इलाम । नेत्रविक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले भष्ट्राचार बढ्दै गएको भन्दै भष्ट्राचारीहरुलाई जनकारवाही गर्ने जनाएको छ ।
स्थानीय निकाय, सरकारी योजनाहरुमा आर्थिक अपचलन र भष्ट्राचार भएको भन्दै साे पार्टीले जनअनुमोदित जनकार्वाही गर्ने जनाएको छ ।
केपी ओलीको सरकारसँग तीन बूँदे सहमतिपछि खुल्ला राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको इलाम जिल्लापार्टी संगठन समितिको बैंठकले उक्त निर्णय गरेको हो । सो निर्णयसँगै बैंठकले जातीय छुवाछुत विरुद्ध आन्दोलन गर्ने, लागू औषध, दुव्र्यसनी, जुवातास, जाँडरक्सी,वेश्यावृत्ति जस्ता सामाजिक कुसँस्कार र विकृति विरुद्ध पनि जनजागरण अभियान र संघर्षको अभियान सञ्चालन गर्ने जनाएको छ ।
पार्टीका इलाम इन्चार्ज सुमनसिंहको अध्यक्षतामा साउन ६ र ७ गते सम्पन्न बैंठकले यि निर्णयसँगै १५ वटा निर्णयहरु गरेका छन् ।
बैंठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारसँग भएको कार्यकर्ता रिहाई सम्बन्धी सहमति कार्यन्वयन नभएकाले तत्काल कार्यान्वयन गर्दै रिहाईको माग गरेको छ । हाल मुलुकभर एक सय ४० भन्दा बढी कार्यकर्ताहरु जेलमा रहेको र इलाम कारागारमा पनि चार जना रहेको बताइएको छ ।
पार्टीको बैंठकले नमूना कम्युनिष्ट समाज घर पनि निर्माण गर्ने निर्णय गरेको छ । यसरीनै एससीसीएमको भण्डाफोर र एनसेलको कर छुटको विषयमा सशक्त आन्दोलन गर्ने निर्णय भएको पनि पार्टीका इन्चार्ज सुमनसिंहले जानकारी दिए ।