इलाम । प्रदेश नं. १ मा प्रहरीले गएको आर्थिक वर्षमा ४० करोडभन्दा बढी राजश्व संकलन गरेको छ । यसरीनै सात हजार ३८४ मुद्धा दर्ता गरेको छ ।
आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थको अवैध दोहोन, अवैध काठ तस्करी, ट्राफिक उलंघनमा कार्वाहीबाट प्रहरीले उक्त राजश्व संकलन गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
अदालतले विभिन्न सजाय तथा जरिवाना फैसला गरी फरार रहेका सात सय ४३ जना फरार प्रतिवादी पक्राउ गरी सात सय ३५ वर्ष कैद भुक्तान भई चार करोड ४३ लाख ५८ हजार नौं सय २७ रुपैयाँ राजश्व संकलन गरेको प्रहरीले जनाएको छ ।
यसरीनै प्रहरीले अवैध रुपमा सामान चोरी निकासी गर्ने एक सय ९० जनालाई पक्राउ गरी १९ करोड एक लाख ५९ हजार २१२ रुपैयाँ राजश्व संकलन गरेको छ । नदीजन्य पदार्थको अवैध दोहोन गर्ने एक सय ७० जना र सात ८५ वटा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने सावरीलाई कार्वाही गर्दा ६५ लाख ७५ हजार तीन सय राजश्व संकलन गरेको प्रहरीले जनाएको छ ।
यसरीनै अवैध रुपमा काठ चोरी निकासी गर्ने ७० जनालाई कार्वाही गरी काठ बरामद गर्दा ७० लाख ३८ हजार सात सय ८७ रुपैयाँ राजश्व संकलन गरेको छ ।
यसरीनै ट्राफिक नियम उलंघन गर्ने दुई लाख ५४ हजार ३९४ सवारी साधनलाई कार्वाही गरी १५ करोड ९७ लाख ११ हजार राजश्ज संकलन गरेको पनि प्रहरी प्रवक्ता राईले जानकारी दिए ।