काँकडभिट्टा । किरात भाषा र साहित्यका ज्ञाता नवल फाइवालीको मंगलबार निधन भएको छ । उच्च रक्तचापका बिरामी ७८ वर्षीय उनको कोरोना संक्रमणबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
मोरङको सिंहदेवी गाविसमा जन्मिएर झापालाई कर्म क्षेत्र बनाएका फाइवाली चार दशकदेखि साहित्यिक सिर्जनामा अनवरत सक्रिय थिए । खासगरी किरात भाषा र साहित्यको विकासमा फाइवालीको कलम चलायमान थियो ।
‘अहिले किरात भाषा संकटग्रस्त बनेको स्थिति छ’, अर्जुनधारास्थित निवासमा केही समयअघिको भेटमा उनले भनेका थिए,‘त्यसको पुनःउत्थानका लागि लागिरहेको छु, हेरौं कहिलेसम्म सफल बन्छु ।’ फाइवाली किरात भाषा पुनःउत्थानका काम अधुरै छाडेर सदाका लागि अस्ताएका हुन् ।
तीनताका लिम्बुको छोराको पहिलो रोजाइ सेनाको जागिर हुन्थ्यो । तर, यिनलाई लाहुरप्रति खासै मोह भएन । ‘घरमा बुबाआमाको सपना पनि लाहुरे होस् भन्ने नै थियो’, उनले भनेका थिए, ‘तर, आमा बुबाको सपनालाई तुषारापात गर्दै साहित्यमा लागें ।’ यिनी स्कुले उमेरदेखि नै कविताका अम्मली बनिसकेका थिए ।
आधुनिक पुस्ताले किरात भाषाबारे सायदै थाहा होला । तन्नेरी पुस्ताले बेवास्ता गरिरहँदा फाइवालीले भने पाको जोश र जाँगरलाई यसैको उत्थानमा खर्चिए । ‘हाम्रो भाषा नाजुक बन्दै गएको छ’, यिनी सधैं चिन्तित बन्थे, ‘युवा पुस्ताले भाषा बिर्सन थालेका छन् बिर्सनु नदिने मेरो अभियान हो ।’
यिनको व्यक्तिगत विश्लेषणलाई आधार मान्ने हो भने किरात र लिम्बु भाषाको दायरा अचेल साँघुरिँदै गएको छ । बुढा पाकाहरुमा मात्रै सीमित बन्दै गएको किरात भाषा र लिपिको प्रवर्द्धनमा यिनी युवा जोसका साथ लागेका थिए । ‘यसको संरक्षण ज्यादै चुनौतीपूर्ण छ’, उनी भन्थे ।
फाइवालीले ‘अन्यायको हार’ नामको कृति २०३६ सालतिर प्रकाशित भएको थियो । त्यसपछि संक्षिप्त खस लिम्बु शब्दकोश ९२०४९०, किरात ऐतिहासिक सवाइ९२०५००, मुक्पान सुम्९लिम्बु उखान, २०६१०लगायतका करिब दर्जन कृति प्रकाशित गरे । ‘नेपाली पुस्तकका पाठक पाउन धौधौ हुन्छ’, लिम्बु भाषा साहित्य प्रतिष्ठानका पूर्वउपकूलपति समेत रहेका फाइवालीको गुनासो थियो,‘लिम्बु भाषाका पाठक पाउन त सिलो नै खोज्नु पर्ने अवस्था छ ।’
२०३४ सालमा लोकसेवा पास गरेर सरकारी जागिरे बनेका फाइवाली २८ वर्षे जागिरे जीवनबाट करिब ७ वर्षअघि ‘रिटायर्ड’ भएका थिए । ईकान्तिपुरबाट ।