रेडपाण्डा जोगाउन व्यक्तिको जग्गा किनेर सरकारलाई दान

  आवाज संवाददाता


इलाम । लोपोन्मुख बन्य जन्तु रेडपाण्डाको संरक्षणको लागि व्यक्तिको नाममा दर्ता रहेको जग्गा किनेर सरकारी निकायलाई प्रदान गरिएको छ । रेडपाण्डाको संरक्षणमा क्रियाशील रेडपाण्डा नेटवर्कको साझेदारी र उच्च पहाडी संरक्षण संस्था मार्फत व्यक्तिको नाममा दर्ता रहेको जग्गा किनेर सरकारलाई प्रदान गरिएको हो ।

इलामको सन्दकपुर गाँउपालिका–५ मा रेडपाण्डा बासस्थान क्षेत्रमा व्यक्तिको नाममा दर्ता रहेको जमिन उनीहरुबाट किनेर डिभिजन वन कार्यालय इलामललाई प्रदान गरिएको छ ।

संस्थाले दुई वर्षमा गरेर तीन सय ५९ रोपनी, १४ आना, दुई पैसा, एक दाम जग्गा खरिद गरेर डिभिजन वन कार्यालय इलामको नाममा पास गरिदिएको छ । सन २०१९ मा चार जना व्यक्तिको नाममा रहेको एक सय ९८ रोपनी जग्गा किनेर सरकारको नाममा रजिष्ट्रेशन पास गरिदिएको हो । त्यस्तै सन २०२० मा समेत चार जना व्यक्तिको नाममा रहेको एक सय ६१ रोपनी १४ आना दुई पैसा, एक दाम जग्गा सरकारको नाममा पास गरिदिएको हो । सन्दकपुर गाउँपालिका–५ को जौबारी, कोप्चे तथा मुर्चुल डाडा क्षेत्रमा व्यक्तिको नाममा रहेको जग्गा खरिद गरेर सरकारलाई प्रदान गरिएको उच्च पहाडी संरक्षण संस्थाका कार्यक्रम संयोजक धनबहादुर खाम्दाकले जानकारी दिए ।
रेडपाण्डको बास स्थान आसपासमा भएको, रेडपाण्डा पाइने सामुदायिक वनको बीचमा भएको व्यक्तिको जग्गा र रेडपाण्डा आउजाउ गर्ने कोरिडोर क्षेत्रमा भएको जग्गा किनेर सरकारको नाममा पास गरिदिएको खाम्दाकले बताए ।

व्यक्तिबाट खरिद गरिएको जग्गामा रेडपाण्डा नेटवर्क र उच्च पहाडी संरक्षण संस्थाको साझेदारीमा बृक्षारोपणको काम थालिएको छ । ‘त्यो जग्गामा रेडपाण्डाले रुचाउने प्रजातिका बिरुवाहरु लगाएका छौ’,कार्यक्रम संयोजक खाम्दाक भन्छन्,‘तारबार गरेर संरक्षण थालेपछि खालि रहेको जमिनमा मालिङ्गो लगायतका विरुवा हुर्किदै छन् ।’ रेडपाण्डा कोरिडोर क्षेत्रमा अझैपनि व्यक्तिको नाममा खाली जग्गा रहेको र ती जग्गा समेत खरिद गर्नुपर्ने आवश्यकता रहेको खाम्दाकले बताए । ‘सीमासंग जोडिएको अरुपनि जग्गा खरिद गरेर संरक्षण गर्नुपर्ने आवश्यकता छ, ती जग्गा समेत खरिद गरेर सरकारलाई दिने योजनामा छौ’, खाम्दाक भन्छन्,‘त्यसको लागि समेत हामीले योजना बनाइरहेका छौ ।’

व्यक्तिको जग्गा किनेर संरक्षण थालिएपछि रेडपाण्डको संख्या समेत बृद्धि भएको खाम्दाकको दावी छ । ‘पहिले नभेटिने ठाउँहरुमा रेडपाण्डा भेटिएको सूचना छ’, उनले भने,‘वासस्थान सुधार भएपछि विस्तापित भएका रेडपाण्डा पनि आउँछ ।’
व्यक्तिबाट खरिद गरिएको जग्गालाई संरक्षण गरेर रेडपाण्डा बस्न योग्य भएपछि संरक्षणको लागि समुदायलाईनै हस्तान्तरण गरिने छ । ‘अहिले हामीलेनै संरक्षण काम गर्छौ, यसको अवस्था सुधार भएपछि स्थानीय समुदायलाई जिम्मा दिन्छौ’, खाम्दाकले भने ।
डिभिजनल वन अधिकृत इन्द्रमणि भण्डारीले पनि त्यस क्षेत्रको सामुदायिक वनहरु मार्फतनै संरक्षण गरिने वताए । ‘यी जग्गाहरु सामुदायिक वनसंग जोडिएकै जग्गा हो, पछि सामुदायिक वनहरुलाईनै हस्तान्तरण गरेर दिगो रुपमा संरक्षण गर्छौ’, भण्डारीले भने ।
रेडपाण्डा नेटवर्क र उच्च पहाडी संरक्षण संस्थाले व्यक्तिको जग्गा किनेर संरक्षणको लागि सरकारलाई दिएर ठूलो गुन लगाएको जिल्ला वन कार्यालय इलामका वन अधिकृत याम बहादुर रुम्बाले बताए । ‘यो त रेडपाण्डा संरक्षणको लागि ठूलो गुन हो नि’, वन अधिकृत रुम्बाले भने, ‘यसले रेडपाण्डाको संरक्षणको लागि ठूलो महत्व राख्छ ।’

डिभिजनल वन अधिकृत भण्डारीले यसले रेडपाण्डाको संरक्षणमा सहयोग पुग्ने वताए । ‘व्यक्तिको जग्गा किनेर रेडपाण्डाको लागि संरक्षण भएपछि टुक्रिएको वासस्थानमा सुधार हुन्छ’, डिभिजनल वन अधिकृत भण्डारीले भने,‘संरक्षित क्षेत्रमा मानिसको आवत जावत घट्छ, यसले उसको कोरिडार पनि सुरक्षित हुन्छ ।’

रोडपाण्डाको वासस्थान रहेको क्षेत्रलाई संरक्षित क्षेत्र बनाउनु पर्ने डिभिजनल वन अधिकृत भण्डारीको सुझाव छ । ‘रेडपाण्डाको ‘कोर’ वसोवास भएको क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेर मानविय क्रियाकलापलाई वन्देज गर्नुपर्छ’, उनले भने,‘स्थानीय सरकार या प्रदेश सरकारबाटै भएपनि यो काम थाल्नुपर्छ ।’ रेडपाण्डाको बसोबास भएको क्षेत्रमा समेत अनियन्त्रित रुपमा विकास निर्माणको काम भइरहेको यसको संरक्षणमा चुनौती थपिएको भण्डारी वताउँछन् । ‘यस्तो क्षेत्रमा थप बाटो बनाउने, संरचना बनाउने गर्नु हुँदैन’,उनले थपे,‘निश्चित क्षेसम्म मात्रै सवारी साधन पु¥याउनुपर्छ, ठूला सवारी साधनलाई त अनुमतिनै दिनु हुँदैन ।’

इलामको सन्दकपुर, माइजोगमाई र इलाम नगरपालिकाको उत्तरी क्षेत्रमा रेडपाण्डा पाइन्छ । त्यसमा पनि रेडपाण्डको सवैभन्दा ठूलो वासस्थान सन्दकपुर गाउँपालिका क्षेत्रमा पर्छ । रेडपाण्डा नेटवर्क र उच्च पहाडी संरक्षण संस्थाले सन २००७ देखि रेडपाण्डाको संरक्षणमा काम गर्दै आएको छन् । नेटवर्कको साझेदारीमा उच्च पहाडी संरक्षण संस्थाले कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । जिल्लाको १८ सामुदायिक वनमा रेडपाण्डा संरक्षणको काम भइरहेको छ । वन अविभावकले नियमीत रुपमा रेडपाण्डाको रेखदेको काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार