इलाममा पछिल्लो समय लागूऔषध दुव्र्यसनीको संख्या बढेको पाइन्छ । पहाडी जिल्ला भएपनि लागू औषध प्रयोगकर्ताहरुले इलामलाई सुरक्षित रुपमा पनि लिने गरेका छन् । अहिले प्रहरीले पनि लागूऔषध विरुद्ध सचेतना अभियाननै चलाइ रहेको छ । कस्तो छ त जिल्लामा लागूऔषधको प्रयोग तथा कारोबार, इलामका प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठ सँग यसै विषयमा इलाम आवाज डटकमका सम्पादक कोकिला ढकालले गरेको कुराकानीको अंश:
आवाज: इलाममा लागू औषधको प्रयोग बढेको छ भन्छिन्, वास्तवमा इलामको अवस्था कस्तो ?
श्रेष्ठ: तथ्याकंगत रुपमा र मुद्दाहरुको अवस्था हेर्दा लागू औषध प्रयोग बढेकै हो । लागू औषध प्रयोगकर्ता बढ्नु भनेको समाजमा अपराध बढ्नु हो । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने चिन्ताको विषय बन्न थालेको छ ।
आवाज: कस्तो समुह अथवा व्यक्तिहरु बढी संलग्न हुन्छन् ?
श्रेष्ठ: मुद्दाहरुको अवस्था हेर्दा १४ वर्ष देखि ३० वर्ष उमेर समुहका व्यक्तिहरु बढी संलग्न भएको पाइन्छ । युवा अवस्थाका यो उमेर समुह भनेको उर्जाशील समय हो । यस्तो उमेरमा लागू औषधमा फंसे भने त्यसलाई छुटाउन मुस्किल छ ।
आवाज: लागू औषध प्रयोग हुनु किन अपराध हो ?
श्रेष्ठ: लागू औषध दुव्र्यसनी शुरु गर्नु भनेको अपराध शुरु गर्नु हो । शुरुमा उ सँग पैसा हुन्छ । लागूऔषधमा लत बस्दै जाँदा क्रमैसँग प्रयोगको मात्रा बढ्छ । नयाँ–नयाँ ढंगको लागू औषध प्रयोग गर्छ । यो महंङ्गो पनि पर्ने भएकाले क्रमशः घरमा भएका सरसामग्री बिक्री देखि गरगहना हुँदै चोरी सम्मको प्रयास र ज्यानै लिने सम्मका घटना हुनेहुनाले यसलाई अपराध मानिएको हो ।
आवाज: लागू औषधमा फस्ने १४ वर्षदेखि ३० वर्ष उमेर समुहका व्यक्ति भन्नु भयो नि, १८ वर्ष सम्म त बालबालिका होइन र ?
श्रेष्ठ: पछिल्लो समय इलाममै हेर्ने हो भने पनि बालबालिका दुव्र्यसनीको उच्च जोखिममा छन् । अहिले त अझ कोभिडका कारण विद्यालय नलाग्ने र घरमै दिन कटाउनु पर्ने बाध्यता पनि छ । उनीहरुको अर्को लत मोवाइलबाट पनि छ । फूर्सदको यो समयमा साथीभाईको संगत पनि अर्को पक्ष छ । समयमै अभिभावकले ख्याल नगर्ने हो भने स्थिति जटिल हुन सक्छ । लागू औषध प्रयोगकर्ताले बालबालिकालाई प्रयोग गरेर ओसारपसारमा लगाएका घटना पनि छन् । त्यसैबाट उनीहरुमा खाने बानीको विकास चाँडै हुन्छ ।
आवाज: परिवार सचेत कसरी बन्न सक्छ ?
श्रेष्ठ: जुनसुकै बाबुआमालाई आफ्नो नानीले नराम्रो काम गर्दैन भन्ने लाग्छ । तर, उस्ले केही गल्ती पनि गर्दैछ कि, गल्ती गरेर ढाकछोप पो गर्दैछ कि भनेर ध्यान पुर्याउने कमैमात्र हुन्छन् । उनीहरु चहान्छन् मेरो नानीलाई कसैले नराम्रो नभनोस् । त्यही कारण कसैले भनिहाले उनीहरु पत्याउन तयार हुँदैनन् । अब, अभिभावक बोलाएरै लतमा फसेंकाहरुलाई एक–एक गरेर जिम्मा लगाउनु पर्ने अवस्था छ । उनीहरुले रिह्याब सेन्टरमा लान्छन् कि उपचार गर्न लान्छन् र छुटाउँछन् । नत्र परिवार सचेत पार्न नसक्ने अवस्था आइसकेको छ ।
आवाज: इलामका विशेष गरि कुन स्थान लागू औषधबाट बढी प्रभावित छ ?
श्रेष्ठ: सूचनाहरु धेरै तिरबाट आएको छ । सदरमुकाममै पनि लागूऔषध प्रयोग भइरहेको सूचना छ । त्यसबाहेक, तल्लो चुरे क्षेत्र रहेको दानाबारी, पेल्टीमारी र चूलाचूली क्षेत्रमा पछिल्लो समय लागू औषध प्रयोग भइरहेको पाइन्छ ।
आवाज: उमेर समुह एउटा भयो, खासमा कस्ता व्यक्ति चाँहि लागू औषधमा संलग्न छन् ?
श्रेष्ठ: केही मुद्दालाई अनुसन्धान गर्दा कतिपय अविभावक आमा–बाबुनै वैदेशिक रोजगारीका लागि बाहिर रहेको अवस्थामा उनीहरुका बालबच्चा लागू औषधको दुव्र्यसनीमा फसेंको पाइयो । वैदेशिक रोजगार र परिवारमा बाबु–आमा बीचको बेमेलका कारण पनि उनीहरुका नानीहरु लागूऔषधको शिकार भएको पाइयो । विद्यालय छोडेका, टेम्पो चलाउने र ग्यारेजमा काम गर्नेहरु पनि लागू औषधका फसेंको भेटिएको छ ।
आवाज: जिल्लाको तथ्याकं कस्तो छ ?
श्रेष्ठ : आर्थिक वर्ष २०७७/०७८ मा ४ महिला र ४३ पुरुषलाई पक्राउ गरि मुद्दा चलाइएको छ । यो वर्ष २६ वटा मुद्दामा यी ४७ जनालाई मुद्दा चलाइएको थियो । अघिल्लो आर्थिक वर्ष ०७६।०७७ मा भने पाँचवटा मुद्दामा नौं जना पुरुषलाई लागू औषध सम्बन्धी मुद्दा चलाएको थियो । आर्थिक वर्ष ०७५ ।०७६ मा भने ११ वटा मुद्दामा २३ जना पुरुष र ३४ जना महिला विरुद्ध लागू औषध सम्बन्धी मुद्दा प्रहरीले चलाएको थियो । तथ्याकं हेर्दा कसैले पनि ढुक्क हुने अवस्था छैन ।
आवाज: तथ्याकं हेर्दा महिलाहरु पनि सक्रिय देखिन्छ । महिलाको अहिलेको अवस्था कस्तो छ ?
श्रेष्ठ: महिलाहरु पनि संलग्न छन् । अहिले पनि केही क्षेत्रमा महिला संलग्न भएको सूचना आएको छ । हामीले सर्च गरिरहेका छौं ।
आवाज: खुल्ला सीमाना पनि लागू औषधको कारण भनिन्छ नि ?
श्रेष्ठ: इलामतर्फ त निकै कम छ । तर झापासँग जोडिएको भारतीय सीमा क्षेत्र बाहुण्डागी लगायतका क्षेत्रबाट भित्रने गरेकाे पाइन्छ ।
आवाज: लागू औषध कसरी नियन्त्रण गर्न सकिएला त ?
श्रेष्ठ: प्रहरीको खोजी अभियान त छंदैछ , अब समाजमा सचेतना, प्रयोगकर्ताका परिवार, अभिभावक स्वयंलाई ल्याएर प्रयोगकर्ता बुझाउनु पर्ने अवस्था छ । त्यसबाहेक सरोकारवाला सबैले बालबालिका देखि ठूला सबै उमेर समुहका व्यक्तिहरुलाई सचेतना गराउनै पर्छ । नेपाल प्रहरीले त लागू औषध सचेतनाका लागि आफ्नो अभियाननै राखेको छ । अनि विषेश आग्रह बालबालिकाका अभिभावक र परिवारलाईनै हो कम्तिाम आफ्ना नानीहरु के गर्दैछन् तपाईंहरु सचेत बन्नु होला, कतै लतमा त फंसेका छैनन् चनाखो भएर आफ्ना नानीहरुलाई सही मार्गनिर्देश गर्नुहोस् ।