इलामबाट एक वर्षमा एक अर्ब १८ करोडको गोलीया निकासी


इलाम । इलामबाट एक वर्षमा एक अर्ब १८ करोड ८९ लाख ५८ हजार रुपैयाँ मुल्यको गोलिया जिल्ला बाहिर निकासी भएको छ ।

निजी नम्बरी वन र सामुदायिक वनबाट तराइका जिल्लामा गोलीया निकासी हुने गरेको हो । गएको एक आर्थिक वर्ष २०७७।०७८ मा निजी नम्बरी वनबाट २९ लाख क्युफिट गोलिया निकासी भएको डिभिजन वन कार्यालय इलामले जानकारी दिएको । अघिल्लो आर्थिक वर्षको तुलनामा गोलीया निकासी बढेको हो ।

आव २०७६।०७७ मा २० लाख क्यु फिट गोलीया निकासी भएको थियो । अघिल्लो वर्षको तुलनामा वितेको वर्षमा गोलियोको ढुवानीमा सहजता भएकाले निकासी बढेको सहायक वन अधिकृत यामबहादुर रुम्बाले वताए । ‘पोहोर लक डाउनमा मालबाहक सवारी पनि रोकिएका थिए, यसपालि मालबाहाक सवारी रोकिएनन् त्यसैले निकासी बढेको हो’, सहायक वन अधिकृत रुम्बाले भने,‘अघिल्लो वर्ष माग भएपनि निकासीमा समस्या भयो, अहिले उद्योगहरुमा मजदुरको अभाव भएकाले पहिलेको तुलनामा मागमा समेत कमी आएको छ ।
नीजि नम्बरी वनबाट निकासा भएको २९ लाख क्युफिट गोलीयाबाट एक अर्ब १६ करोड रुपैयाँ रकम आम्दानी भएको छ । इलामको नीजि नम्बरी वनमा उत्पादन भएको गोलीया झापा र मोरङ्गका काष्ठ उद्योगमा पर्याइन्छ । काष्ठ उद्योगमा पुर्याएको गोलिया सरदर चार रुपैयाँ प्रतिक्युफिटका दरले विक्री हुन्छ । गोलिया निकासीबाट १३ करोड ३३ हजार एक सय ९९ रुपैयाँ मुल्य अभिबृद्धि कर संकलन भएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

इलामबाट उत्तिस मलातो चिलाउने कटुस लगायतका जातका बिरुवाको गोलिया निकासी हुने गरेको हो । आम्दानीको राम्रो स्रोत बनेपछि जिल्ला व्यवसायिक रुपमानै वन लगाउने गरेका छन् । परम्परागत खेतीबाली छाडेर अन्यत्र बसाइ सर्नेहरुले आफ्नो स्वमित्वको जग्गामा रुख लगाएर छाड्न । बिरुवा लगाएको आठ देखि बाह्र बर्षमा बिरुवाहरु गोलिया काट्नको लागि योग्य हुने गरेको छ । वर्षेनी बिरुवा लगाउनु नपर्ने, धेरै ह्याहार सुसार गर्नुनपर्ने, एकमुष्ठ आम्दानी हुने भएकाले धेरैले परम्परागत खेती छाडेर रुख विरुवा लगाउने गरेका छन् । त्यसैले इलामबाट निकासा हुने गोलियाको परिमाण वर्षेनी बढ्दै गएको हो ।

इलामको चुरे क्षेत्रमा रहेको सामुदायिक वनबाट समेत जिल्ला वाहिर गोलिया निकासी हुने गरेको छ । त्यसमा सवैभन्दा धेरै सालको गोलीया हुन्छ । गत आर्थिक वष २०७७।०७८ मा सामुदायिक वनबाट ११ हजार पाँच सय ८३ क्युफुट गोलिया निकासी भएको छ । साल सहित अन्य विभिन्न जातको गोलिया निकासी भएको वन कार्यालयले जनाएको छ । त्यसमा ७० प्रतिशत गोलिया निकासी हुने गरेको छ । चुरे क्षेत्रका गोलिया निकासीबाट दुई करोड ८९ लाख ५८ हजार सात सय ५० रुपैयाँ आम्दानी भएको छ ।

सामुदायिक वनहरुले आफ्नो उभोक्तालाई वितरण गरेर बाँकी गोलिया मात्रै बाहिर विक्री गर्न पाउँछन् । बाहिर निकासीको लागि अनुमति लिदा वन कार्यालयले ठाडो रुख संकलन गर्ने अनुमति दिदैन । ढेले पढेका रुख मात्रै संकलन गरेर विक्रीको लागि अनुमति हुने गरेको सहायक वन अधिकृत रुम्बाले बताए । आन्तरिक खपतको लागि संकलन गरिएको काठ निकासी गर्न पाइदैन । सालको गोलियाको सरदर मुल्य पच्चिस सय देखि तीन हजार रुपैयाँ पर्छ । सामुदायिक वनहरुले सरकारले निर्धारण गरेको न्युनतम मुल्य र त्यसमा संकलन खर्च थपेर लिलामीको न्युनतम मुल्य तय गर्छन् । त्यसपछि लिलाम बढाबढको आधारमा विक्री गर्ने गरेका छन् । सरकारले ग्रेड अनुसार पाँच सय, सात सय र एक हजार न्युनतम मुल्य निर्धारण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार