साउन महिना भन्नासाथ शिवजीको आराधना, सोमबारको ब्रत र महिलाको शृंगारलाई विशेष महत्वका साथ हेर्ने महिना भनिन्छ । नेपाली समाजमा हिन्दु धर्म, परम्परा र संस्कृति मानिसको जीवनशैलीसँग जोडेर वैज्ञानिक तरिकाले आचरण र नियम तय भएका छन् । जसरी प्रकृतिमा ऋतुहरु बदलिन्छन् प्रकृति र मौसममा परिवर्तन आउँछ । त्यसैगरी मानिसको आन्तरिक स्वभाव अर्थात शरीरभित्र पनि ऋतु अनुसार परिवर्तन आउँछ । ऋतुअनुसार शरीरको प्रकृतिमा परिवर्तन आउँछ, संवेदना र स्वभावमा परिवर्तन आउँछ । बाहिरी ज्ञान जति नै भएतापनि यो विज्ञानको मर्म सबैले बुझेर आफ्नो आहार र आचरणमा प्रयोग गरेको भेटिन्न ।
साउन महिनाको व्रतको परम्पराले परम्परागत संस्कार र आधुनिक जीवनशैलीभन्दा फरक वर्षा ऋतु वातावरणमा आउने परिवर्तन र शरीरमा आउने परिवर्तनलाई आहारसँग जोडेर वैज्ञानिक तथ्य प्रस्तुत गर्न खोजेको छ । साउनमा शिवजीको आराधना गर्नुको अर्थ मन्दिर धाउनु र शिवलिगंमा बेलपत्र अनि गाइको दुध चढाउनु मात्र पक्कै होइन । प्रत्येक व्यक्तिभित्र रहेको शिवत्व, कल्याणकारी भावना जगाउनु प्रमुख पक्ष हो । आजको अस्तव्यस्त मानिसलाई कल्याणकारी हुनुपर्छ र मभित्र शिवत्व छिपेको छ भन्नेसम्म बोध छैन । कसैको सल्लाह र प्रवचनले उसको शिवत्व जाग्दैन । आफुभित्र रहेको शिवत्व जगाउने एकमात्र माध्यम ध्यान हो । भगवान शिवले देवी पार्वतीलाई १०८ ध्यानका विधिमार्फत दीक्षित गराउनुभएको थियो । ध्यानविना आत्मज्ञान जाग्दैन । आत्मज्ञान विना व्यक्ति जागृत हुन सक्दैन । जागृत नभएको व्यक्तिले गरेका सबै कर्मका परिणाम बेहोसी र अपूर्ण नै रहन्छन् ।
साउन महिनामा शिवनीको आराधना सोमबारको ब्रतसँगै जोडिएर आउने पक्ष हो मांसाहार नगर्नु । शाकाहारीको भनाइ छ मानिसको शरीरका कुनैपनि अगं दाँत, आन्द्रा पाचन प्रणाली र शरीरको प्रकृति मांसाहारको लागि बनेका छैनन् । मानिसले मांसाहार गर्नु भनेको पेट्रोलले चल्ने गाडीमा डिजेल हालेर चलाउनु जस्तै हो । एउटा सामानको प्रयोगका लागि बनेको इन्जिनमा अर्को सामान प्रयोग गरिदिदाँ मेशिनरी सामान त चल्दैन, बिग्रिन्छ भने मानिसको शरीर र उसको शारीरिक इन्जिनको अवस्था के भएको होला त ? एक अध्ययन अनुसार, इस्लाम धर्मावलम्बी १५ देखि २० प्रतिशत शाकाहारी छन् । हिन्दु धर्मावलम्बीमा यो संस्था ज्यादै न्युन छ ।
भावना, विचार, स्वास्थ्य, शरीर सबै सुन्दर राख्ने हो भने मांसाहार त्याग्नुको विकल्प छैन तर रोजाइ आफ्नै हातमा छ । साउन महिनामा मात्र होइन, सँधै शाकाहारी हुनु जरुरी छ । वर्षा ऋतुमा मासुजन्य पदार्थमा अरु संक्रमण देखिने हुनाले पनि मांसाहार नगर्नु भन्ने वैज्ञानिक तथ्य र सन्देश दिन खोजेको हो । स्वादका लागि होइन, स्वास्थ्यका लागि हो आहार । मौसम अनुसारका तरकारी र फलफुुलमा शरीरलाई आवश्यक भिटामिन, प्रोटिन सबै तत्व उपलब्ध हुन्छन । प्रत्येक ऋतुमा, मौसम अनुसारको तरकारी र फलफुल उपलब्ध गराएको छ प्रकृतिले हामीलाई भने हामी किन अप्राकृतिक बनिरहेका छौं ?
विशेषगरी साउनमा रातो, हरियो र पँहेलो रगंको बढी प्रयोग भएको देखिन्छ । हातभरि हरिया, राता र पँहेला चुरा, हत्केलामा रातो मेहेन्दी, गलामा हरिया, राता, पँहेला पोते अनि सिउँदोमा रातो सिन्दुरमा सजिएका महिलाले आफ्नो सौभाग्यको रुपमा प्रकृतिलाई नै माथ गरिरहेको भान हुन्छ । बिहे गरेका महिलाले शिवजीको आराधना मार्फत आफना श्रीमानको दीर्घायु, सुस्वास्थ्यको कामना गर्ने तथा अविवाहित महिलाले सज्जन, सुसंस्कृत श्रीमान पाउँ भनी शिवजीको आराधना गर्ने प्रचलनको किंवदन्तीभए पनि वास्तविक अर्थ सुविचार, सकारात्मक धारणा र प्रकृति र प्रेमको अभिव्यक्ति अनुभूति गर्न सकिन्छ । अर्कोतर्फ रगं हाम्रो शरीरमा तरगं र संवेदना उत्पन्न गर्ने महत्वपूर्ण पक्ष हो । हाम्रो शरीरमा जसरी सात चक्र छन् र ती चक्रको प्रभाव सात रगंसँगै छ, त्यसरी नै महिलाले प्रयोग गर्ने पहिरन र गहनाका रगंले उस्तै वैज्ञानिक र आध्यात्मिक महत्व राख्छन् । जस्तै रातो रंग प्रेम, शक्ति र साहसको प्रतिक, सेतो रगं पवित्रताको प्रतिक, हरियो रगं प्रकृति र आत्मीयताको प्रतिक, पहेलो रगं बौद्धिकताको प्रतिक, निलो शान्तिको प्रतिक, सुन्तला रगं रचनात्मक शक्ति, बैजनी रगं होस र ध्यानको प्रतिक आदि अर्थ लगाइन्छ । त्यसैले जीवन, जगत र पदार्थसँग रगंहरुको प्रभाव सँगसँगै रहन्छ ।
धर्म, पर्व, जीवनशैली र यसको मर्मलाई नजान्दासम्म हाम्रो कमाई र प्रतिष्ठाको अर्थ रहँदैन । जीवनमा हाम्रो खास उद्देश्य यो पाएको अमूल्य मनुष्य जीवन खुशी र आनन्दसँग जिउनु हो । आफू खुशी र आनन्द रहन चाहने व्यक्तिले अरुका लागि पनि कल्याणकारी सोच राखेर कर्म गर्छ । जब हामीले गरेको कर्म सत्य हुन्छ, कल्याणकारी हुन्छ अनि सुन्दर हुन्छ तबमात्र हाम्रो मूल मन्त्र सत्यम, शिवम्, सुन्दरम्को भाव सार्थक हुनेछ । बाहिर देखिने सुन्दरता हृदयभित्र पनि कायम गरौँ । मन, वचन र कर्म नै सुन्दर बनाउन सकेको क्षण जीवन सधैँ नै पर्व र उत्सव बन्छ ।