इलाम । इलाममा जारी निषेधाज्ञा फितलो हुँदा कोरोना भाइरसको संक्रमण पुनः भयावह बन्दै गएको छ । निषेधाज्ञा उसै पनि खुकुलो छ त्यसमा पनि आदेशमा उल्लेख भएका बूँदाहरुको कार्यान्वयसमेत प्रभावकारी छैन । यसले गर्दा संक्रमण दर बढ्दै गएको देखिन्छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार पुनः साउन १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थपेको छ । तर, अहिले जारी निषेधाज्ञाले भीडभाड नियन्त्रणमा कुनै भूमिका निर्वाह गर्न सकेको छैन । यसले मानिसको चहलपलह बढेसँगै संक्रमण पनि बढ्दै गएको छ । साउनको पहिलो हप्तामा मात्र दुई दिन एक सयभन्दा बढी एकै दिनमा संक्रमित भएका छन् । मृत्यू दर पनि पुनः बढ्दै गएको छ । यसले इलाममा संक्रमण पुनः भयावह भएको देखिन्छ । शुक्रबार त संक्रमित हुनेको संख्या एक सय २१ पुग्यो । मृत्यू हुनेको संख्या पनि बढ्दो छ । पछिल्लो चार दिनयता संक्रमणबाट इलाममा दैनिक मानिसको मृत्यू भइरहेको छ ।
निषेधाज्ञा छ, नियमन छैन
इलाममा जारी निषेधाज्ञामा कुन कुन काम गर्न सकिने र ति काम गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरु कसरी अपनाउनेदेखि के के बन्द हुने तथा खुल्ला रहने भन्ने उल्लेख छ । तर, ति निषेधाज्ञाका बूँदाहरु कागजमै मात्र सीमित छन् । निषेधाज्ञामा उल्लेख भएकोे साँझ ५ बजेसम्म बजार तथा पसल बन्द हुने बुँदाको कार्यान्वयन प्रभावकारी भइरहेको देखिन्छ । तर, दिनभर भीड लागेर आफैं बन्द हुने बेलामा गरिएको बजार बन्दले संक्रमण नियन्त्रणमा भने खासै प्रभाव देखिन्न ।
सरकारी तथा वित्तीय संस्थाहरु खुल्ने भएपछि मानिसहरु बाध्य भएर कार्यालयसम्म पुग्नु पर्ने हुन्छ । ति कार्यालयहरुमा भौतिक दूरी कायम भएको पाइन्न । सेवाग्राहीलाई भौतिक दूरी कायम गराउँने उपाय अवलम्बन गरेको पाइन्न । लाइन या चेपिएर काम गर्नुपर्ने बाध्यता छ । यसले सेवाग्राही संक्रमणबाट सुरक्षित रहन सक्दैनन् ।
निषेधाज्ञामा उल्लेख गरिएको सवारी सम्बन्धी व्यवस्थासमेत पूर्ण रुपमा पालना भएको पाइन्न । चालकले अनिवार्य रुपमा माक्स र भाइजरको प्रयोग गर्ने उल्लेख भएपनि माक्सको मात्र प्रयोग गरेको पाइन्छ । सवारी साधनमा सेनिटाइजर राखिएपनि यात्रुलाई प्रवेश गर्नुअघि या प्रवेश गरे लगत्तै प्रयोग गर्न लगाइँदैन । सवारी साधनहरुलाई पटकै पिच्छे निसंक्रमित गर्नुपर्ने निर्देशन त झन सवारी साधनले पालना गरेकै पाइन्न ।
सवारी साधनहरुले कोल्बुङ, हर्कटे, फिक्कल, पुवाखोला बजार, नेपालटार रक्सेलगायत राजमार्गको बजार क्षेत्रमा रोक्न नपाउने उल्लेख गरिएको छ । तर, नियमन नहुँदा यसको कार्यान्वयन हुन सकेको छैन ।
आदेशको उलंघन गरेमा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा १९वा २१ वा २२ वा २४ अन्र्तगत कार्वाही गर्ने पनि आदेशमै उल्लेख छ । तर, आदेश उलंघन भइरहे पनि त्यसको अनुगमन र नियमन नहुँदा कार्वाही भएको पनि पाइन्न ।
नागरिक पनि अनुशासित र जिम्मेवार छैनन्
कोरोना भाइरस संक्रमण हुनबाट जोगिनका लागि सरकारले स्वास्थ्य पापदण्ड अपनाउने, भौतिक दूरी कायम गर्ने, माक्सको अनिवार्य प्रयोग गर्ने, साबुनपानीले बेला बेला हात धुने र अनावश्यक हिँडडुल नगर्ने भनिरहेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा पनि सो कुरा उल्लेख छ । तर, नागरिकले यि कुराहरुलाई राम्ररी पालना गरेको पाइँदैन । प्रायः माक्सको प्रयोग गरेको पाइए पनि भौतिक दूरी कायम गर्ने कुरामा बेवास्ता गरेको पाइन्छ । बजार, पसल र सरकारी कार्यालयमै पनि भीडभाड देखिन्छ । दुई मिटरको दूरी कायम गर्ने भनिए पनि त्यो कायम भएको देखिन्न ।
पसलहरुले पनि आफ्ना ग्राहकका लागि भौतिक दूरी कायम राख्ने ब्यवस्था गरेको पाइन्न । थोरै पसलहरुले आफ्नो र ग्राहकको दूरी कायम गर्नका लागि डोरी टाँग्ने गरे पनि ग्राहक ग्राहक बीचको दूरी कायम गराउने कुरामा ध्यानै दिएको पाइँदैन । कतिपय व्यापारीले त आफू घरभित्रै छु सुरक्षित भन्ने आशयसहित माक्स चिउँडोमा झारेर ग्राहकसँग कारोबार गरिरहेको पनि बजारमा देखिन्छ ।
रक्सी पसलदेखि तासमा रमाउनेहरुले पनि संक्रमण फैल्याउने भूमिका निर्वाह गरिरहेको देखिन्छ ।
निषेधाज्ञा कडाई गर्नुपर्ने
निषेधाज्ञा नाम मात्रको भएकाले संक्रमण भुसको आगो जसरी फैलिएको भन्दै संक्रमण नियन्त्रणका लागि निषेधाज्ञालाई कडाई गर्नुपर्ने आवाज उठिरहेको छ । संक्रमणको चेन ब्रेक गर्नका लागि केही समयका लागि कडा प्रतिबन्ध लगाएर चाडै खोपको ब्यवस्था गर्नुपर्ने उद्योग बाणिव्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण पौडेलले बताएका छन् । यसरीनै सामाजिक सञ्जालहरुमा निषेधाज्ञालाई निषेधाज्ञा जस्तै बनाउनु पर्ने आवाज उठिरहेको छ ।