको करिव १६ प्रतिशत रकम फिर्ता भएको छ । कुल विनियोजन भएको बजेटको ८३.७३ प्रतिशत रकम मात्रै खर्च भएको छ ।
आर्थिक वर्र्ष २०७६।०७७ मा एक अर्ब ४० करोड ८६ लाख ४५ हजार छ सय ९५ रुपैयाँ रकम फिर्ता भएको थियो । दुवै सरकारको तर्फबाट नौ अर्ब ४४ करोड, २९ लाख ७६ हजार दुईसय तेह्र रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसमध्ये आठ अर्ब तीन करोड ४३ लाख ३० हजार पाँच सय ८१ रुपैयाँ रकम खर्च भएको थियो ।
इलाममा संघीय सरकारको भन्दा प्रदेश सरकारको बजेट कार्यान्वयन राम्रो देखिन्छ । संघीय सरकारले नौ अर्ब २२ करोड ४७ लाख ४७ हजार चार सय ९१ रुपैयाँ निकासा भएको थियो । त्यस मध्ये सात अर्ब ६७ करोड ९७ लाख ६५ हजार आठ सय ५१ रुपैयाँ बजेट खर्च भएको छ । संघीय सरकारको एक अर्ब ५४ करोड ४९ लाख ८१ हजार ६ सय ४० रुपैयाँ रकम फिर्ता भएको हो । संघीय सरकार अन्तर्गत पूर्वधार विकासको काम गर्ने कार्यालयहरुलेनै बजेट खर्च गर्न सकेनन् ।
सडक डिभिजन कार्यालयले निकासा भएको रकमको ६ं० प्रतिशत मात्रै खर्च गरेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ८५ प्रतिशत रकम र भेडेटार रबि राँके सडक आयोजनाले निकासा भएको रकमको ४५ प्रतिशत मात्रै खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) ले जनाएको छ ।
इलाममा प्रदेश सरकारको ८७ प्रतिशत खर्च भएको छ भने संघीय सरकारको भने ८३ प्रतिशत खर्च भएको तथ्याङ्क छ । एक नम्बर प्रदेश सरकारबाट एक अर्ब ३३ करोड २६लाख ८८ हजार रुपैयाँ निकासा भएको थियो । त्यस मध्ये एक अर्ब १६ करोड दुई लाख रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । प्रदेश मार्फत निकासा भएको १७ करोड १४ लाख १६हजार नौ सय ६६ रुपैयाँ फिर्ता भएको छ । प्रदेश सरकार अन्तर्गतको शहरी विकास तथा भवन कार्यालले ७९ प्रतिशत बजेट खर्च गरेको छ । जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयले करिव ८८ प्रतिशत रकम खर्च गरेको छ ।