किशोरी आमाहरुलाई आपतै आपत

इलाम । इलाममा बाल विवाह भएको तथ्याकं कतै पनि भेटिंदैन । बाल विवाहको घटना ठोकिने जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतमा पनि अहिले सम्म बाल विवाहको घटना मुद्दाको रुपमा दर्ता भएको पाइंदैन । तर, इलामका गाउँ–गाउँमा बाल विवाह हुन्छ भन्ने विषय किशोरी आमाको तथ्याकं र उनीहरुले भोगेका समस्यालाई हेर्दा प्रमाणित हुन्छ ।

त्यसोत, अहिले १७ वर्षीया एक बालिका १८ महिने छोरीसँग अहिले इलाम सदरमुकाममा छन् । सदरमुकाम आएर बसेको करिब १५ दिनको बसाई ती बालिकाका लागि स्वर्ग जस्तै भएको छ ।
१४ वर्षकै उमेरमा फुपु फुपाजुद्धारा ४५ वर्षीय एक पुरुष सँग जबरजस्ती विवाह गर्न बाध्य बनाएर पठाइएकी ती बालिकाको कथानै बेग्लै छ । ‘मलाई थाह हुँदा म विर्तामोडमा अरु कसैको सहारामा रहेछु । कक्षा सातमा पढ्दै बोडिङ स्कूल थिएं । त्यो घरको नानीले जे सुकै आफू चोरेर खाने र मलाई लगाउने गथ्र्यो, अनि बाबु–आमाले मलाइ कुट्ने गर्थे, त्यो कुटाइ सहन नसकेर मर्नका लागि मट्टितेल खाँए ।’ बालिकाले भनिन् ‘त्यसपछि बिरामी भएछु उपचार गरेर ल्याए । निको भएपछि तं हाम्रो छोरी होइनस्, तेरो बाबु फलाना हुन्, तेरी आमाले छोडेर अर्कै सँग विहे गरेपछि तंलाई १६–१७ महिनाकी हुँदा हामीले ल्याएर पालेको हो । अब तेरो बाबु सँगै जा ।’

बु खेज्दै घर फर्किएकी बालिका भन्छिन् ‘बुवा र म मात्र घरमा थियौं, तिहारको टिका लगाउन बुवा साँहिली फुपुकामा जाने हुनुभयो । मलाई पनि सँगै लानुभयो । बेलुका फुपाजुले मेरो मुख थुने, हातखुटट थिचेर बलात्कार गरे । बलात्कार पछि महिनावारी रोकियो, एक महिना पछि फुपुले एउटा दबाइ दिइन् । त्यसपछि गाउँमा हल्ला चलेछ, गाउँलेले तीनै फुपाजुको जिम्मा लगाएर मलाइ पठाए ।’

साहिंला फुपाजु र फुपु सँग गएकी यी बालिकालाई दुईवर्ष अघि अन्दाजी ४३ वर्षीय अर्का एक पुरुष सँग पठाइयो । अन्ततः त्यही पुरुषलाई बालिकाले पति स्वीकार गर्नु प¥यो । अहिले उनी सँग छोरी पनि छन् ।
सधैैं मदिरा सेवन गर्ने र बेलुका घर आएर कुटपिट गर्ने पीडा सहन नसकेर छोरी लिएर आफ्नै बाबुको सहारामा माइती घरमै गएकी यी बालिकालाई मानव अधिकार मञ्च नेपाल इलामले केही दिन अघि उद्दार गरेको छ । मञ्चद्धारा सञ्चालित बाल हेल्पलाईनको फोनमा यी बालिकाले फोन गरेर आफ्नो पीडा सुनाएपछि उनको उद्दार गरिएको बाल हेल्पलाईनका संयोजक भक्त थामीले बताए । ‘अहिले हाम्रो संस्थाको सेफ हाउसमै राखेका छौं । उनको मुद्दालाई कसरी अघि बढाउने र अब के गर्ने भन्ने विषयमा संस्थागत ढंगले छलफल गरिरहेका छौं ।’ थामीले भने ।

दश वर्ष अघि १४ वर्षकै उमेरमा भागेर विवाह गरेकी इलामकै अर्की एक महिला अहिले २४ वर्षकी भएकी छन् । उनका १२ वर्षको एक छोरा ७ वर्षका जुम्ल्याहा गरि तीन जना छोरा छोरी छन् । पतिले मदिरा सेवन गरि रातदिन कुटपिट गर्ने र छोराछोरीलाई समेत खान नदिने भएपछि उनी जुम्ल्याहा छोराछोरी लिएर माइती घरमै बस्दैछिन् । ‘नत बाहिर काम गर्न जान दिन्छ, नत बेलुका खाने कुरा ल्याउँछ, नानीहरु भोकले रुनथालेपछि म माथि कुटपिट गर्न थाल्छ । पीडा सहन नसके पछि दुई छोराछोरी लिएर एक्लै बस्दैछु, ठूलो छोरो उस्कै बाबुसँग बस्दैछ ।’ उनले भनिन् ‘सानैमा नजानेर विवाह गरियो, अब दुःख पाएपछि उ सँग बस्न सक्ने अवस्था छैन, सम्बन्ध विच्छेद गर्ने प्रक्रियामा छु ।’

 दुई जना त सानै उमेरमा विवाह गरेर आमा भइसकेपछि पतिबाटै पीडित भएका प्रतिनिधि पात्रमात्र हुन् । कानूनी रुपमा विवाह गर्नै नहुने उमेर समुहका बालिका आमाहरुको संख्या जिल्लामा निकै छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याकं अनुसार २० वर्ष मुनिका गर्भवती किशोरीको संख्या आर्थिक वर्ष ०७७÷०७८ को जेठ मसान्त सम्म ४५२ रहेको छ । अघिल्लो आर्थिक वर्ष ०७६÷०७७ मा यो संख्या ६५६ थियो । चालू आर्थिक वर्षको असार महिनाको पनि तथ्याकं आउँदा अघिल्लो वर्षकै हाराहारीमा किशोरी गर्भवतीको संख्या पुग्ने अनुमान रहेको कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितले बताए ।
तर,कानूनी रुपमा २० वर्ष भन्दा कम उमेरका किशोरीले विवाह गर्न पाउँदैनन् । मुलुकी अपराध संहिता–२०७४ को दफा १७३ मा २० वर्ष उमेर नपुगी बिहे गर्नु÷गराउनुलाई बालविवाहको अपराध मानिएको छ । यसरी गरिएको बालविवाह बदर हुने, बालविवाह गर्ने÷गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमानाको व्यवस्थासमेत छ ।

उमेर नपुगि विवाह गर्ने र आमा बन्ने किशोरीको संख्या उल्लेख्य भएपनि जिल्ला अदालतमा अहिले सम्म बाल विवाह सम्बन्धी मुद्दा भने दर्ता भएकै छैन । ‘यहाँ दर्ता हुन आउने मुद्दाहरु बलात्कार शीर्षकमै आउँछन् । बाल विवाहको अहिले सम्म आएकै छैन ।’ जिल्ला अदालतका श्रेस्तेदार फडिन्द्र भट्टराई भन्छन् ‘बाल विवाहका मुद्दा नआउनु आश्चर्य नै छ । तर पछि धेरै मुद्दाहरु सम्बन्ध विच्छेदमा परिणत भएको देखिन्छ ।’

जिल्लामा २० वर्ष उमेर नपुग्दै विवाह गर्नेको संख्या हेर्दा बाल विवाह भएकै छैन भन्ने नभएको उच्च अदालत बार एशोसिएसन इलामका अध्यक्ष वीरबहादुर खड्का बताउँछन् । ‘अहिले सम्मको घटना क्रमको स्थिति हेर्दा १८ वर्ष मुनिका बालिकाले विवाह गरेका छन् भने जबरजस्ती करणीमा मुद्दा चलेको देखिन्छ । कि त २० वर्ष पुगेपछि विवाह दर्ता गरेर सम्बन्ध विच्छेद भएको पनि देखिन्छ ।’ अध्यक्ष खड्का भन्छन् ‘सानै उमेरमा विवाह गर्नेको अवस्था भयावह छ ।’ २० वर्ष उमेर नपुगि जन्मिएका बच्चाहरु जन्म दर्ता भने हुने गरेको खड्काको भनाइ छ । ‘विवाह दर्ता हुँदैन, तर बालकको जन्मदर्ताको अधिकार चाँहि हनन् भएको छैन, उनीहरुको जन्मदर्ता भइरहेको छ ।’ खड्काले भने ‘उमेर नपुगि विवाह गर्दा र गराउँदा पनि कार्वाही भोग्नु पर्ने भएकाले पनि खुलेर बाल विवाहको मुद्दा नआएको हुनसक्छ । तर, उमेर नपुगि गरेको विवाह धेरै जसो समस्या ग्रस्त बनेको पाइन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार