काठमाण्डाैं । सरकारले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचक्र्याइँ नगर्न आग्रह समेत गरेको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो ।
अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै नगरी आवतजावत गरिरहेका छन् । सभा सम्मेलनसमेत शुरू हुन थालेका छन् ।
विगत १ हप्तायता संक्रमित हुने दर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित धेरै जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै गएको छ ।
काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, चितवन, कास्की, रूपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको छ । २०० भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भन्दै अस्पतालका शय्या र अक्सिजन चुस्तदुरुस्त राख्न आग्रह गरिएको छ ।
दैनिक २ हजार ५३१ जना संक्रमित थपिने गरेका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो १ हप्तालाई आधार मान्दा दैनिक २ हजार ५३१ संक्रमित थपिने गरेका हुन् । १ हप्ताको अवधिमा १७ हजार ७१७ संक्रमित थपिएका हुन् ।
गत शुक्रवार २ हजार ९३६, शनिवार १ हजार ८७५, आइतवार १ हजार ८०१, सोमवार २ हजार ४४५, मंगलवार ३ हजार १०८, बुधवार २ हजार ८३८ संक्रमित थपिएका छन् । बिहीवार देशभर थप २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ